प्रदेश / स्थानीय सरकार

पोखरा घोषणापत्र जारी गर्दै सकियो ‘मेट्रो मेयर मिट’, आज सार्वजनिक गरिने

धनबहादुर गुरुङ |
साउन १५, २०७९ आइतवार ९:८ बजे

पोखरा - पोखरा घोषणापत्र जारी गर्दै ‘मेट्रो मेयर मिट’ सकिएको छ । देशभरका ६ महानगरका मेयर, उपमेयर सहभागी सम्मेलनमा महानगर सञ्चालनका अड्चन र समाधानका उपायबारे छलफल भएको हो । 

पोखरा घोषणापत्रका बुँदाहरू मस्यौदाका रूपमा तयार भएकोले आइतबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । उनका मेयर उपमेयरबीच अनुभव आदानप्रदानसँगै संघीयतापछि स्थानीय सरकारले खेल्नुपर्ने भूमिका लगायतबारे छलफल भएको थियो । आयोजकले पत्रकारलाई सम्मेलन प्रवेशमा रोक लगाएको थियो ।


पहिलो पल्ट भएको यसखालको सम्मेलनमा देशभरका ६ महानगरका मेयर, उपमेयर र सम्बन्धित महानगरका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो । पोखराका मेयर आचार्य सहित काठमाण्डौंका मेयर वालेन शाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहभागी थिए । उनीहरूसँगै उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरू पनि पोखरा आएका थिए ।

यसैबीच, सम्मेलनले पोखराका मेयर धनराज आचार्यको अध्यक्षतामा समिति गठन गरेको छ भने आगामी सम्मेलन भरतपुरमा हुने तय भएको छ । यो भन्दा अघि ललितपुरमा हुने भनिएको सम्मेलन भरतपुरले माग गरेपछि सारिएको हो । पोखराका मेयर आचार्यले भरतपुरकी मेयर रेणु दाहाललाई मेट्रो मेयर मिटको झण्डा हस्तान्तरण गरेका छन् । 

यसैबीच, महानगरका मेयरहरूले पोखराको अन्नपूर्ण केवलकार अवलोकन गरेका छन् । पोखरामा भएको सम्मेलनका अवसरमा मेयरहरूले पोखरामा केही समय अघिदेखि सञ्चालनमा आएको अन्नपूर्ण केवलकार अवलोकन गरेको केवलकार प्रालिले जनाएको छ । मेयरहरूलाई तल्लो स्टेसन हुदै केवलकारबाट सयर गराउदै माथिल्लो स्टेसनसम्म पुराइएको प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले बताए । 

सराङकोटमा सारियो लालीगुराँस
देशभरका महानगर प्रमुखहरूको उपस्थितिमा सराङकोट शिव मन्दिर भ्यु टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवाहरू सारिएको छ । महानगर मेयर सम्मेलन २०७९ का लागि पोखरा आएका ६ वटै महानगरपालिकाका प्रमुखहरूले लालीगुराँसको बिरुवा सारेका हुन् । 

पोखरा आसपासका अग्ला डाँडाहरूमा लालीगुराँस रोप्ने र खालि जग्गामा सौन्दर्यीकरण गर्ने उद्देश्यका साथ देशभरका महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको सहभागितामा शनिवार सराङकोटमा लालीगुराँसका बिरुवाहरू सारिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । साथै अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले आवश्यक सहयोग समेत गर्ने प्रमुख आचार्यल बताए । 

कार्यक्रममा महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको उत्साहजनक सहभागिता रह्यो । उनीहरूले सराङकोट जस्तो पर्यटकीय र रमणीय स्थानमा नेपालको राष्ट्रिय फूल लालीगुराँस सार्ने अवसर दिएकोमा पोखरा महानगरपालिका प्रति आभार समेत व्यक्त गरे । हरियाली तथा सौन्दर्यीकरण प्रति पोखरा महानगरपालिकाका प्रमुख आचार्यको चासोलाई उनीहरूले खुलेरै प्रशंसा गरे ।

ती बिरुवाहरू लालीगुराँस संरक्षण तथा विकास अभियन्ता ढाकाराम लामिछानेको सहयोगमा तेह्रथुमबाट ल्याइएको हो भने नेपालमा पाइने ३२ प्रजाति कै बिरुवा खाली जग्गामा रोप्ने योजना बनाइएको छ । यसअघि पनि त्यस स्थानमा लालीगुराँसका बिरुवाहरू सारिएको थियो । महानगरका अग्ला डाँडा पाखामा लालीगुराँस रोपेर संरक्षण गर्न सके सौन्दर्यीकरणसँगै राष्ट्रिय फूलको महत्व बढ्ने विश्वास लिइएको छ ।


Author

थप समाचार
x