फिचर

यौन दुर्व्यवहार भोगेका प्याट्रिस इभ्राः जो अरुलाई यसबाट बचाउने अभियानमा छन्

इकागज |
असार ११, २०७९ शनिवार ११:५७ बजे

काठमाडौँ –  म्यानचेस्टर युनाइटेड र फ्रान्सेली फुटबल पूर्वस्टार प्याट्रिस इभ्राले बालबालिकाविरुद्ध हुने यौन हिंसाको सामना गर्न आफ्नो ‘प्लेटफर्म’ प्रयोग गर्न चाहन्छन् । इभ्राले किशोरावस्थामा आफूले भोगेको यौन दुर्व्यवहारको बारेमा जानकारी गराउँदै बालबालिकाविरुद्ध हुने हिंसाको सामना गर्न आफ्नो प्लेटफर्म प्रयोग गर्न चाहेको बताएका छन् ।

आफ्नो आत्मकथा 'आई लभ दिस गेम' मा पूर्वडिफेन्डर इभ्राले दुर्व्यवहारबारेमा खेलेका छन्, जुन उनले विद्यालयसम्म पुग्ने समय बचाउनका लागि शिक्षकको घरमा बस्दा भएको थियो । त्यतिबेला उनी केवल १३ वर्षका थिए । इभ्रा सम्झन्छन्, आफू बसेको कोठामा शिक्षक हरेक रात आउने गरेको तथा र आफूलाई आक्रमणबाट बचाउन लुगाको वरिपरि जुत्ताको फित्ता बाध्ने गरेका थिए । 


इभ्राले आफ्नी आमालाई त्यो घरमा बस्न नचाहेको बताए पनि दुर्व्यवहारको बारेमा भने उनले आफ्नो पुस्तक २०२१ मा प्रकाशित हुनुभन्दा हप्ता अघिसम्म समेत बताएनन् । ‘मैले आफूले भोगेझै अरुले भोग्न नपरोस भन्ने चाहन्छु,’ इभ्रा बताउँछन् ।

‘जब यस्ता घटना हुन्छन्, तपाई आफैमाथि लाज महसुस गर्नुहुन्छ, तपाई आफैलाई दोषी देख्नुहुन्छ, तपाईलाई थाहा हुँदैन कि मानिसहरूले तपाईलाई विश्वास गर्छन् वा गर्दैनन्,’ उनी थप्छन् ।

इभ्राले दुर्व्यवहारको सम्बन्धमा कहिल्यै प्रहरीमा जाहेरी दिएनन् साथै उनी २४ वर्षको हुँदा प्रहरीले सम्पर्क गर्दा समेत यस घटनाबारे अस्वीकार गरे । 

इभ्राले विवाह गर्न लागेकी प्रेमिका मार्गाक्स अलेक्जान्ड्रासँग कुराकानी गरेपछि मात्र उक्त घटनालाई सार्वजनिक गर्ने निर्णय गरे । उनले यौन दुर्व्यवहारको बारेमा आफू सुरक्षित र विश्वास भएपछि मात्र सार्वजनिक गर्नु सही क्षण भएको बताउछन् । 

‘म धेरै भाग्यशाली छु । मैले मेरो मार्गाक्सलाई भेटे र उनले मलाई ती सबै विषाक्त पुरुषत्वबाट छुटकारा पाउन र आफैलाई बोल्न मद्दत गरिन्,’ इभ्रा थप्छन् ।

म्यानचेस्टर युनाइटेडका लागि पाँच पटक इंग्लिस प्रिमियर लिग तथा एक पटक च्याम्पियन्स लिग जित्नुका साथै फ्रान्सका लागि ८१ खेल खेलेका इभ्राले फुटबलबाट सन्यास लिएपछि आफूले बाल्यकालमा भोगेका दुर्व्यवहारलाई सार्वजनिक गरेका हुन् । साथै उनले दुर्व्यवहारमा परेकाहरूका लागि काम गरिरहेका समूहलाई सहयोग गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

उनले अहिले बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसालाई रोक्न र हिंसाविरुद्ध कार्य गर्ने संस्था 'एन्ड भायोलेन्स अर्थात हिंसा अन्त्य गर' सँग साझेदारी गरेका छन् ।

आफ्नो भोगाइलाई सार्वजनिक गरेका इभ्राको उद्देश्य के छ भने अरूले पनि असहज विषयहरूको बारेमा बोल्न अझ सहज महसुस गर्नेछन् । उनले हिंसामा परेकाहरूलाई अगाडि बढ्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

फुटबलबाट सन्यास लिएपछि इभ्राले आफ्नो सामाजिक सञ्जालको उपस्थितिलाई आनन्द र सकारात्मकता फैलाउनमात्र नभइ ठूला मुद्दाहरूलाई समेत सम्बोधन गर्ने प्रयासमा जुटेका हुन्छन् ।

उनले आफ्नो आत्मकथामा एक खेलाडीको रूपमा भोगेको यौन दुर्व्यवहारसँगै नस्लवादी दुर्व्यवहारको बारेमा समेत उल्लेख गरेका छन् । विशेषगरी इटालीमा एक युवाको रूपमा मार्सला र मोन्जाका लागि सन् १९९८ देखि २००० सम्म खेल्दाको बखत । 

‘मानिसहरूले ममाथि केरा फ्याक्ने गरेका थिए । मैले बल पाउँदा मानिसहरूले बाँदरको आवाज निकाल्ने गर्थे,’ उनले भने । उनले फ्यानबाट मात्र नभएर आफ्नै टिमका सहकर्मीबाट समेत दुर्व्यवहार भोगे । 

एक चर्चित घटनामा सन् २०११ मा म्यानचेस्टर युनाइटेडका लागि खेल्दा इभ्रामाथि दुर्व्यवहार गरेका कारण त्यस समयमा लिभरपुलका लागि खेलिरहेका लुइस सुवारेजलाई ८ खेलको प्रतिवन्ध लगाइएको थियो । पछि अर्को खेलमा लुइसले इभ्रासँग हात मिलाउन अस्वीकार गरे । त्यसका लागि लुइसले पछि माफी समेत मागे । 


इभ्राका अनुसार उनलाई त्यो विशेष घटनाबाट माथि उठ्न लामो समय लागे पनि अब उनी आफूलाई मन पर्ने खेलबाट नस्लवाद उन्मूलन गर्न आफ्नो आवाज बुलन्द गर्न चाहन्छन् ।

‘परिवर्तन गर्न चाहने व्यक्तिलाई म सधै समर्थन गर्नेछु । सबैभन्दा पहिले यो समस्या फुटबलमा मात्रै होइन, यो समाजमा पनि छ । यो शिक्षाको कुरा हो। कुनै पनि बच्चा जातिवादी व्यक्तिको रूपमा जन्मिदैन,’ उनी थप्छन् । ‘हामीले केही गर्नुपर्छ किनभने मौनता अपराध हो ।’

गत सिजनको प्रिमियर लिगका प्रत्येक खेल अघि जातिवादविरुद्ध एकताको प्रतिकको रूपमा खेलाडीहरूले घुँडा टेकेका थिए ।

फुटबलको सर्वोच्च निकाय फिफाले जातीय दुर्व्यवहारलाई सजायको रुपमा लिएको छ । 

फिफा अनुशासन संहिताको पछिल्लो संस्करण अनुसार जातिवादी शब्द र दुर्व्यवहारमा संलग्न खेलाडी वा अधिकारीहरूलाई कम्तिमा १० खेलसम्मको निलम्बन वा ‘कुनै अन्य उपयुक्त अनुशासनात्मक उपाय’ सहितको सजाय दिन सकिन्छ ।

यदि क्लबका समर्थकहरूले भेदभावपूर्ण व्यवहार देखाउँछन् भने क्लबहरूलाई न्यूनतम २० हजार ७६ अमेरिकी डलरको जरिवाना हुने प्रावधान छ । साथै अन्य प्रतिबन्धहरूमा अंक कटौती, दर्शकविना खेल खेल्नुपर्ने, खेलमा पराजित घोषित गर्ने तथा  प्रतियोगिताबाट निष्कासन वा तल्लो डिभिजनमा झार्ने सम्मका रहेका छन् ।

(सीएनएनका लागि बेन चर्च, जायन नावी र डारेन लेविसले लेखेको आलेखलाई इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन् )
 


Author

थप समाचार
x