फिचर

आखिर कसले गर्‍यो कप्तान सन्दीपलाई असहयोग ?

सञ्जीव शाह |
असार १९, २०७९ आइतबार १७:३७ बजे

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले क्यानाडा भ्रमणमा रहेको छ । नेपालले क्यानाडाविरुद्ध जुलाई ५ र जुलाई ६ मा दुई खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । 

तर त्यो सिरिज अघि शनिबार नेपाली क्रिकेट टिमका युवा कप्तान सन्दीप लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमा गम्भीर ट्वीट गरेका थिए । २१ वर्षीय सन्दीपले ‘शून्य सहयोग’ लेख्दै प्रश्न वाचक चिन्ह प्रयोग गरेका छन् । त्यसपछि उनले थपेका छन् कि ‘यो लडाई एक्लैले लड्नुपर्छ’ । 


यदि यो विषय सन्दीपको पारिवारिक वा प्रेम सम्बन्धको हो भने यसबारे खासै टिप्पणी गर्नुपर्ने आवश्यकता देखिदैन । तर यदि उनले नेपाली क्रिकेटलाई लिएर उक्त ट्वीट गरेका हुन् भने यसको उत्तर खोज्नु आवश्यक छ किनभने एक हिसाबले कप्तानको नाताले नेपाली क्रिकेटको भविष्य सन्दीपको हातमा छ ।

त्यसो भए कप्तानको रुपमा रहेका सन्दीपलाई कसले सहयोग गरेन ? 

सबैभन्दा पहिले त नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप अष्ट्रेलियामा बिग बाँस लिगमा व्यस्त भइरहँदा उनलाई कप्तान बनायो, त्यो पनि ज्ञानेन्द्र मल्लको कप्तानी खोसेर । यसरी हेर्दा क्यानले उनलाई असहयोग गर्ने अवस्था देखिदैन । क्यानको मुख्य पदाधिकारीहरुले सन्दीपलाई सहयोग गरि नै रहेका छन् ।

क्यान पदाधिकारी पछि नेपाली टिममा बलियो भनेको मुख्य प्रशिक्षक पुबुदुदासानायके हुन् । र मुख्य प्रशिक्षक दासानायकेले सन्दीपलाई असहयोग गर्ने कल्पना पनि गर्न सकिदैन किनभने नेपाली टिमलाई उनीहरुले नै प्रत्यक्ष रुपमा हाँकिरहेका छन् । 

अझ सबैभन्दा ठूलो कुरा भनेको सन्दीपलाई नेपाली क्रिकेट टिममा भित्र्याउनुको पछाडि दासानायकेकै सबैभन्दा ठूलो योगदान छ । सन्दीपको चितवनदेखि काठमाडौँसम्मको यात्रामा दासानायकेकै हात छ भनेर फरक पर्दैन ।

त्यसबाहेक सन्दीपले ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिमबाट खेले । क्यानले अनुशासनको कारवाही गर्दै ज्ञानेन्द्रको कप्तानी खोस्दै सन्दीपलाई कप्तान नियुक्त गर्‍यो । सन्दीप कप्तान नियुक्त भएपछि ज्ञानेन्द्र मुख्य प्रतियोगिताको रुपमा ओमानमा भएको चारदेशीय टी-ट्वान्टी सिरिज, आईसीसी टी-ट्वान्टी विश्वकप क्वालिफायर तथा युएईमा भएको आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेले । त्यसयता ज्ञानेन्द्र टिममै परेका छैनन् । र उनले असहयोग गर्ने अवस्था रहँदैन ।  

ज्ञानेन्द्रसँगै क्यानले अलराउन्डर दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारवाही गरेको थियो । घाइते भएका कारण कमल पछिल्लो समय टिममा छैनन् । केवल दिपेन्द्र र सोमपाल टिममा नियमित रुपमै परिरहेका छन् । 

अलराउन्डरको रुपमा रहेका दिपेन्द्रले अधिकांश खेलमा ब्याट अथवा बलबाट राम्रै प्रदर्शन गरिरहे पनि आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दिपेन्द्रको प्रदर्शन खासै राम्रो रहेन । उनले ओमानविरुद्धको पहिलो खेलमा १६ रन जोड्दा बलिङमा ३८ रन खर्चिएर कुनै पनि विकेट लिएनन् । अमेरिकाविरुद्धको पहिलो खेलमा १ रन जोड्दा बलिङमा ५५ रन खर्चिएर कुनै पनि विकेट हात पार्न सकेनन् । त्यसैगरी ओमानविरुद्धको दोस्रो खेलमा अविजित ६ रन जोड्दा ९ रन खर्चिएर एक विकेट लिएका थिए । त्यसैगरी अमेरिकाविरुद्धको दोस्रो खेलमा ७ रन जोड्दा ४३ रन खर्चिएर १ विकेट हात पारे । 

बलरको रुपमा रहेका सोमपालले भने ओमानविरुद्ध पहिलो खेलमा १३ रन बनाउँदा ४० रन खर्चिएर १ विकेट हात पारे भने दोस्रो खेलमा ब्याटिङ गर्न नपाएका सोमपालले २४ रन खर्चिएर १ विकेट लिए । अमेरिकाविरुद्ध पहिलो खेलमा १ रन बनाउँदा २९ रन खर्चिएर १ विकेट हात पारे भने दोस्रो खेलमा ४७ रन जोड्दा ५७ रन खर्चिएर १ विकेट लिए । 

पछिल्ला प्रदर्शनले दिपेन्द्र वा सोमपाल कामीले कप्तान सन्दीपलाई असहयोग गरे जस्तो लाग्दैन वा अवस्था त्यस्तो आएको भए सन्दीप आफै कप्तान छन् र कुनै खेलका लागि प्लेइङ-११ मा खेलाडी राख्ने निर्णय उनकै हातमा रहेको छ । त्यसभन्दा माथि कुनै पनि खेलाडीको कुनै कुनै खेलमा प्रदर्शन राम्रो नभएको खण्डमा उसले असहयोग गर्‍यो भन्ने अवस्था भने हुँदैन । 

त्यसबाहेक टिमका अन्य खेलाडीले असहयोग गर्‍यो भने आधार पनि छैन किनभने अधिकांश खेलाडी उनकै कप्तानीमा डेब्यु गरेका छन् र उनीहरुले पनि राम्रै प्रदर्शन गरिरहेका छन् । नतिजाको हिसाबले भने मुख्य प्रतियोगितामा नेपालले भने सन्तोषजनक नजिता आउन सकेको छैन । 

र अर्कोतर्फ कप्तान बनेपछि सन्दीपको प्रदर्शन कप्तान बन्नुअघि झै उत्कृष्ट नभएको तथ्यांकले देखाएको छ । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x