फिचर

देशमै बसाउने जितको पर्खाइमा प्रशिक्षक कुमार थापा

सञ्जीव शाह |
साउन २३, २०७९ सोमबार ११:२० बजे

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसीप आयोजना गर्दैछ । घरेलु मैदानमा हुने च्याम्पियनसीपका लागि नेपाली महिला टिमको मुख्य प्रशिक्षकमा पुनः एकपटक चुनिएका छन, कुमार थापा ।

यसपटक महिला टिमको मुख्य प्रशिक्षक बन्न पाउनु थापाका लागि विशेष छ । काठमाडौँमा हुने च्याम्पियनसीपको नतिजाले उनी नेपाली फुटबलमै रहिरहने वा विदेशी भूमिमा अवसर खोज्ने भन्ने सुनिश्चतता प्रदान गर्नेछ । 


चौथोँ संस्करणमा मुख्य प्रशिक्षक रहेका थापा छैटौँ संस्करणका पुनः उही भूमिकामा आएका छन् । सन् २०१६ मा भारतले आयोजना गरेको चौँथों संस्करणमा भारतसँगै सेमिफाइनलमा पराजित भएपछि नेपाल पहिलो पटक फाइनल पुग्न सकेन । त्यसबाहेकका अन्य चार संस्करणमा भने नेपाल फाइनलमा पुगेर पनि भारतसँगै पराजित हुनु परेको छ । 

तर यसपटक घरेलु मैदानको फाइदा तथा घरेलु दर्शकको समर्थनमा साफको उपाधि जित्न सके नेपालले इतिहासमात्र रच्दैन स्वयम् प्रशिक्षक थापासँगै खेलाडी, व्यवस्थापक, एन्फा तथा महिला फुटबललाई माया गर्नेहरूका लागि ठूलो उपलब्धि हुनेछ । 

त्यो भन्दामाथि प्रशिक्षक थापालाई नेपालमै रहेर फुटबल गतिविधिमा लागिरहन प्रेरित गर्नेछ अन्यथा उनी विकल्पको खोजीमा जुट्नेछन् । 

‘काठमाडौँमा च्याम्पियनसीप हुनु भनेको नेपाली फुटबलसँगै मेरो लागि पनि एउटा अवसर हो । साफ च्याम्पियनसीप जित्यौँ भने मलगायत महिला फुटबल टिमका खेलाडीहरूका लागि पनि राम्रो हुन्छ । महिला फुटबलमा मानिसहरूको ध्यान जान्छ अवसर पनि आउँछन् ।’ नेपालमा हुने साफमा नेपालसँगै भारत, भुटान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र पाकिस्तानको सहभागीता रहनेछ । 

यदि दुर्भाग्यवस साफमा नेपालले राम्रो गर्न सकेन भने थापाको गन्तव्य भने मोडिने निश्चित छ किनभने उनले करिब २२ वर्ष फुटबल खेल्नुका साथै ‘यूईएफए मास्टर्स इन इन्टरनेसनल प्लेयर’ कोर्स पूरा गरेका छन् । तर थापाले भने आफूले पूरा गरेको शिक्षाअनुसार अवसर प्राप्त गर्न सकेका छैनन् ।

युरोपेली फुटबल महासंघ यूईएफएको छात्रवृत्तिमा उक्त कोर्स गर्ने थापा नेपालका मात्र नभएर एसियाकै पहिलो पूर्व फुटबल खेलाडीसमेत हुन् । सन् २०१७ देखि २०१९ सम्म युईएफएको मुख्यालयबाट सुरु भएर उक्त कोर्स पेरिस, जर्मनीको म्युनिख, बार्सिलोना, लन्डन, डर्टमन्ड अनि न्युयोर्कमा विभिन्न मोडुलमा पढाइ भएको थापा बताउँछन् । 

थापाको पढाइ खासगरी फुटबल म्यानेजमेन्ट अर्थात फुटबल व्यवस्थापन हो । उनले भने अनुसार त्यो पढाइ भनेको नितान्तरुपमा पूर्व खेलाडीहरूलाई फुटबल प्रशासनमा ल्याउने शिक्षा हो । थापा ऋण लिएर आफूले सो पढाइ सकेको बताउँछन् ।

‘फुटबललाई कसरी व्यवस्थित गर्ने, क्लब कसरी चलाउने तथा समग्रमा फुटबल संघ नै कसरी चलाउने भन्ने कुरा मैले पढेको हो । युईएफएबाट त्यसबेलाको ३५ लाख नेपाली रुपैयाको छात्रवृति पाएर पढाइ पूरा गरे । त्यसबाहेक पनि व्यक्तिगत ८० लाख खर्च भयो । त्यो पनि ऋण लिएर,’ उनी थप्छन् ।

पढाइ पुरा गरेर फर्किएपछि थापालाई लागेको थियो उनले नेपालमा राम्रै अवसर प्राप्त गर्छन् । तर थापालाई एन्फा नेतृत्वले पत्याउँदै पत्याएन । 

‘म फर्किएपछि मैले पढेको तथा जानेको कुरामा एन्फा नेतृत्वले विश्वास नै गरेन । उहाँहरूले नदेखेको वा मलाई सामेल गराउन नखोजेको त्यो उहाँहरूलाई थाहा होला । तर मैले जे पढेँ, मैले फुटबल विकासका लागि जे गर्नुपर्ने थियो, त्यसका लागि अवसर नै पाइरहेको छैन,’ थापा गुनासो गर्छन् ।

थापाका अनुसार उनले पढाइको जे जति सदुपयोग गर्न पाए त्यो एपीएफ क्लबका लागि गरे । एपीएफको क्लब लाइसेन्सिङको काम सफल पार्नु तथा क्लबको संरचना बनाउने काममा आफ्नो पढाइले काम गरेको थापा बताउँछन् । महिला फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने मौका पछाडि उनीसँग रहेको ए लेभलको लाइसेन्स कारक हो । 

‘पढेरमात्र हुँदैन, त्यसको प्रयोग गर्ने स्थान पनि हुनु पर्‍यो । अब चाहिँ त्यस बारेमा सोच्दैछु । अहिले त राष्ट्रिय टिम हेर्दैछु साथै क्लब पनि हेरिरहेको थिएँ । यसपछि पक्कै पनि अर्को कदम चाल्छु । नेपालमा काम नपाएपछि अवसर जहाँ पाइन्छ त्यतै जाने हो,’ नेपाल एपीएफ फुटबल क्लबका मुख्य प्रशिक्षक समेत रहेका थापा बताउँछन् । 

तर त्यो कदम चाल्नु अघि साफको उपाधिमाथि उनको आँखा गडेको छ किनभने साफको उपाधि जितेको खण्डमा थापा नेपालमा बस्न सक्ने सम्भावना पनि रहन्छ ।

साफको उपाधि जित्नु भने नेपालका लागि फलामको च्युरा चपाउनु सरह नै हुनेछ त्यो पनि अघिल्ला पाँचवटै संस्करणका च्याम्पियन तथा व्यवस्थित महिला फुटबल संरचना भएको भारतलाई पाखा लगाएर । 

फिफाको वरियता नै हेर्ने हो भने भारत ५८ औँ स्थानमा रहँदा नेपाल १ सय २ औँ स्थानमा छ । एसियाली मुलुकअन्तर्गत भारत १२ औँ तथा नेपाल २१ औँ स्थानमा रहेका छन् । 

तर नेपाली टिममा महिला लिग तथा एएफसी एसियन कप छनोट खेलेको टिमका खेलाडीहरू भएका कारण प्रशिक्षक थापालाई च्याम्पियनसीपका लागि ६ हप्ताको समय पनि प्रर्याप्त लागेको छ । 

‘टिमको २ देखि ३ महिनाको तयारी भइसकेको छ तथा मैले ६ हप्ता पाएकोमा सहज रुपमा स्वीकारेको छु,’ मनाङ मर्स्याङदी क्लबलाई कप्तानको रुपमा लगातार तीन पटक सहिद स्मारक ‘ए’ लिगको उपाधि दिलाएका थापा भन्छन् ।

टिमको प्रशिक्षक पद सहज रुपमा लिएपनि नेपाली महिला फुटबलको संरचनादेखि भने उनी खुसी छैनन । 

थापाका अनुसार नेपाली महिला फुटबलको संरचना कमजोर छ किनभने विभागीय टिमबाहेक अन्यत्र महिला टिम खासै छैनन् । महिला लिग खेल्ने नगरपालिकाको टिम पनि लामो समयसम्म टिक्न सक्ने खालको छैन । 

थापालाई लाग्छ जबसम्म पुरुष फुटबल क्लबहरूले महिलाको टिम राख्दैनन् नेपालमा राम्रा खेलाडी पाउन तथा खेलाडीलाई खेल्ने वातावरण बनाउन गाह्रै हुनेछ । 

अहिलेको नेपाली महिला फुटबलको आधार भनेको नेपाल एपीएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब हुन् । र आगामी दिनमा नेपाली महिला फुटबलर पाउनका लागि पुरुष फुटबल क्लबहरूलाई अनिवार्य महिला टिम राख्नुपर्ने वा त्यो नभएपनि युथ लेभलमा एउटा टिम राख्नुपर्ने प्रावधान एन्फा, जिल्ला फुटबल संघ अथवा नगरपालिकाले नै अनिवार्य गर्नुपर्ने उनको धारणा छ । 

थापाका अनुसार महिला फुटबलको हबको रुपमा रहेको रौतहट, धनगढी जस्ता स्थानलाई अवसर प्रदान गर्नुका साथै बढी प्रवर्द्धन गर्‍यो भने फुटबल खेलाडी आउने तथा उनीहरूका लागि खेल्ने वातावरण बन्नसक्छ । 

त्यसबाहेक महिला फुटबललाई फ्रेन्चाइज्ड मोडेलमा अघि बढाउनुपर्ने पनि थापा बताउँछन् । 

‘महिलाको फ्रेन्चाइज्ड लिग भएको भए विभागीय टिमका खेलाडीहरू सबैतिर छरिन्थे । एउटै टिम बलियो हुँदैनथ्यो । यसले पनि महिला अधिकार, समाजलाई परिवर्तन गर्ने कुरा तथा समान कामका लागि समान पारिश्रमिक भन्ने कुरालाई समर्थन गर्थ्यो ।’


 

 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x