फिचर

सन्दीप प्रकरणमा क्यानले जवाफ दिनु पर्दैन ?

सञ्जीव शाह |
भदौ २८, २०७९ मगलवार १४:३३ बजे

काठमाडौँ- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोपमा जाहेरी परेर पक्राउ पूर्जी जारी भएसँगै क्रिकेट टिमका व्यवस्थापक तथा नेपाल क्रिकेट संघ (क्यान) पदाधिकारीहरुमाथि पनि कैयौँ गम्भीर प्रश्न तेर्सिएका छन् । क्लोज क्याम्पमा रहेका सन्दीप कसको अनुमति लिएर रातभर डुलिरहेका थिए ? के क्यानले यसैगरी खेलाडीलाई मनपरी गर्ने छुट दिएको छ ? आदि प्रश्न क्यानमाथि पनि तेर्सिएका छन् ।

सबैभन्दा ठूलो प्रश्न भनेको टिम व्यवस्थापक तथा टिमसँग समन्वय तथा सम्पर्कमा रहेका पदाधिकारी र कर्मचारीलाई केन्या जानु अघिल्लो रात सन्दीप टिमसँगै नरहेको कुरा किन जानकारी भएन ?  तथा सन्दीपको विषयमा क्यान पदाधिकारी दोषको भागिदार हुन् कि हैनन् ? भन्ने जस्ता प्रश्नहरु उठिरहेका छन् । 


सन्दीप क्लोज क्याम्पमा मात्र थिएनन्, कोभिड प्रोटोकलमा पनि बस्नुपर्ने थियो । तर सन्दीप यी दुवै अनुशासन तोडेर बाहिर निस्किएका थिए । यसमा क्यानलाई जिम्मेवार मान्ने कि नमान्ने बहस जरुरी देखिएको छ । यदि खेलाडी अनुशासन तोडेर बाहिर गएको हो भने क्यानले पनि स्पष्टिकरण दिन जरुरी छ र क्यानका पदाधिकारीमा पनि  नैतिकताको प्रश्न उठेको छ । सन्दीपको मुद्दामा सघाउन क्यानका पदाधिकारी तथा सदस्यहरूले पनि राजीनामा दिनुपर्ने आवाज उठेका छन् । सन्दीपको मुद्दा किनारा नलाग्दासम्म क्यान पदाधिकारी तथा सदस्यलाई निलम्बन गर्नुपर्ने आवाज पनि उठिरहेका छन् ।  

तर, यस विषयमा क्यान अध्यक्ष चतुर बहादुर चन्दसँग कुरा गर्न खोज्दा उनले यसबारे आफूले केही पनि नबोल्ने भन्दै फोन काटे । क्यानले प्रहरीले मुद्दा दायर गरेर पक्राउ पुर्जी जारी गर्दासम्म पनि सन्दीपलाई निलम्बन गरेको थिएन । दबाब बढ्दै गएपछि बल्ल क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । यो दृष्टान्तका कारण क्यान सन्दीपसँगै आफूमाथि उठ्ने प्रश्नलाई पनि दबाउने रणनीतिमा रहेको धेरैको विश्लेषण छ । 

क्यानले केन्या भ्रमणका लागि नेपाली टिमको व्यवस्थापकमा सुनिल महासेठलाई चयन गरेको थियो । नेपाली टिम भदौ ६ गते केन्याका लागि प्रस्थान गरेको थियो । 

नेपाली टिमका तत्कालीन कप्तान सन्दीपविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि उनी भदौ ५ गते नेपाली टिमसँगै नबसेर अन्यत्रै बसेको कुरा बाहिरिएको थियो ।  

तर, केन्या भ्रमण सकेर नेपाल फर्किएपछि विमानस्थलमा व्यवस्थापक महासेठले भने सन्दीपले खेलाडी बसेको होटल छाडेको तथा अन्य कुनै होटलमा बसेको विषयमा कुनै जानकारी नभएको दावी गरे । क्यानले भने यस विषयमा छानविन गर्न सकिने मात्र जनाएको छ ।

क्यानले सन्दीपलाई नेपाली टिमबाट सन्दीपलाई निलम्बन गर्नुबाहेक सन्दीप टिमसँग नहुँदा को-को दोषी छन् भन्ने कुनै जानकारी गराएको छैन ।

क्यानका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सन्दीपले टिम छाडेर बाहिर जाँदा समेत कसैलाई जानकारी नहुनुमा क्यानले जिम्मेवारी दिएका व्यवस्थापक, कर्मचारी र क्यान पदाधिकारीहरुले यसको जिम्मेवारी लिनुपर्ने इकागजलाई बताए । 

‘सन्दीपले टिम छाडेर बाहिर निस्किएपछि प्राविधिक त्रुटिहरु भएको देखिन्छ । खेलाडी राति बाहिर जाने तर टिममा थाहा नहुनु भनेको व्यवस्थापकको कमजोरी हो । तोकिएका पदाधिकारीहरु, बन्द प्रशिक्षणमा सामेल पदाधिकारीहरु, प्रशिक्षक, टेक्निकल एनालिष्ट तथा क्रिकेट म्यानेजरहरुलाई पनि यसबारे थाहा हुनुपर्थ्यो । खेलाडीलाई घर जानुपर्‍यो भने बिदा लिनुपर्छ तथा आधिकारिक रुपमा जानकारी गराउनुपर्ने हुन्छ । तर ती कुराहरु भयो कि भएन भन्ने कुरा निकै महत्वपूर्ण हो,’ क्यान स्राेतले इकागजलाई बतायो । 

क्यान स्रोतले यसका जिम्मेवार पदाधिकारीहरुले जिम्मेवारीलाई गम्भीरतापूर्वक नलिएको समेत जनाएका छन् । 

‘जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा नगरेको देखिन्छ । प्राविधिक त्रुटिहरु भएका छन् । तसर्थ अहिलेको घटनाका लागि जिम्मेवार पदाधिकारी, कर्मचारी तथा व्यवस्थापक जिम्मेवार हुनुपर्छ तथा सम्वेदनशील हुनुपर्छ,’ उनले थपे । यसमा क्यान पदाधिकारीसँगै व्यवस्थापकको कमजोरी देखिएको उनले बताए ।

तर यता क्यान भने जवाफ दिनुपर्ने समयमा नबोल्ने भन्दै फोन काटेर बसेको छ । तर सन्दीप प्रकरणले के देखाएको छ भने क्यानले लामो समयदेखि जिम्मेवारी निर्वाह गर्नेक्रममा हेलचेक्र्याँइ गरिरहेको छ । यही हेलचेक्र्याँइका कारण सन्दीप खेलाडी बसेको होटल उद्धत भए र यो प्रकरणमा सामेल भए । त्यसैले सन्दीपसँगै यो घटनाका सम्बन्धमा क्यानले बोल्दिन भनेर सुख पाउनेवाला छैन । एकातिर टोलीको कमजोर प्रदर्शन अनि अर्कोतिर कल्पना पनि गर्न नसकिने घटनामा खेलाडीको संलग्नता ? के क्यानले नागिरकलाई यसको जवाफ दिनुपर्दैन ? 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x