फिचर

सन्दीपको बहिर्गमनमा रोहितलाई कप्तानीको मौका

सञ्जीव शाह |
कात्तिक २६, २०७९ शनिवार १६:४१ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान नियुक्त गरेको छ । तत्कालीन कप्तान सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिगमा सहभागी हुन गएपछि रोहितले गत सेप्टेम्बरमा केन्याविरुद्धको ५० ओभर (एकदिवसीय) को तीन खेलको सिरिजमा नेपालको कप्तानी गरेका थिए । उक्त सिरिज नेपालले ३-० ले जितेको थियो । 

सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लाग्नुका साथै उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि भदौ २३ गते क्यानले सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको थियो । त्यसपछि नेपाली टिम कप्तानविहीन थियो । 


नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने मिति नजिकै आइसकेपछि क्यानले रोहितलाई कप्तानीको जिम्मेवारी दिएको हो । नेपाल र युएईबीचको खेल सोमबार, बुधबार र शुक्रबार हुने तालिका रहेको छ । 

युएईविरुद्धको सिरिज लगतै नेपालले डिसेम्बर २ तारिखदेखि नामिबिया र स्कटल्यान्ड सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज खेल्ने तालिका छ । 

खासमा राष्ट्रिय टिमबाट डेब्यू गरेको चार वर्षभित्रै रोहितले नेपाली टिमको कप्तान बन्ने अवसर पाएका छन् । नेपालका लागि २५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८ सय ८ रन जोडेका रोहितले २०१८ को अगस्टमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । रोहितले एक शतक तथा ५ अर्धशतक प्रहार गरेका छन् । 

त्यसैगरी, २१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ३ सय ७६ रन जोडेका रोहितले सन् २०१९ को जनवरीमा युएईविरुद्ध खेल्दै टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । आँकडामा हेर्ने हो भने रोहित कप्तानको जिम्मेवारीका लागि पाक्न बाँकी नै रहेको मान्नुपर्छ । तर केही वर्षयता नेपाली क्रिकेटमा भइरहेका उथलपुथलले रोहितले कल्पना गरेभन्दा चाँडै यो जिम्मेवारी पाए ।

रोहितको यो नयाँ भूमिकालाई एउटा संयोग तथा क्यान-खेलाडी विवाद र सन्दीपमाथि लागेको आरोपको परिणामको रुपमा समेत लिन सकिन्छ । 

क्रिकेटरको वर्गीकरणलाई लिएर तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्यानविरुद्ध सार्वजनिक रुपमा बोलेको भन्दै क्यानले चारैजना खेलाडीलाई अनुशासनको कारबाही गर्‍यो । खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले २०२१ डिसेम्बर १५ मा ज्ञानेन्द्रको कप्तानी तथा दीपेन्द्रको उपकप्तानी पद खोस्यो । 

अन्य विषयमा क्यान लचिलो हुँदा ज्ञानेन्द्रको कप्तानी तथा दीपेन्द्रको उपकप्तानी पद खोस्ने कारबाहीबाट भने क्यान टसकोमस भएन । क्यानले ज्ञानेन्द्रको कप्तानी खोसेर उक्त पद सन्दीपलाई सुम्पेको थियो । यसमा रोचक के थियो भने अनुशासनको कारबाही भोग्ने चारैजनाको समान मुद्दामा रोहित पौडेलको वर्गीकरण पनि थियो ।

ज्ञानेन्द्रसहितको चारैजना खेलाडीले रोहित पौडेललाई खेलाडी वर्गीकरणमा नराखेको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि क्यानले प्रोत्साहन स्वरुप रोहितलाई एक लाख दिने निर्णय मात्र गरेको थिएन त्यसपछिको वर्गीकरणमा रोहितलाई पनि समेटेको थियो । 

त्यतिन्जेलसम्म कप्तानीको जिम्मेवारी भने सन्दीपमा सरिसकेको थियो । तर बलात्कारको आरोप लागेपछि सन्दीप टिमबाट निकालिँदा रोहितले कप्तानको जिम्मेवारी पाएका छन् । 

यसो हेर्दा रोहितले छोटो समयमा राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाएझै देखिएपनि उनीसँग नेपालको यू-१९ टिमको कप्तानी गरेको अनुभव पनि रहेको छ । साथै उनी राष्ट्रिय टिमको उपकप्तान समेत भइसकेका छन् ।
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x