फिचर

युवा क्रिकेटरको परिपक्व प्रदर्शन : के याे एकदिवसीय मान्यता जोगिने संकेत हाे ?

इकागज |
फागुन ७, २०७९ आइतबार १७:५६ बजे

काठमाडौँ- मोन्टी देसाईको सफल प्रशिक्षणमा नेपाली क्रिकेटले ब्याटिङमा ठूलो सुधार गरेको छ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणत्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले हात पारेको जितको ह्याट्रिकलाई ब्याटिङमा देखिएको सुधार मुख्य कारक मानिएको छ ।

यसअघि एकदिवसीय खेलमा नेपालले दुई सय रनको लक्ष्य पछ्याउन पनि ठूलै मूल्य चुकाउने गरेको थियो । त्यसमाथि नेपाली क्रिकेटको जग हाल्दै सफलताको शिखर चुमेका खेलाडीहरुको संन्न्यास र सक्रियता नरहेका बेला टिममा आएका युवा खेलाडीहरुको प्रदर्शनले ब्याटिङमा ठूलो आशा जगाएको छ ।


सुवास खकुरेलपछि नेपाली क्रिकेटको ओपनिङमा ठूलो समस्या थियो । खकुरेल आफैँ पनि गतिलो पार्टनर नपाएर राष्ट्रिय टिमबाट बाहिरिएका थिए । खकुरेलपछि अहिले कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडीलाई यस समयकै उत्कृष्ट ओपनरका रुपमा बुझ्न थालिएको छ ।

कुशलले नामिबियाविरुद्ध शतक प्रहार गरे । जुन उनको एकदिवसीयमा हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । कुशल नचल्दा आसिफले तेस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरे । नामिबियाविरुद्धको घरेलु मैदानको तेस्रो खेलमा आसिफले ८१ रनको योगदान दिए ।

आसिफपछि ज्ञानेन्द्र मल्लले पनि अर्धशतक बनाउँदा नेपाली क्रिकेट टिमले शनिबार जितमा ह्याट्रिक गरेको हो । लिग-२ को सिरिजमा नेपालले यसरी जित निकालेको पहिलो पटक हो ।

ओपनर कुशल र आशिफ दुबै जना राम्रो फर्ममा देखिएका छन् । तेस्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्र मल्लले पनि राम्रो प्रदर्शन गरेका छन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) सँगको विवादका कारण कप्तानी खोसिएपछि उनी राम्रो लयमा आउन समय लागेको थियो ।

तर ज्ञानेन्द्रपछि सन्दीप लामिछाने विवादमा तानिँदा रोहित पौडेलको कप्तानीमा ओपनर र महत्वपूर्ण मानिने तेस्रो नम्बरका ब्याटर फर्ममा फर्किएका हुन् । ज्ञानेन्द्रले राम्रै योगदान दिइरहेका छन् ।

यस्तै कप्तान रोहित पौडेलले टिमको जितमा योगदान गरिरहेका छन् भने सन्तुलित टिम मिलाएर लगातार जित निकाल्न सक्षम देखिएका छन् । अलराउण्डरका रुपमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले करियरकै उत्कृष्ट पारी खेलिरहेका छन् ।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले स्कटल्याण्डसँगको खेलमा उत्कृष्ट खेले । सुरुवाती उत्कृष्ट ब्याटर आउट हुँदा निकै खराब अवस्थामा रहेको नेपाललाई उद्धार गर्दै कुशल र दीपेन्द्रले ३ विकेटको शानदार जित दिलाउन सफल भएका थिए ।

नेपालको जितमा पछिल्लो समय ओपनर र मुख्य ब्याटर असफल हुँदा अलराउण्डरले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताउन सक्षम देखिएका छन् । त्यसमाथि २५० रनदेखि झण्डै ३ सय रनको लक्ष्य पूरा नेपाली ब्याटर सक्षम रहेको पुष्टि भएको छ ।

लगातार तीन खेलमा नेपालले २५० रनमाथिको लक्ष्य पनि भेटाउनु सामान्य होइन । ओपनर, अलराउण्डरदेखि नेपाली बलर पनि ब्याटिङमा परेका बेला टिमलाई जिताउन सक्षम छन् । जसका भरपर्दा उदाहरण हुन्, सोमपाल कामी र करण केसी । करण केसी कीर्तिमानी अलराउण्ड खेलाडी हुन् ।

त्यसमाथि उनले यो श्रृङ्खला पाँच विकेट लिने खेलाडीका रुपमा आफूलाई प्रमाणित गरिसकेका छन् । विवाद र क्यानको आलोचनापछि पनि टिममा फर्किएर उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीप लामिछानेले गर्दा पनि नेपाली क्रिकेट टिम जितमा ह्याट्रिक गर्न सफल देखिएको छ ।

टिमका ब्याटरले ब्याटिङमा धेरै सुधार गरिरहँदा अब नेपालले एकदिवसीय मान्यता जोगाउने आशा देखाएको छ । त्यसका लागि नेपाल अहिले चलिरहेको लिग-२ मा उत्कृष्ट पाँच टिमभित्र पर्नुपर्छ । तर नेपाल अहिले छैटौ स्थानमा छ ।

शीर्ष पाँचभित्र परेमा नेपालले एकदिवसीय मान्यता जोगाउनेछ । नेपाल २४ अंकसहित छैटौमा रहँदा चौथो र पाँचौमा रहेका अमेरिका र युएईलाई पछाडि पार्नुपर्नेछ ।

यसका लागि नेपालले खेल्न बाँकी अब ९ खेलमध्ये ६ खेल जित्नैपर्नेछ । विश्वकप छनोटमा स्थान बनाउन भने बाँकी सबै खेल जितेर रनरेट पनि हेर्नुपर्नेछ । यसर्थ नेपालको एकदिवसीय मान्यता जोगाउनका लागि अहिलेको नेपाली क्रिकेट टिमको ब्याटिङ धेरैहदसम्म सुधारोन्मुख छ ।

घरेलु टिममा ब्याटिङ लय उत्कृष्ट देखिएपनि विदेशी पिचमा त्यो लयलाई निरन्तरता दिनु चुनौतिपूर्ण छ । तर मोन्टी देसाईको मुख्य प्रशिक्षणमा नेपाली युवा क्रिकेटरले जुन आशा, उत्साह र उमंग छरेका छन्, त्यो नेपाली क्रिकेटको लय फर्किदै धेरै अगाडिसम्म जान सही मार्गनिर्देश बन्न सक्छ ।


Author

थप समाचार
x