फिचर

बालगोपाल महर्जन : ‘हार्न’ नजानेका प्रशिक्षक

सञ्जीव शाह |
जेठ २३, २०८० मगलवार १७:६ बजे

काठमाडौँ- चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले डेब्यू सिजनमै सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइजले पहिलो प्रयासमै उपाधि जितेको हो ।

लगातार सहिद स्मारक ‘सी’ डिभिजन, ‘बी’ डिभिजन र ‘ए’ डिभिजन लिगको उपाधि जितेर चर्च ब्वाइजले कीर्तिमान समेत बनाएको छ । २०२१ मा ‘सी’ डिभिजन, २०२२ मा ‘बी’ डिभिजनको उपाधि जितेको चर्च ब्वाइजले सन् २०२३ मा ‘ए’ डिभिजनको उपाधि जितेको हो ।


१४ टिमबीच डबल राउन्ड रोविनको आधारमा जारी लिगको एक खेलअगावै चर्च ब्वाइजले उपाधि जितेको हो । उसले खेलेका २५ मध्ये १२ खेलमा जित निकाल्दा ९ खेलमा अंक बाँड्यो । केवल ४ खेलमा मात्र पराजय भोगेको चर्च ब्वाइजले ४५ अंक जोडेको छ ।

उपाधि होडमा रहेको एकमात्र टिम तथा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पछाडि पार्दै एक खेलअगावै चर्च ब्वाइजले आफूलाई च्याम्पियनको रुपमा उभ्याएको हो ।

चर्च ब्वाइजलाई पहिलो प्रयासमै लिगको उपाधि दिलाउने श्रेय खेलाडीसँगै टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई पनि जान्छ । संयोग नै मान्नु पर्छ मुख्य प्रशिक्षकको रुपमा महर्जनका लागि ‘ए’ डिभिजन लिगको यो पहिलो उपाधि पनि हो ।

खेलाडीको रुपमा थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिगको उपाधि जितेका महर्जनले मुख्य प्रशिक्षकको रुपमा भने थ्री स्टारलाई सन् २००९-१० को सिजनको ‘ए’ डिभिजन लिगमा उपविजेता बनाएका थिए । गोर्खा दक्षिण बाहु पदक पाएका महर्जनले सन् २००५ मा फुटबलबाट सन्यास लिएपछि २००६ मै थ्री स्टार क्लबबाट प्रशिक्षकको रुपमा आएका थिए ।

उनले दुई वर्ष अगाडि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सलाई पनि उपाधि दिलाएका थिए ।

महर्जनले यसअघि नेपालकै मनाङ मर्स्याङ्दी क्लब तथा भारतको डेन्जोङ ब्वाइज फुटबल क्लब तथा बंगलादेशको ब्रदर्स युनियन क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी समेत पूरा गरेका थिए ।

खासमा सात खेलसम्म प्रदीप हुमागाईले चर्च ब्वाइजको प्रशिक्षकको भूमिका निर्वाह गरेपनि वर्क परमिटका कारण उनले आफ्नो भूमिकाबाट पछि हट्ने निर्णय गरे । हुमागाई प्रशिक्षक हुँदासम्म चर्च ब्वाइज सात खेलमा अपराजित नै रहेको थियो । हुमागाईको प्रशिक्षणमा चर्च ब्वाइज सात खेलबाट १३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा थियो ।

त्यसपछि महर्जनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका थिए । आठौं खेलबाट प्रशिक्षकको जिम्मेवारी पाएका महर्जनले टिमलाई च्याम्पियन बनाउन सफल भए ।

महर्जन खेलाडी र प्रशिक्षकका रुपमा क्लबका लागि मात्र नभएर राष्ट्रिय टिमका लागि पनि उत्तिकै सफल छन् ।

खेलाडीको रुपमा सन् १९९३ मा बंगलादेशमा भएको छैटौं दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपालले स्वर्ण जिताएका महर्जनले मुख्य प्रशिक्षकको रुपमा सन् २०१५ मा नेपालमा भएको पहिलो संस्करणको यू-१९ साफ च्याम्पियनसीपको उपाधि नेपाललाई दिलाएका थिए ।

उनकै प्रशिक्षणमा नेपालले सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कपको उपाधि जितेको थियो । सन् २०१९ मा नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले स्वर्ण जित्दा बालगोपाल नै मुख्य प्रशिक्षक थिए । उनले नै सन् २०२१ मा नेपाललाई थ्रीनेसन्स कपको समेत उपाधि दिलाएका थिए ।

खेलाडीको रुपमा सन् १९९९ मा नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले रजत हात पार्दा भूमिका महत्वपूर्ण निर्वाह गरेका महर्जनले मुख्य प्रशिक्षकको रुपमा २०१३ मा नेपालमा भएको यू-१६ साफ च्याम्पियनसीपमा नेपाललाई उपविजेता बनाएका थिए । उनकै प्रशिक्षणमा सन् २०१३ मा भएको एएफसी यू-१६ च्याम्पियनसीप छनोटबाट नेपाली टोली अन्तिम चरणका लागि छनोट भएको थियो ।

सन् २००९ मा एएफसी ‘बी’ कोचिङ सर्टिफिकेट प्राप्त गरेका तथा सन् २०१६ मा एएफसी ‘ए’ लाइसेन्स सर्टिफिकेट कोर्स पूरा गरेका महर्जनले खेलाडीको रुपमा सन् १९९७ देखि १९९८ सम्म भारतको मुम्बईमा रहेको महिन्द्रा एन्ड महिन्द्रा क्लब तथा २००१ देखि २००३ सम्म बंगलादेशको ब्रदर्स युनियन फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

उनले नेपालमा मनाङ मर्स्याङ्दी क्लब, न्यूरोड टिम (एनआरटी), थ्री स्टार क्लब र नेपाल पुलिस क्लब तथा मछिन्द्र फुटबल क्लबबाट समेत खेलेका छन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x