फिचर

वायुसेवा निगममा आमाको हाकिम छोरा

विमान परिचारिकाहरू प्रताडित

विकास थापा |
जेठ २१, २०७८ शुक्रवार १७:३२ बजे

काठमाडौँ : लकडाउन, निषेधाज्ञा, उडान प्रतिबन्धलगायत कोभिड–१९ को महामारीका कारण यतिखेर नेपाल वायुसेवा निगमका उडानहरु भूमिस्थ (ग्राउण्डेड) छन् । निगमले सातामा एउटा उडान भारत र अर्काे उडान दोहामा मात्र गर्दै आएको छ । तर निगममा रहेका १७० जना विमान परिचारिकाहरु उडान नभएका कारण ‘बेरोजगार’ बनेका छन् । करारमा रहेका विमान परिचारिकाहरुले उडान भएका बखत मात्र तलब, भत्ता पाउँछन्, नत्र पाउँदैनन् । 

उडान भएका बखत पनि अपरेशन विभागले खटाएका विमान परिचारिकाहरु मात्र काम पाउँछन् । अपरेशन विभागको प्रमुखमा दिपु जुहार्चन छन् । उनी मातहत रहेको क्याबिन क्य्रूको प्रमुखमा जुहार्चनको आफ्नै आमा सुमिली जुहार्चन छिन् । अर्थात् आमाको हाकिम छोरा । 


आमाको सिफारिसमा छोराबाट विमान परिचारिकाहरु खटन पटन हुन्छ । औपचारिक प्रक्रिया पनि यही हो । तर आमाले मन नपराएका विमान परिचारिकाहरु भने उड्न पाउँदैनन । आमाको गुनासो पोख्ने ठाउँ पनि छोरो हाकिम भएको विभागमै हो ।

आमाको गुनासो (कम्प्लेन) लिएर आउने विमान परिचारिकाहरुलाई छोराले भटाभट कारबाही गर्न थाले । विमान परिचारिकाहरु आमाको बुहार्तन, दुव्र्यवहारविरुद्ध गुनासो गर्न छोराभन्दा माथिल्लो पदधारीकहाँ पुग्न सक्दैनन् ।  उनीहरुका अनुसार पुगे पनि संस्थाको ‘चेन अफ कमाण्ड’ बिगारेको भनेर गुनासो लिएर जाने विमान परिचारिकाहरु उल्टै कारबाहीमा पर्छन् । 

‘चिफ अफ द क्याबिन क्य्रू (सुमिली जुहार्चन) विरुद्ध हामीहरु कम्प्लेन नै गर्न छाडिदियौं,’ एक विमान परिचारिकाले बताइन्, ‘हामी आमा–छोराको सेटिङबाट प्रताडित छौं, कहाँ गुनासो गर्न जाने ?’

आमाछोराको मिलेमतोमा उडिरहेको विमानभित्र जन्म दिन मनाउने चारजना विमान परिचारिकालाई दुई महिना भूमिस्थ (उडानमा रोक) लगाएको दुखेसो विमान परिचारिकाहरुले गरेका छन् । स्वास्थ्य र सञ्चालन मापदण्ड अनुसार नै जन्मदिन मनाउँदा पनि भूमिस्थ गर्ने छोराले हेभी ल्यााण्डिङ गर्ने पाइलटलाई नाम मात्रको कारबाही गरेको पनि उनीहरुले उल्लेख गरेका छन् ।

आमा छोराको हर्कतबारे निगमका कर्मचारीहरुले अध्यक्ष सुशील घिमिरे, प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललगायत सबैलाई इमेल गरेका छन् । निगममा चारजना मात्र स्थायी विमान परिचारिकाहरु छन् । ती चारैजना इन्स्ट्रक्टर हुन् । चारजनामध्ये सबैभन्दा वरिष्ठमा प्रिया थापा हुन् । वरिष्ठ इन्स्ट्रक्टरमध्येबाट चिफ क्याबिन क्य्रू प्रिया थापा हुनुपर्नेमा अघिल्ला अध्यक्ष मदन खरेलले सुमिली जुहाचर्नलाई बनाइदिए । अरु दुईजना स्थायी इन्स्ट्रक्टरमा सान्त्वना तुलाचन र सुषमा वैद्य छन् ।

त्यसैगरी करारमा रहेका इन्स्ट्रक्र परिचारिकाहरुमा प्रजिता कार्की, प्रदा कार्की, सिर्जना केसी र सुषमा तामाङ छन् । करारमा रहेकाहरु बढी घोटिनुपर्ने, भनेको फ्लाइट नपाउने, तालिम दिनुपर्ने काममा खटाइने गरिएको छ भने स्थायीवाला इस्न्ट्रक्टर परिचालिकाले भनेको भत्ता धेरै आउने उडान पाउने, थोरै पढाए (तालिम) हुने आदि सुविधा पाउँछन् । 

स्थायी विमान परिचारिका जम्मा चारजना मात्र छन्— रिना बज्राचार्य, प्रज्ञा अर्याल, सुदिना श्रेष्ठ र सपना मानन्धर । बाँकी सबै करारमा छन् । आमा जुहार्चनले भनेका विमान परिचारिकाहरुले मात्र उडान भर्न पाउने गर्छन् । यी विमान परिचारिकाहरुले उडान भर्न पाए भने मात्र भत्ता, तलब आउँछ । भूमिस्थ भएको बेला पैसा पाउँदैनन् । उड्नका लागि आमालाई मनाउनु आफूहरुको बाध्यता रहेको उनीहरु बताउँछन् । 

आफ्नी आमा ५० वर्ष पुगेपछि निवृत्त हुने भएपछि अपरेसन विभाग प्रमुख छोराले कर्मचारी नियमावली नै संशोधन गरेर उमेर हद बढाउन चलखेल तीव्र पारेका छन् । स्थायी इन्स्ट्रकर विमान परिचारिक चार, स्थायी विमान परिचारिका चार गरी जम्मा आठजनाका लागि निगमले कर्मचारी नियमावली संशोधन गर्न लागिएको हो । निगमको नियमावलीमा विमान परिचारिका/परिचारकको उमेर हद ५० वर्ष छ । त्यसलाई बढाएर ५८ वर्ष पुर्‍याउन लागिएको हो । ‘आमाको म्याद थप गर्न छोरा (अपरेशन विभाग प्रमुख) लागिपरेका छन्,’ स्रोतले भन्यो ।

कर्मचारी नियमावली संशोधन गरी सेवा अवधि थप गर्न चलखेल भएको थाहा पाएपछि निगमका कर्मचारीहरुले अध्यक्ष गुहारेका छन् । उनीहरुले हालै अध्यक्षलाई एक पत्र लेखी म्याद थप गर्न नहुने विभिन्न ज्वलन्त उदाहरण दिएका छन् । निगमका अध्यक्ष घिमिरेले कर्मचारीको अनुरोध पत्र आएको स्वीकार गरे । निमायवली संशोधनबारे औपचारिक रुपमा सञ्चालक समितिमा नआएको घिमिरले बताए । ‘म्याद थप गर्ने कुरो म सचिव (पर्यटन) हुँदा पनि उठेको थियो,’ घिमिरले इकागजसँग भने । 

अध्यक्ष घिमिरेले आमा–छोराको कुरा समाधान गर्न प्रबन्ध निर्देशकलाई निर्देशन दिएको बताए । प्रबन्ध निर्देशक पौडेलले आफू आउनुअघि नै अपरेशन विभाग र चिफ क्याबिन क्य्रूको बन्दोबस्त भएको बताए । निगमका कुनै पनि तहका कुनै पनि विभागका कर्मचारीहरु आफूसमक्ष आएर गुनासो गर्न पाउने उनले बताए । ‘मकहाँ आउन उहाँहरुलाई केही समस्या छैन,’ पौडेलले शुक्रबार इकागजसँग भने, ‘मभन्दा मुनिका हाकिमकहाँ गए पनि भइहाल्यो ।’

चेन अफ कमाण्ड तोडेर माथिल्ला हाकिमकोमा गुनासो गर्न जानेलाई कारबाही गरिएको रहेछ नि भन्ने इकागजको प्रश्नमा प्रबन्ध निर्देशक पौडेलेले भने, ‘त्यस्तो नहुनु पर्ने हो ।’यता सेवा अवधि थपका लागि नियमावली संशोधनबारे छलफल भइरहेको पौडेलले बताए । निगमका कर्मचारी निवृत्त भएपछि एकैचोटि धेरै पैसा भुक्तानी गर्नुपर्ने तर निगमको नगद प्रवाहमा समस्या भएकाले पनि म्याद थप एउटा विकल्प हुनसक्ने बताए । 

निगममा सुरुमा विमान परिचारिका÷परिचारकको सेवाको उमेर हद ३५ वर्षको थियो । पछि महिलालाई ४५ वर्ष र पुरुषलाई ५५ वर्ष पुर्‍याइयो । यससम्बन्धी अदालतमा मुद्दा पर्‍यो । व्यवस्थापनले दुवैको उमेर हद ५० वर्ष पुर्‍यायो । त्यतिबेला क्याबिन क्य्रू एसोसियसनसँग छलफल गरेर ५० वर्ष तोकिएको थियो । 

त्यसपछि कर्मचारी नियमावलीमै ५० वर्ष लेखियो । ५० वर्ष पुगेपछि विमान परिचारिका/परिचारक निवृत्त हुन थाले । त्यसमध्येका मनोहर केसीले सर्वाेच्चमा मुद्दा हाले । अदालतले निगमकै जिम्मा लगाइदियाो ।

निवृत्त भएपछि हालेको मुद्दामा अदालतले हराइदिंदो रहेछ भन्ने ठानेर निवृत्त हुने एक महिना अघि आउने पत्र आएपछि विमान परिचारिका अर्चना दाहाल सर्वाेच्चमा मुद्दा हालिन् । अदालतले निगमको नियमावलीमा जे छ, त्यहीअनुसार उमेर हद कायम हुन्छ भन्ने फैसला गर्‍यो ।

हो अहिले यही नियमावली परिवर्तन गर्न लागिएको हो । जम्मा आठजना विमान परिचारिकाका लागि निगमले नियमावली संशोधन गर्न लागेपछि कर्मचारीहरुले विरोध गर्न थालेका छन् ।उनीहरुले अध्यक्ष र सञ्चालक समितिका सदस्यहरुलाई पत्र पनि लेखेका छन् ।

ती कर्मचारीहरूले लेखेको पत्र इकागजलाई प्राप्त भएको छ । तल हेर्नुहोस् ।


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x