फिचर

कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनालाई टक्कर दिने प्रयासमा गारेकाको पेरू

इकागज |
असार १६, २०७८ बुधवार ६:४७ बजे

काठमाडौँ : ब्राजिलमा जारी कोपा अमेरिकाको क्‍वार्टरफाइनल समिकरण पूरा भएको छ । दक्षिण अमेरिकाको सर्वोच्च प्रतियोगितामा सहभागी १० मध्ये आठ टिम नकआउट चरणमा पुगेका छन् । एकै खेल पनि नजित्ने बोलिभिया र भेनेजुएला कोपाबाट बाहिरिएका छन् ।

कोपा समूह चरणको अन्तिम दिनका खेलहरूमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ ले हरायो भने उरुग्वेलेले पारोग्वेमाथि १-० को संर्घषपूर्ण जित हासिल गर्‍यो । त्यसअघिका दुई खेलमा आयोजक ब्राजिलले इक्‍वेडरसँग १-१ को बराबरी खेल्दा पेरुले भेनेजुएलालाई १-० ले पन्छायो ।


समूह चरण सकिँदा, अर्जेन्टिना समूह ‘ए’ को विजेता बन्यो । सो समूहबाट क्‍वार्टरफाइनल प्रवेश गर्ने अन्य तीन टिम उरुग्वे, पाराग्वे र चिली रहे । समूह ‘बी’ बाट भने ब्रजिल समूह विजेता बन्दै अन्तिम आठमा पुग्यो भने पेरु, कोलम्बिया र इक्‍वेडरले पनि क्‍वार्टरफाइनलमा आ-आफ्ना स्थान पक्का गरे ।

कोपाका क्‍वार्टरफाइनल खेलहरू शनिबार बिहानबाट सुरु हुँदैछन् । पहिलो दिनको खेलमा पेरुले पाराग्वेको सामना गर्दैछ भने दोस्रो खेलमा ब्राजिल र चिली भिड्नेछन् । त्यसैगरी दोस्रो दिनको खेलमा उरुग्वेले कोलम्बियाको चुनौतीको सामना गर्नेछ भने दोस्रो खेलमा अर्जेन्टिना र इक्‍वेडर खेल्नेछन् ।

पेरुको तारिफयोग्य प्रदर्शन  
जारी कोपामा ब्राजिल र अर्जेन्टिना अपराजित छन् । जुन स्वभाविक हो । प्रतियोगितामा अस्वभाविक प्रदर्शन गर्ने टिम पेरु बनेको छ । पेरुले नसोचेको खेल देखाएको छ । आफूभन्दा बलियो कोलम्बियालाई हराएको छ । त्यस्तै भेनुएलामाथि जित दर्ता गरेको छ भने इक्‍वेडरसँग बराबरी खेलेको छ ।

पेरुको सफलतालाई उल्लेख गर्दा छुटाउनै नसकिने नाम हो, रिकार्डो गारेका । जसले फेब्रुअरी, २०१५ देखि पेरुको जिम्मेवारी सम्हालिरहेका छन् । सन् २०१६ मा अमेरिकामा भएको कोपा अमेरिका सेन्टेनारियो गारेकाका लागि पहिलो परीक्षा थियो । जसमा पेरुले क्‍वार्टरफाइनलसम्मको यात्रा गर्‍यो । त्यसैबेलादेखि गारेकाले पेरुको टिममा परिवर्तन ल्याउन सुरु गरे । नतिजास्वरुप पेरु रुस विश्वकपका लागि छनौट भयो । जुन पेरुका लागि सन् १९८२ यताकै पहिलो विश्वकप छनौट थियो । 

पेरुको सफलता त्यतिमै रोकिएन । सन् २०१९ को कोपामा त पेरु फाइनलनै पुग्यो । उपाधि भिडन्तमा ब्राजिलसँग ३-१ ले हारेपनि पेरुको तारिफ सबैले गरे । पेरुमा अन्य दक्षिण अमेरिकी टिममा जस्तो विश्वस्तरिय वा स्टार मानिएका खेलाडी छैनन् । यदि पेरुको टिममा साँच्चैको स्टार कोही छ, भने ती खेलाडी कप्तान पाओलो गुररेरो हुन् । तर ३७ वर्षीय स्ट्राइकरले घुँडाको चोटका कारण जारी कोपामा भाग लिएका छैनन् ।

सन् २०१९ को कोपामा त पेरु फाइनलनै पुग्यो । उपाधि भिडन्तमा ब्राजिलसँग ३-१ ले हारेपनि पेरुको तारिफ सबैले गरे । पेरुमा अन्य दक्षिण अमेरिकी टिममा जस्तो विश्वस्तरिय वा स्टार मानिएका खेलाडी छैनन् । यदि पेरुको टिममा साँच्चैको स्टार कोही छ, भने ती खेलाडी कप्तान पाओलो गुररेरो हुन् । तर ३७ वर्षिय स्ट्राइकरले घुँडाको चोटका कारण जारी कोपामा भाग लिएका छैनन् ।

गुरेरोको स्थान जियानलुका लापाडुलाले लिएका छन् । इटालीमा जन्मेका लापाडुलाले नोभेम्बर, २०२० बाट पेरुबाट खेल्ने निधो गरेका थिए । इटालीको रिजर्भ टिमबाट एक खेल खेलेको लापाडुलाले सिनियर टिममा कहिले पनि मौका पाएनन् । त्यसकारण उनले ३१ वर्षको उमेरमा आमाको जन्मभूमिबाट खेल्ने निर्णय गरे । 

गारेकाले पेरुको राष्ट्रिय टिमलाई बलियो बनाउने प्रयास जारी राखे पनि उनले भनेजस्तो प्रतिभाहरूसँग काम गर्न पाएका छैनन् । पेरुको घरेलु लिग कमजोर अवस्थामा छ । पछिल्ला ११ सिजनमध्ये १० मा पेरुका कुनै पनि क्लब कोपा लिबेरटाडोरेसको क्‍वार्टरफाइनल पुग्‍न सकेका छैनन् । कोपा लिबेरटाडोरेस दक्षिण अमेरिकी क्लब फुटबलको माथिल्लो श्रेणीको प्रतियोगिता हो । 

सान जोसे एर्थक्‍वेक्सका लेफ्ट ब्याक मार्कस लोपेज र मार्टिन टाभाराले लिबेरटाडोरेसका केही खेलमा राम्रो प्रदर्शन गरेपनि उनीहरू पेरुको टिमको जग बनिसकेका छैनन् । उसो त गारेकाले मौका दिएका अन्य युवा खेलाडीले पनि सोचे अनुरुपको खेल देखाउन सकेका छैनन् । त्यसकारण, गारेकाको भरोसा पाका खेलाडीहरूमाथि नै छ ।  

पेरु, ब्राजिल वा अर्जेन्टिनाको स्तरमा पुगिसकेको भन्ने होइन । गत जुनमा मात्रै पनि पेरु विश्वकप छनौटमा कोलम्बियासँग ३-० ले पराजित भएको थियो । अनि कोपाको पहिलो खेलमा ब्राजिलसँग पनि निरिह बन्यो । तर त्यसपछिका खेलमा पेरुको प्रदर्शन लोभलाग्दो छ । गारेका आफ्नो टिमलाई रक्षात्मकरुपमा स्थिर राख्‍ने प्रयास गर्छन् । बलियो टिमसँग भिड्दा पेरुको रणनीति काउन्टर एट्याक नै हो । जसमा लापाडुलाको भूमिका महत्वपूर्ण रहन्छ । उनलाई सघाउन आन्द्रे कारिलो र क्रिस्टियन कुएभ विपक्षीको क्षेत्रमा पुगिसकेका हुनछन् । यी तीन खेलाडीको साझेदारी पेरुको मेरुदण्ड हो । भलै पेरुका लागि अझै धेरै उच्च स्तरिय खेलाडीहरूको आवश्यकता छ । 

गारेकाको नेतृत्वमा अहिलेको पेरुले कति टाढासम्मको यात्रा गर्नसक्छ ? प्रश्न उठ्छ । यस प्रश्नको उत्तर खोज्दै गर्दा विश्वकप छनौटमा पेरुको प्रदर्शनबारेमा उल्लेख गर्नु बाञ्छनिय हुन्छ । विश्वकप छनौटमा पेरु दक्षिण अमेरिकी टिमहरूमध्ये अन्तिम स्थानमा छ । यस्तोमा गारेकाले कोपामा गतिलो नतिजा निकालेर विश्वकप छनौटमा नयाँ सुरुवात गर्न चाहन्छन् । तर फेरि पनि प्रश्न उही । सीमित स्रोत साधनको उपलब्धता र औसत खेलाडीको उपयोग गरी गारेसाले पेरुलाई कतार पुर्‍याउलान् ?   


Author

थप समाचार
x