फिचर

आधुनिक जर्मन फुटबल कोचिङका ‘गडफादर’ राल्फ राग्‍निक र उनले लोकप्रिय बनाएको ‘गेगेनप्रेसिङ'

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १४:४३ बजे

काठमाडौँ‍- राल्फ राग्‍निक म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्ने भएका छन् । यसको आधिकारिक घोषणा नभइसके पनि बेलायती सञ्चार माध्यमहरूले राग्‍निकले युनाइटेडको जिम्मेवारी लिने पक्का भइसकेको लेखेका छन् । ओले गनर सोल्स्यार हटेपछि युनाइटेड नयाँ प्रशिक्षकको खोजीमा रहँदै आएको थियो । यस्तोमा ६३ वर्षीय राग्‍निक युनाइटेडको रोजाइमा परेका हुन् । 

राग्‍निक हाल रुसी क्लब लोकोमोटिभ मस्कोमा ‘स्पोट्र्स एन्ड डेभलपमेन्ट’ प्रमुखका रुपमा कार्यरत छन् । राग्‍निकले ६ महिनाका लागि युनाइटेडको प्रशिक्षण सम्हाल्ने र त्यसपछि दुई वर्षसम्म कन्सलटेन्टका रुपमा रहने दी एथ्लेटिकले लेखेको छ । 


इंग्लिस प्रिमियर लिगमा युनाइटेडले यो सप्ताहन्त चेल्सीको सामना गर्दैछ । यो खेलका लागि भने राग्‍निक उपलब्ध हुने छैनन् । किनभने त्यसबेला उनले बेलायतको वर्क पर्मिट पाउने सम्भावना कम छ । 

राग्‍निक युरोपियन क्लब फुटबलमा परिचित नाम हुन् । उनलाई जर्मनीमा आधुनिक फुटबल प्रशिक्षणको ‘गडफादर’ पनि भनिन्छ । पछिल्लो समय उनले आरबी साल्जबर्ग र आरबी लाइपजिगमा गरेको कामको सर्वत्र प्रशंसा भएको थियो । रेडबुल समूहको स्वामित्वमा रहेका यी दुई क्लबमा राग्‍निकले युवा खेलाडीलाई मौका दिने, विश्वभरबाट प्रतिभाशाली खेलाडी ल्याउने, स्काउटिङ व्यवस्थित बनाउने जस्ता कार्य गरेका थिए । साल्जबर्ग हाल अस्ट्रियाकै सर्वाधिक बलियो क्लबका रुपमा स्थापित भएको छ भने जर्मन बुन्डेसलिगामा खेल्ने लाइपजिग निरन्तर च्याम्पियन्स लिगमा छनौट भइरहेको छ । 

राग्‍निक प्रशिक्षक र प्राविधिक निर्देशकको भूमिकामा उत्तिकै प्रभावकारी देखिँदै आएका छन् । उनी सन् १९८५/८६ सिजनमा पहिलो पटक प्रशिक्षक बने । जर्मन बुन्डेसलिगा खेल्ने स्टुटगार्टको रिजर्भ टिम सम्हालेका उनी त्यही क्लबको एकेडेमी प्रशिक्षक र निर्देशक पनि बने । सन् ९० को दशकको अन्त्यमा उनी स्टुटगार्टकै सिनियर टिमको प्रशिक्षक बनेका थिए । 

त्यसपछि हानओभर हुँदै सन् २००४ मा उनी जर्मनीकै ठूलो क्लबमध्येको एक साल्का पुगे । साल्कामा उनी फरक फरक समयमा दुई पटक प्रशिक्षक बने । त्यहाँ उनलृ डीएफबी पोकल लगायतका तीन घरेलु कप जिते । अनि बुन्डेसलिगा उप–विजेता पनि बने । त्यसपछि राग्‍निक सन् २००६ देखि २०११ सम्म होफाइनहामको प्रशिक्षक बने । 

सन् २०१२ मा राग्‍निक लाइपजिगको ‘स्पोर्टिङ’ निर्देशक बने । एक सिजनका लागि उनले प्रशिक्षणको जिम्मेवारी पनि सम्हाले । उनले सन् २०१६ मा लाइपजिग छाडे तर दुई वर्षपछि नै प्रशिक्षक बनेर फर्किए । त्यसपछि उनी रेडबुलको स्वामित्वमा रहेका सबै क्लबका लागि निर्देशक बने । यो जिम्मेवारीबाट उनी जुलाई, २०२० मा अलग भए । केही समयको विश्रामपछि उनी रुसतर्फ लागेका हुन् । त्यहाँबाट उनी अब म्यानचेस्टर पुग्ने तरखरमा छन् ।  

गेगेनप्रेसिङ  

फुटबलमा प्रेसिङको विकास सन् १९६० को दशकमा तत्कालिन सोभियत संघ र दी नेदरल्यान्ड्समा भएको हो । फुटबलको भाषामा प्रेसिङ भनेको बललाई नियन्त्रणमा राखिरहेको विपक्षी खेलाडीलाई प्रेस गर्ने र उबाट बल खोस्ने प्रयत्न गर्ने नै हो । गेगेनप्रेसिङको सिद्वान्त भनेको बल गुमाउन साथ तत्कालै विपक्षीबाट बल खोस्न प्रयन्त गर्नु हो । भर्खरै बल खोसेको विपक्षी खेलाडीले बललाई कुन दिशातर्फ वा आफ्नो कुन चाहिँ साथी खेलाडीलाई पास गर्ने भन्ने बारे निर्णय लिनुअघि उसलाई प्रेस गरेर बल फिर्ता गर्ने प्रयास गर्नु नै गेगेनप्रेसिङ हो । 

गेगेनप्रेसिङ आफैँमा नयाँ सिद्वान्त होइन । तर यो परिस्कृत हुँदै आएको छ । सन् १९८० को दशकमा इंग्ल्यान्ड तथा स्कान्डेभियन देशहरुमा यो शैलीको व्यापक प्रयोग भएको पाइन्छ । यही शैलीलाई राग्‍निकले जर्मनीमा पनि लोकप्रिय बनाएका हुन् । साल्का र होफाइनमा प्रशिक्षक छँदा उनले गेगेनप्रेसिङलाई परिस्कृत गर्दै प्रयोग गरेका थिए । उनले यही शैली रेडबुलको स्वामित्वमा रहेका क्लबहरूमा पनि प्रयोग गरे । आज युरोपियन क्लब फुटबलमा स्थापित कयौँ प्रशिक्षकले गेगेनप्रेसिङलाई आफ्नो खेल शैली बनाएका छन् । यी प्रशिक्षक आफूहरू राग्‍निकबाट प्रभावित भएको बताउँछन् ।  

हुन त सबै टिमको गेगेनप्रेस गर्ने तरिका एउटै हुँदैन । युप हायंकसको प्रशिक्षणमा रहेका बायर्न म्युनिखको गेगनप्रेस केही फरक थियो । बललाई नियन्त्रणमा राखेका विपक्षी खेलाडीलाई प्रेस गर्न एक खेलाडी जाँदा अन्य खेलाडी भने ती विपक्षी खेलाडीले पास दिनसक्ने अन्य खेलाडीलाई मार्क गर्थे । 

उता योर्गन क्लपको शैलीमा भने बल नियन्त्रणमा राखेका विपक्षी खेलाडीलाई एकै समयमा दुई वा तीन खेलाडीले प्रेस गर्ने गर्छन् । उता पेप ग्वािर्डओलाको शैलीमा भने विपक्षी खेलाडीलाई प्रेस गर्ने र उसले पास गर्नसक्ने क्षेत्र र पास रिसिभ गर्नसक्ने खेलाडीलाई पनि मार्क गर्ने प्रयास गरिन्छ । 

ओले गनर सोल्स्यारको प्रशिक्षणमा खेल्दा युनाइटेडले कुनै एक शैलीलाई आफ्नो बनाउन नसकेको आरोप लगाइयो । युनाइटेडमा विश्वस्तरीय खेलाडीहरू भए पनि सोल्स्यारले व्यवस्थित संरचनामा फुटबल खेलाउन नसकेको भन्दै आलोचना भयो । यसकारण राग्‍निकको आगमनपछि युनाइटेडले एउटा निश्चित शैलीमा खेल्न सुरु गर्ने अनुमान गरिएको छ । 


Author

थप समाचार
x