फिचर

युनाइटेडको जिम्मेवारी लिन किन तयार छैनन् युवा प्रशिक्षकहरू ?

इकागज |
पुस २१, २०७८ बुधवार १८:१४ बजे

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भरह्याम्पटनसँग हार बेहोर्‍यो । हारका कारण निराश बनेका युनाइटेड समर्थकले प्रशिक्षक राल्फ राग्निकको विरुद्ध होहल्ला गरे । युनाइटेडका समर्थकले यसअघिका दुई प्रशिक्षकविरुद्ध यसो गरेका थिएनन् । जबकि जोसे मौउरिन्हो र ओले गनर सोल्स्यारको प्रशिक्षणमा पनि युनाइटेड साना मानिने टिमसँग कयौँ खेलमा पराजित भएका थिए । 

राग्निकले म्यासन ग्रिनउडलाई दोस्रो हाफमा परिवर्तन गरेपछि युनाइटेड समर्थक रिसाएका थिए । ग्रिनउडको स्थानमा बु्रनो फर्नान्डेज मैदान प्रवेश गर्दै गर्दा युनाइटेड समर्थकले होहल्ला गरेका थिए । हुन त युनाइटेडका समर्थक यो एउटा निर्णयका कारण मात्रै राग्निकको विरोधमा उत्रेका होइनन् । बरु युनाइटेडको वर्तमान लयमा सुधार ल्याउन नसकेको भनेर राग्निकप्रति उनीहरुले आक्रोश पोखिरहेका हुन् । 


राग्निक युनाइटेडका कामचलाउ प्रशिक्षक हुन् । गत नोभेम्बरमा सोल्स्यार बर्खास्तमा परेपछि जर्मनीका राग्निकलाई ६ महिनाका लागि प्रशिक्षक बनाइएको हो । तर उनको नेतृत्वमा युनाइटेडले अपेक्षा गरे अनुसारको खेल्न सकिरहेको छैन । यसको उदाहरण, सोमबार ओल्ड ट्राफोर्डमा भएको खेल हो । जहाँ उल्भरह्याम्पटनले ४० वर्षपछि पहिलो जित दर्ता गर्न सफल भयो । 

राग्निकको प्रशिक्षणमा युनाइटेडले पाँच लिग खेल खेलेको छ । उल्भरह्याम्पटनविरुद्धको हार राग्निकका लागि युनाइटेडको प्रशिक्षकको हैसियातमा पहिलो हार थियो । नतिजाका हिसाबले सन्तोक मान्न सकिने ठाउँ भएपनि प्रदर्शनलाई विश्लेषण गर्ने हो भने युनाइटेड निरश देखिएको छ । जबकि राग्निकको परिचय सुन्दर फुटबलसँग जोडिँदै आएको छ । 

राग्निकलाई ६ महिनाका लागि प्रशिक्षक नियुक्त गरिएको भए पनि त्यसपछिका दुई वर्ष उनी युनाइटेडमै रहने छन् । उनले कन्सल्ट्यान्टको भूमिका निर्वाह गर्नेछन् । उसो त युनाइटेडको उदेश्य राग्निकको सहयोगमा युवा प्रशिक्षक उत्पादन गर्ने हो । तर राग्निकसँग प्रशिक्षण सिक्नका लागि माइकल क्यारिक छैनन् र रग्निकको युनाइटेड आगमनसँगै उनले क्लब छाडेका थिए । क्यारिकसँगै सोल्स्यारको प्रशिक्षण टिममा रहेका केइरन म्याकेन्ना पनि युनाइटेडमा बसेनन् । यस्तोमा राग्निकले आफ्ना सहायक बनाएर क्रिस अर्मासलाई ल्याएका छन् । जो अमेरिकी क्लब न्युयोर्क रेडबुल्समा थिए । 

यो सिजनको अन्त्यमा राग्निकले युनाइटेडका लागि नयाँ प्रशिक्षक नियुक्त गर्नु पर्नेछ । किनभने युनाइटेडमा उनलाई बृहत अधिकार र भूमिका दिइएको छ । तर समर्थकसँगको सम्बन्ध यसरी नै बिग्रदै जाने हो भने राग्निकले आफ्नो जिम्मेवारी कसरी पूरा गर्लान् भन्ने प्रश्न उठ्न थालेको छ । 

युनाइटेडको टिममा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता छ । मौउरिन्हो र सोल्स्यार प्रशिक्षक हुँदादेखि नै यसो भनिँदै आइएको हो । त्यसैबीचमा प्रशिक्षक पनि परिवर्तन गरियो । गत महिना ओल्ड ट्राफोर्ड पुगेका राग्निकले चलाखीपूर्वक नयाँ खेलाडी अनुबन्धन गर्ने अपेक्षा गरिएको छ । अनि नयाँ प्रशिक्षक भित्र्याउने जिम्मेवारी त छँदैछ । 

पछिल्लो समय युनाइटेडसँग केही प्रशिक्षक जोडिएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का माउरिसियो पोचेटिनो र आयाक्सका एरिक टेन हागलाई युनाइटेडको सम्भावित प्रशिक्षकका रुपमा हेरिएको छ । तर के यी प्रशिक्षकहरू युनाइटेड आउन तयार छन् ? यो प्रश्न किन पनि सोधिन्छ भने युनाइटेडमा प्रशिक्षकबाट ठूलो अपेक्षा राखिन्छ । यसकारण यो क्लबको जिम्मेवारी बहन गर्ने प्रशिक्षक निकै दबाब महशुस गर्छन् । अनि अर्को प्रश्न पनि उठ्छ, के युनाइटेड नयाँ प्रशिक्षकलाई सफल हुन पर्याप्त समय दिन तयार छ ? 

उसै पनि युनाइटेड असाध्यै दबाबमा छ । किनभने उसको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी र पारम्पारिक प्रतिद्वन्द्वी लिभरपुल इंग्लिस फुटबलमा बलिया बनेका छन् । यी दुई क्लबसँगै चेल्सीसँग पनि प्रतिस्पर्धा गर्नुछ, युनाइटेडलाई । तर युनाइटेड आफैँमा आर्थिकरुपमा समृद्ध क्लब हो । नयाँ खेलाडी खरिद गर्ने र उनीहरूले मागेजति तलब दिने मामलामा युनाइटेड लोभ गर्दैन । यसो भएपछि युनाइटेडले स्वभाविक अपेक्षा राख्छ, उपाधि । 

सिटी, लिभरपुल र चेल्सीजस्ता टिमलाई उछिनेर उपाधि जित्न युनाइटेडका लागि उति सजिलो छैन । यद्यपि असम्भव भने छैन । तर यसका लागि युनाइटेडमा विद्यमान रहेका समस्या भने सुल्झ्याउन आवश्यक छ । 
 


Author

थप समाचार
x