नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

कृषि फार्मबाट माओवादी महाधिवेशन मन्थन गरिरहेका पूर्वलडाकू

अनिष भट्टराई |
पुस १३, २०७८ मंगलबार १७:१२ बजे

काठमाडौँ- पर्वतका नवीन पुन अहिले ४१ वर्षका भए । उनको एसएलसी परीक्षा ताका गाउँगाउँमा माओवादी जनयुद्धको लहर चलेको थियो । गरीब, उत्पीडित र पिछडा वर्गको उन्मुक्ति, देशको आर्थिक–सामाजिक रूपान्तरण र समानता तथा समावेशीताका चर्का नाराका कारण उनी भूमिगत युद्ध लडिरहेको माओवादीसँग आकर्षित भएर २०५४ मा माओवादी प्रवेश गरे । 

अखिल क्रान्तिकारी प्रवेश गरेर उनी औपचारिक रुपमा माओवादी आन्दोलनसँग जोडिए । ‘गरिब, उत्पीडित जाती, वर्गका मानिसलाई माथि उठाउँछ, हकहित, सामाजिक न्यायका लागि लड्ने पार्टी हो भनेर गाउँमा प्रचारप्रसार गरिएपछि माओवादीसँग जोडिएँ,’ नवीन सम्झन्छन् । 


नवीन पनि अरु माओवादी नेता–कार्यकर्ताझैं भूमिगत बने । उनलाई पूर्वमा खटाइएको थियो । इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर उनको क्षेत्र थियो । आमाबुबाको छत्रछायाँमा बसेका नवीन एकाएक जंगल पस्दा केही समय ‘होम–सिक’ पनि भए । तर माओवादीमा उनलाई जुन ‘स्कुलिङ’ दिइयो, त्यसले माओवादी आन्दोलनमा जोडिनुमा गर्व लाग्यो । जंगलमै उनले पहिलो पटक माक्र्सबारे थाहा पाए । पहिलो पटक साम्यवाद, समाजवाद बारे थाहा पाए । सुरुका केही महिना उनलाई प्रशिक्षणमै राखियो । किताबहरू पढ्न लगाइयो । 

उनी सम्झन्छन्, पहिलो पटक युद्धमा होमिएको । पहिलो पटक बन्दुक उठाएको । ‘फायरिङ’ गरेको । नवीनलाई त्यसबेला युद्ध लड्नु जत्तिको रोमाञ्चक केही लागेन । भन्छन्, ‘मर्न-मार्न नै किन नपरोस्, हामी देश, जनताको लागि बलिदानी दिन गएका थियौं । सामन्ती वर्गको पोस्ट, क्याम्प ढाल्न जाँदै छौं भन्ने उत्साह हुन्थ्यो । लड्न नपाउँदा रुन्थ्यौं, कराउँथ्यौं ।’

जनयुद्ध सोचेजति रोमाञ्चक पनि थिएन । निर्दोष नेपालीले पनि ज्यान गुमाए । जोर बन्दुकको मारमा दम तोड्न बाध्य पारिए । नवीन आफैंले पनि तीन वर्षको अन्तरमा दुई ठूला वियोग खेप्नु पर्यो । नेपाली सेनाले माओवादीलाई आक्रमण गर्न ‘ग्रिनेड’ प्रहार गर्दा त्यसको छर्रा शरीरभरी लाग्यो । छर्रा त लाग्यो, लाग्यो उनले त्यस भीडन्तमा आफ्नो दाहिने आँखाको ज्योति गुमाए । 

२०५८ मा दाहिने आँखाको ज्योति गुमाएका उनले २०६१ मा प्रेमिका पनि गुमाउनुपर्‍याे । त्यसपछि भने उनको जीवन नै बेरङ्ग बनेको भान भयो नवीनलाई । ‘बिहे गर्ने निश्चित भइसकेको थियो । तर इलामको मोर्चामा उनको गोली लागेर मृत्यु भयो । २ महिना जति म अचेत बनें,’ नवीन सम्झन्छन् । 

शान्ति सम्झौतापछि नवीन गाउँ फर्के । घर पुगेपछि उनले अर्को वियोग खेपे । उनका भाइको मृत्यु भइसकेको खबर पाए । घर छाडेर गएको भाइ नवीन घर फर्कंदा परलोक लागि सकेका रहेछन् । ‘११ वर्षको उमेरमा भाइ बितेछ । के भएर बित्यो थाहा पनि पाइनँ । घर फर्कंदा झनै ठूलो वियोग खेपें,’ नवीन भावुक सुनिए । 

युद्धमा जेका लागि घर, परिवार त्यागे; जो नेताका निष्ठा ठानेर त्यसका लागि ज्यानको बाजी थापे अहिले पूरा नभएको उनको ठम्याइँ छ । भलै उनलाई जनयुद्ध लडेको कुनै पछुतो छैन । पछुतो छ त गलत नेताबाट निर्देशित हुनुमा । ‘होला व्यक्तिगत रुपमा पैसा कमाउन सकिएन, केही लाभ लिन सकिएन तर राजनीतिक परिवर्तनका लागि राम्रो काम गरें भन्ने लाग्छ । त्यसको स्वामित्व लिन पाउनुमा गर्व छ,’ नवीनले सुनाए । 

अहिले उनी यदाकदा सुन्छन्, ‘जनयुद्ध गलत थियो । जनयुद्धले नेपाललाई एक दशक पछाडि पार्‍यो ।’ तर नवीनको बुझाइ फरक छ । उनलाई लाग्छ, जनयुद्ध र यसका उद्देश्य आफैंमा गलत थिएनन् । नेताहरूको सत्तालोलुपता र पाखण्डले अहिले जनयुद्ध र यसका उद्देश्यमाथि प्रश्न तेर्‍स्‍याएको उनको बुझाइ छ । ‘जनयुद्ध आधारभूत रूपमा गलत थिएन । अहिले गलत हो कि भन्ने संशय आएको नेताहरूमा छाएको स्खलनले हो । राजनीतिक विचलनले हो,’ उनले भने, ‘जे हाम्रो सपना हो, त्यो सपना पूरा गर्न सत्ताशक्तिको गुलियोपन त्याग्न सक्नुपथ्र्यो । सर्वहारा वर्गबारे फलाक्दा–फलाक्दै पुँजीवादी बने ।’

उनको बुझाइमा माओवादी नेतृत्वले आफूमा प्राप्त कार्यभारलाई सत्तामा उक्लेसँगै चटक्कै छोडिदियो र जनयुद्धप्रति नै आम मानिसको गलत बुझाइ तिनकै अनुहारले सिर्जना गरेको हो । 

तर माओवादी आन्दोलनले देशमा राज्यव्यवस्था परिवर्तन भयो । माओवादीले बोकेका उद्देश्य पनि पूरा भएकै हुन् तर तिनमा अहिले माओवादी नेतृत्व नै अडिग छैन । माओवादी नेतृत्वको पतन देखेर नै नवीनले पार्टी छाडे । अहिले उनले पार्टी परित्याग गरेको आठ वर्ष पुग्यो । उनी अहिले आफूलाई स्वतन्त्र नागरिक बताउँछन् । ‘उत्पीडित जाति, वर्ग, क्षेत्रको पार्टी भन्ने, सर्वहाराको दल भन्ने तर व्यवहारतः त्यसो नभएपछि पार्टी छाडें, अहिले स्वतन्त्र नागरिक हुँ,’ नवीनले बताए । नवीनले जनयुद्धबाट व्यक्तिगत रूपमा पाए त केबल छर्रा उपहार, आधा अँध्यारो संसार र वियोगको हाँसो । 

माओवादी परित्याग गरेपछि नवीन पर्वतमै व्यवसाय गरेर बसेका छन् । उनले ३० वटा माउ बंगुर पालेका छन् । फार्म बनाउन २० लाख रुपैयाँ लगानी गरेको बताउँछन् । एक सय माउ बंगुर अट्ने गरी फार्म बनाउनका लागि पूर्वाधार तयार गरिरहेका छन् । घरपरिवार पनि पालेका छन्, आफू पनि खुसी छन् । ‘बन्दुक बोकेर निश्चित नेतालाई भर्‍याङ चढाइयो मात्रै । कृषिमा लागेर घरको अवस्था उकासिरहेको छु, अब राजनीतिमा लाग्दिनँ, कृषिमै रमाउने हो,’ नवीनले दृढता मिसिएको स्वरमा भने । 

पूर्वलडाकू नवीन आफ्नो फार्ममा बसेर माओवादी महाधिवेशन मन्थन गरिरहेका छन् । ‘महान तथा गौरवशाली जनयुद्ध’ गरेको माओवादीको आठौं महाधिवेशन जारी छ । महाधिवेशनमा ‘सर्वहारा, गरिब, उत्पीडित’ जनताका पक्षमा भाषणबाजी सहित आफूहरू जनपक्षीय काम गर्न चुकेको समीक्षा नेताहरू नै गरिरहेका छन् । 

महाधिवेशनमा पार्टी अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी राजनीति, आगामी कार्यदिशा, राष्ट्रिय राजनीति, समाजवादको लक्ष्यदेखि जलवायु परिवर्तनसम्मका एजेन्डा मिसाएर प्रतिवेदन सार्वजनिक गरेका छन् । 

नवीन भने प्रचण्डको प्रतिवेदन फेरि पनि कार्यकर्ता र पार्टीकै ‘बौद्धिक’ भनिएका नेता झुक्काउन ल्याइएको कागजी खोस्टा भएको ठान्छन् । ‘यस्ता कागजी खोस्टा हिजोका दिनमा नआएका होइनन्, के हिजो ती कुरा समेटेर ल्याएपछि भने अनुरूप गरे ? नेता कार्यकर्ता झुक्काउने खेलमात्रै हो,’ नवीनले भने । 

प्रचण्ड खुला राजनीतिमा आएपछि जनयुद्धका घाइते, अपाङ्ग, सहिदका बारेमा सोच्नै छाडेको नवीनको टिप्पणी छ । प्रचण्डले अकन्टक पार्टी हडपेर बसेको र माओवादी आन्दोलनलाई झन्झन् कमजोर बनाइरहेको उनको आरोप छ । ‘अहिले आफू संरक्षक बसेर नयाँ नेतृत्व ल्याइदिन सक्नुपथ्र्यो । फेरि पनि आफैं अध्यक्ष बन्ने रे ! यस्तो व्यक्तिवादी चरित्रले माओवादी आन्दोलन झनै आलोचित बन्छ,’ नवीनले दुखित मुद्रामा भने । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x