मनमाेहन मीमांसा

मनमाेहन मीमांसा-४

प्रधानमन्त्री मनमोहन अधिकारीको सल्लाहकार बन्दा...

ईश्वर पोखरेल |
बैशाख १३, २०७८ सोमबार १५:२५ बजे

नेपाली कम्युनिस्ट आन्दोलनमा क्रियाशील ‘नेपाल कम्युनिस्ट पार्टी (मार्क्‍सवादी)’ र ‘नेपाल कम्युनिस्ट पार्टी (मार्क्‍सवादी–लेनिनवादी)’ को औपचारिक एकीकरणपछि कम्युनिस्ट आन्दोलनमा इतिहास र ऊर्जाको सम्मिलन भएको टिप्पणी राजनीतिक क्षेत्रमा गरिएको थियो । यो २०४७ पुसको कुरा थियो । त्यसबेला ‘मार्क्‍सवादी’लाई मनमोहन अधिकारीले नेतृत्व गरिरहनुभएको थियो र ‘मार्क्‍सवादी–लेनिनवादी’को नेतृत्वमा मदन भण्डारी हुनुहुन्थ्यो ।

त्यो एकीकरण ऐतिहासिक थियो । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई मूलतः एकीकृत गरेको थियो । अलग–अलग धारबाट अगाडि बढ्दै आएका दुई छुट्टाछुट्टै समूहबीचको एकताले परिवर्तन चाहने आम न्यायप्रेमी जनतामा उत्साह र आशाको किरण छरेको मात्र थिएन, आफ्नो आन्तरिक जीवनलाई साँचो अर्थमा सम्मिलन गराउने व्यावहारिक कठिनाइ पनि भोग्दै थियो ।


एकीकृत भइसकेको पार्टी जीवनमा सहजताका मुनाहरू पलाउन समय लाग्ने कुरा स्वाभाविक थियो । असहजताले नेतृत्व पंक्तिलाई केही गम्भीर बनाएको थियो र त्यसको घोचाइका दुःखाइहरू पनि सहिरहनुपरेको थियो । नेतृत्वमा रहनुभएका मनमोहन अधिकारी स्वयं यस किसिमको अनुभव गरिरहनुभएको थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनभित्रका पृथक् पृथक् धारालाई प्रतिनिधित्व गर्ने दुई छुट्टाछुट्टै समूह आ–आफ्ना ‘स्कुलिङ’का कारण एकीकरणको ऐतिहासिक कामलाई सहज र उपलब्धिपूर्ण बनाउने काममा जुटेका थिए । मनमोहन अधिकारी यो काममा उदाहरणीय बनेर उभिनुभएको थियो । 

पार्टी एकीकरणको लगत्तैपछि मदन भण्डारीका साथमा मनमोहन अधिकारी एकीकरणको सन्देश लिएर देशव्यापी दौडाहामा निस्कनुभयो । आफ्नो वृद्ध शरीरलाई लिएर उहाँ कैयौँ दिनको यात्रामा निस्कनुभएको थियो । यो यात्राबाट फर्केपछि एक दिन उहाँले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले बुझ्दै गरेको अनुभव सुनाउनुभएको थियो ।

मनमोहन अधिकारीको स्वभाव मलाई त्यसबेला विशेष अचम्मको लाग्यो । उहाँ मुलुककै पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री बने लगत्तै मेरो डेरामा आउनुभयो । त्यसबेला मलाई केही अचम्म र केही अस्वाभाविक पनि लाग्यो । उहाँले आएर मेरो हात समाउँदै आफ्नो राजनीतिक सल्लाहकार बनिदिन आग्रह गर्नुभयो । उहाँको प्रस्ताव सुनेर मलाई त त्यसबेला के बोलूँ–के भनूँ जस्तो भएको थियो । त्यसबेला मलाई लाग्यो, मनमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको एउटा जीवित इतिहास, समृद्ध अनुभवका धनी, उमेर र अनुभवले मेरो पितातुल्य व्यक्ति आफ्नो राजनीतिक सल्लाहकार बनिदिन आग्रह गरिरहनुभएको छ, त्यसबेला म के भन्न सक्थेँ, के बोल्न सक्थेँ !

मनमोहनले मेरो हात समाएर, मेरा आँखामा हेर्दै भन्नुभएको थियो, ‘हेर्नुस् म बूढो मान्छे, खास केही गर्न सक्तिनँ, चलाउने तपाईंहरूजस्ता नौजवानले हो, कृपया म बूढालाई सघाइदिनुस् ।’

मैले तत्कालै त केही भन्न सकिनँ । त्यतिबेला जब मैले आफ्नो अनुहार उठाएर हेरें, मेरो दिवङ्गत पिताको धमिलो अनुहार मेरो आँखा अगाडि नाच्न थाल्यो ।
लाग्यो, अजङ्गको भारी बोक्दै गरेका मेरा वृद्ध पिता मसित सहयोगका लागि माग गरिरहनुभएको छ । मैले त्यसबेला जवाफ दिएँ, कामको त्यो फिल्डमा मेरो खास अनुभव त छैन, तर म तपाईंलाई सघाउँछु ।

मैले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार भएर के गर्ने ? खास केही कुरा थाहा थिएन । २–४ दिन त मलाई के गर्ने, कसो गर्ने भई नै रह्यो । अफिस जान थालेपछि प्रधानमन्त्री कार्यालयलाई व्यवस्थित बनाउन विगतमा के–के काम भएका रहेछन्– के कस्ता योजना बनाइएका रहेछन् ? अभिलेखहरू–दस्तावेजहरू के–के रहेछन् ? भनेर खोतलखातल गर्न झन्डै एक हप्ता जति लगाएँ ।

प्राप्त भएका ती सामग्रीहरूका आधारमा मैले एउटा लिखत तयार पारे र त्यही लिखत–योजना प्रधानमन्त्री मनमोहन अधिकारीलाई देखाए । वास्तवमा त्यो लिखत मैले सल्लाहकार भएर गर्ने कामको मोटामोटी रूपरेखा पनि थियो ।

प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद् सचिवालयलाई व्यवस्थित बनाउने सम्बन्धमा, प्रधानमन्त्रीद्वारा दैनन्दिन गरिने कामका सम्बन्धमा, विभिन्न विषय–विज्ञहरूको सहयोग जुटाउने सम्बन्धमा र प्रधानमन्त्रीले गर्नुपर्ने कामहरूको प्राथमिकीकरण निर्धारण गर्ने सम्बन्धमा केन्द्रित भएर मैले आफ्नो योजनाको लिखत तयार पारेको थिएँ । त्यो लिखत हेरेपछि मनमोहनले खुसी हुँदै भन्नुभएको थियो, ‘मैले सोचेभन्दा पनि राम्रो योजना प्रस्तुत गर्नुभयो ।  धन्यवाद दिएर मात्र म चुप लाग्दिनँ, यसलाई कार्यान्वयन गर्ने काममा जुटिहाल्नुपर्छ भनेर म तपाईंलाई करकर गरिरहन्छु ।’

वास्तवमा मनमोहन अधिकारी प्रधानमन्त्री रहुन्जेल उहाँको समेत संलग्नतामा तयार पारिएको त्यो अवधारणा–योजनामा रहेर उहाँले काम गरिरहनुभयो । 
मैले सल्लाहकार भएर नियमित रूपमा केही काममा ध्यान दिने गरेको थिएँ । खासगरी प्रधानमन्त्रीको हैसियतले दिनुपर्ने मन्तव्य–वक्तव्यहरूलाई अन्तिम रूप दिने, राजनीतिक महत्व राख्ने भेटघाटमा प्रस्तुत गर्ने विचारलाई व्यवस्थित बनाइदिने, पार्टीले गरेका निर्णय तथा ती निर्णयका आधारमा सरकारका तर्फबाट गर्नुपर्ने निर्णय तथा खेल्नुपर्ने भूमिकाबारे टुङ्गो गर्ने, विभिन्न मन्त्रालयहरूमा भइरहेका कामको अनुगमनको योजना बनाउने तथा यी ठाउँमा देखिएका समस्याबारे छलफल गर्ने, प्रधानमन्त्री कार्यालयलाई सुदृढ र व्यवस्थित परिचालन गर्ने आदि । मैले यिनै काममा आफूलाई केन्द्रित गरेको थिएँ । यिनै कामलाई केन्द्रित गरी प्रधानमन्त्रीको स्वकीय तथा निजी सचिवालयलाई परिचालित गर्न मैले आफ्नो ध्यान केन्द्रित गरेको थिएँ । 

उहाँको अनुपस्थितिका २२ वर्षपछि सम्झिँदा पनि सरलता र शालीनता– नेपालको कम्युनिस्ट आन्दोलनमा मनमोहन अधिकारीले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुण हुन् भन्ने लाग्छ । 

प्रधानमन्त्रीको हैसियतले पूरा गर्नुपर्ने भूमिका र पार्टीको अध्यक्षको हैसियतले खेल्नुपर्ने भूमिकाका लागि सन्तुलित र समन्वयात्मक क्रियाशीलताको आवश्यकता पथ्र्यो । मनमोहन अधिकारी यस विषयमा अत्यन्त सजग हुनुहुन्थ्यो र मलाई यस विषयमा ध्यान पुर्‍याउन विशेष निर्देशन दिइरहनुहुन्थ्यो । प्रधानमन्त्रीको हैसियतले दिइने वक्तव्यका सन्दर्भमा मनमोहनले प्रायः सधैँ अन्तरविरोधी स्थिति झेल्नुपरेको कतिपय मानिसहरू ठान्थे ।

उहाँको मौखिक भाषण रोचक, धाराप्रवाह र सहज हुने गथ्र्यो, आम स्रोताहरूले पनि यस्तै बुझ्थे । तर प्रधानमन्त्रीले औपचारिक कार्यक्रमहरूमा बोल्दा आधिकारिक, सन्तुलित, सारगर्भित हुनुपर्ने र थोरै पनि असन्तुलित हुनै नहुने मान्यताका आधारमा उहाँले लिखित भाषण पढ्नुपर्ने बाध्यता थियो । मौखिक भाषणमा स्वाभाविक र सहज रूपमा खुल्नु हुने मनमोहन अधिकारी लिखित भाषण पढ्नुपर्दा भने अत्यन्त असहज र खुम्चिएका रूपमा प्रस्तुत हुन पुग्नु हुन्थ्यो ।

त्यसो गरिरहँदा मानिसहरू मनमोहनलाई मौलिकता गुमाएको र अप्राकृतिक रूपमा उभ्याएको व्यक्तिका रूपमा बुझ्न पुग्थे । म स्वयंलाई पनि कतिपटक त लाग्यो– उहाँलाई साह्रै कष्ट झेल्न लगाइँदै छ । अंग्रेजीमा गर्ने मौलिक भाषणमा त मनमोहन साँच्चै राम्ररी खुल्नुहुन्थ्यो, त्यति मात्र होइन– उहाँ त पूर्ण रूपमा खुल्नुहुन्थ्यो ।

यो स्थितिलाई कुनै कुनै बेला त कटाक्ष गर्दै भन्नु पनि हुन्थ्यो, मनमोहन । लिखित भाषण सकी नसकी पढी सकेर त्यसलाई थन्क्याउँदै अब ‘म आफ्नो भाषण सुरु गर्छु’ भन्न पुग्नुहुन्थ्यो– मनमोहनका स्रोताहरू/सहभागीहरू उहाँको भनाइ सुनेर समर्थनमा हाँस्थे ।

प्रधानमन्त्रीका रूपमा मनमोहन अधिकारी कहीँ निस्कँदा पनि एकजना स्वकीय सचिव र राजनीतिक सल्लाहकारका रूपमा मलाई प्रायः सधँै साथमा हिँड्न आग्रह गर्नुहुन्थ्यो । उहाँसित मैले देशभित्र र बाहिरसँगै यात्रा गर्ने अवसर पाएको छु । 

कार्यक्रममा प्रायः सधैँ सँगै हुँदा उहाँले कार्यक्रममा बोल्ने वा प्रस्तुत गर्ने विषयबारे छलफल गर्नुहुन्थ्यो– आफ्ना विचार र भनाइलाई सङ्गठित गर्नुहुन्थ्यो, सायद । कुनै बेला त मलाई ती सबै विषय टिपोट गरिदिन आग्रहसमेत गर्नुहुन्थ्यो ।

सन् १९९५ को जनवरीमा डेनमार्कको कोपनहेगनमा नेपालका प्रधानमन्त्रीको हैसियतले प्रस्तुत गर्ने वक्तव्यमा मलाई सँगै राखेर धेरै विषयमाथि छलफल गरेर मात्र उहाँले अन्तिम रूप दिनुभएको थियो । डेनमार्क, बेलायत, फ्रान्स, चीन, मंगोलिया तथा भारतको औपचारिक÷अनौपचारिक भ्रमणका समयमा प्रधानमन्त्री मनमोहन अधिकारीसित साथसाथ रहँदाका धेरै अविस्मरणीय र प्ररेणादायी संस्मरणहरू मसित सधँै सुरक्षित रहनेछन् । 

एउटा विशेष प्रसंग म कहिल्यै पनि बिर्सन सक्दिनँ । सधैँझैँ मनमोहन अधिकारीले एकदिन सुदूरपश्चिमको बाढीग्रस्त क्षेत्रको भ्रमणका लागि मलाई पनि साथै हिँड्न भन्नुभयो । म तैयारीका साथ प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको थिएँ । तर त्यहाँ पुगेपछि प्रधानमन्त्रीले ‘पढी प्रत्युत्तर पठाउनुपर्ने’ एउटा फाइल मलाई दिँदै भन्नुभयो, यस सम्बन्धमा पर्सिसम्म हामीले आफ्नो तर्फबाट ‘रिस्पोन्स’ गरिसक्नु पर्छ । आज तपाईं मसँगै नगई यसको अध्ययन गरी प्रत्युत्तर तयार गर्नुहोला । मसित जानु पर्दैन ।’

म उहाँले त्यति भन्नु भएपछि एयरपोर्ट नगई त्यतैबाट फर्केको थिएँ । म त्यस दिन प्रधानमन्त्रीलगायत अन्य नेताहरूसित नगई त्यसै फर्केको थिएँ । कस्तो संयोग ! त्यही हेलिकप्टर काठमाडौँ फिर्दै गर्दा दुर्घटनाग्रस्त हुन पुगेको थियो । तर चालक किशेन्द्रबहादुर शाहीको कुशलताका कारण उक्त भीषण दुर्घटनामा परी झण्डै १० हजार फिटमाथिको उचाइबाट खसेर पनि मनमोहन अधिकारीसहितको टोली सकुशल रहन सकेको थियो ।

उहाँलाई गम्भीर प्रकृतिको चोटपटक त लाग्यो, तर उहाँहरू सबै बाँच्न सफल हुनुभयो । म अहिले पनि सम्झन्छु, त्यस दिन म पनि त्यही टोलीमा भएको भए के हुन्थ्यो होला ? 

प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएर मैले नौ महिना बिताएँ । त्यो नौ महिना मेरा लागि एकैपटक धेरै कुरा थाहा पाउने, सिक्ने, बुझ्ने अवसर बन्यो । राज्य सञ्चालनको केन्द्र भागमा रहेर थाहा पाउनुपर्ने केही कुरा मैले थाहा पाएको थिएँ– बुझेको थिएँ । आफूभित्रका कमजोरी तथा सीमाहरूलाई बुझ्ने मौका पनि मिलेको थियो, त्यसबेला । पार्टीगत रूपमा नीति निर्माण गर्ने तथा निर्णय गर्ने विषय जति सहज र सरल हुन्छ– राज्य सञ्चालनमा जाँदा थप जटिलताको सामना गर्नुपर्ने हुन्छ ।

पार्टीले गरेको निर्णयलाई सरकारको तर्फबाट कार्यान्वयन गर्ने विषयमा देखा पर्ने जटिलता र अन्तरविरोधलाई थोरै भए पनि देख्ने मौका प्राप्त भएको थियो– त्यसबेला । वास्तवमा यी सबै कुरा मनमोहन अधिकारीले मलाई आदरणीय गुरु तथा अभिभावक भएर सिकाउनु भएको थियो । 

मनमोहन अधिकारी प्रधानमन्त्रीको पदमा रहँदा कस्तो अभावको जीवन धानिरहनु भएको थियो– अहिलेका प्रायः सबै नेता, मन्त्री तथा प्रधानमन्त्रीलाई पत्यार नलाग्न सक्छ । एकदिन म उहाँकै ‘बेड रुम’मै पुगेको थिएँ । उहाँलाई केही बिसञ्चो भएको थियो । र, उहाँले मलाई त्यहीँ बोलाउनु भएको थियो । त्यहाँभित्रको स्थिति देखेर मलाई अत्यन्त टीठ लागेर आयो । मैले त्यहाँ ग्रामीण क्षेत्रमा सामान्य स्कुलमा शिक्षण पेसामा रही दुःखजिलो गरेर बसेको शिक्षकको कोठामा पुगेको जस्तो लाग्यो ।

अत्यन्तै सामान्य ओछ्यान, पलङसित नमिल्ने पुरानो झुल, पुराना खालका सरसामान अगाडि देखेर एकछिन त मलाई अचम्म पनि लाग्यो । कोठामा पुगेपछि मलाई मनमोहनले भन्नुभयो, ‘प्रधानमन्त्रीको तलब–सुविधाले यहाँ आउने–जाने मानिसलाई खान दिन पनि नसक्ने भयो । के गर्ने ? घरकै मान्छेहरू समेत कच्कच् गर्लान् जस्तो भयो ।’ उहाँका यस्ता कुरा सुनेपछि तत्कालै त मैले केही भनिहालिनँ ।

खालि ‘हामी सल्लाह गरेर मिलाउँला’ भन्ने जवाफ दिएको थिएँ । पछि सचिवालयका साथीहरूसित सल्लाह गरी केही व्यवस्था मिलाएका थियौँ । हामीले अर्थमन्त्री भरतमोहन अधिकारी तथा परराष्ट्र मन्त्रालयअन्तर्गत अतिथि सत्कार विभागका पदाधिकारीहरूसित कुरा गरी प्रधानमन्त्री निवासमा देखिएको त्यो दयनीय अवस्थामा केही सुधार गर्ने प्रयत्न गरेका थियौँ । 

पछि प्रधानमन्त्रीको पदबाट हटिसकेपछि एकदिन जब म काठमाडौँको खड्का भद्रकालीस्थित उहाँको निवास पुगेको थिएँ । त्यसबेला उहाँ एक्लै हुनुहुन्थ्यो । त्यो दिन पनि म उहाँको बेडरुममै पुगेको थिएँ । निजी निवासको उहाँको ‘बेड रुम’ र प्रधानमन्त्री निवासको उहाँको ‘बेड रुम’मा खासै कुनै भिन्नता थिएन । उस्तै सामान्य स्थिति, उस्तै सरलता !

प्रधानमन्त्री पदमा हुँदा र नहुँदामा मनमोहन अधिकारीको जीवनशैलीमा खासै कुनै परिवर्तन आएन, देखिएन । उहाँको अनुपस्थितिका २२ वर्षपछि सम्झिँदा पनि सरलता र शालीनता– नेपालको कम्युनिस्ट आन्दोलनमा मनमोहन अधिकारीले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुण हुन् भन्ने लाग्छ । हार्दिक श्रद्धान्जली !

मनमोहन मीमांसा-२ : शालीन र विनम्र नेता

- मनमोहन मीमांसा-२ : एक्लै नारा लगाउने ती मनमोहन

- मनमाेहन मीमांसा-३ : आफ्नै मन्त्रीविरुद्ध उभिन सक्ने मनमोहन

 


Author

थप समाचार
x