मनमाेहन मीमांसा

मनमाेहन मीमांसा-९

नौ महिनाको बजेटले शिखरमा पुर्‍यायो

भरतमोहन अधिकारी |
बैशाख १४, २०७८ १७:४८ बजे

वाममोर्चा र कांग्रेसको संयुक्त आन्दोलनको धक्काबाट पञ्चायती व्यवस्था ढल्यो । २९ वर्षपछि नेपालमा बहुदलीय व्यवस्था सुरु भयो । कृष्णप्रसाद भट्टराई (नेपाली कांग्रेस) को नेतृत्वमा कांग्रेस, कम्युनिस्टको संयुक्त सरकार बन्यो । नयाँ संविधान लेख्ने आयोग बन्यो । वाममोर्चाबाट माधवकुमार नेपाल, निर्मल लामा र म आयोगको सदस्य बन्यौँ । संविधान लेख्नमा मैले धेरै मेहनत गरेको छु ।

त्यसबेलाको परिवेशमा धेरैले संविधानको प्रशंसा पनि गरे । त्यसपछि माले र माक्र्सवादी पार्टीबीच एकता गर्ने प्रयासमा जुट्यौँ । पार्टी एकीकरण भयो । नेकपा एमाले बन्यो । नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित मनमोहन अधिकारीको अभिभावकत्व र मदन भण्डारी जस्तो कुशल नेताको नेतृत्वमा नेकपा एमाले बन्यो ।  


नेकपा एमालेको उदय नेपालको कम्युनिस्ट वाम आन्दोलन र लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक घटना थियो । नेकपा एमालेले आफ्नो प्रभाव देखाउन थाल्यो । ०४८ सालको संसदीय निर्वाचनमा कांग्रेसलाई टक्कर दिने प्रमुख प्रतिपक्ष पार्टीका रूपमा एमाले देखापर्‍यो ।

त्यस बेला काठमाडौँमा आउनु भएका पश्चिम बंगालको विधानसभाका सभामुख भन्नुहुन्थ्यो, ‘तपाईं नेपाली कम्युनिस्टहरूले यत्रो विजय पाउनु होला भनेर हामीले भारतमा सोचेका थिएनौँ ।’ राजा वीरेन्द्र भेटघाटका क्रममा मनमोहन अधिकारीसँग भन्थे रे, ‘तपाईंहरूले यसरी जित्नुहुन्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ ।’ 

२०५१ सालको मध्यावधि निर्वाचनमा कुनै पार्टीको बहुमत आएन । एमाले सबभन्दा ठूलो पार्टी बन्यो । कांग्रेस १११ स्थानबाट झरेर ८३ मै सीमित भयो भने हाम्रो पार्टी एमालेले ८८ सिट ल्यायो । तत्कालीन संविधानको धारा ४२ (२) अनुसार संसद्को ठूलो दल नेकपा-एमालेको अल्पमतको सरकार बन्यो । हाम्रो पार्टीका अध्यक्ष मनमोहन अधिकारी नेपालको प्रथम कम्युनिस्ट प्रधानमन्त्री बन्नुभयो ।

मनमोहनजीको सरकारले जनपक्षीय काम गर्न थाल्यो । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमअन्तर्गत देशभरका गाउँमा जनसहभागितामा विकास-निर्माणका कामले तीव्र्रता लिन थाले । वृद्धभत्ता पाउँदा वृद्ध/वृद्धाहरू खुसी भए । कृषि र भूमिसुधारका क्षेत्रमा व्यापक सुधारका कार्यक्रम ल्याइए । मनमोहनजीको सरकार जनतामा हाईहाई हुन थालेपछि कांग्रेसमा डाहा पलाउन थाल्यो । गिरिजाबाबु देशव्यापी दौडामा जाँदा ‘कम्युनिस्टहरूको यो सरकारलाई म फू गरेर ढालिदिन्छु’ भन्दै भाषण गर्न थाल्नुभयो र मनमोहनजीको जनपक्षीय सरकार ढाल्ने खेल सुरु गर्नुभयो ।

 

मनमोहनजीको सरकार जनतामा हाईहाई हुन थालेपछि कांग्रेसमा डाहा पलाउन थाल्यो । गिरिजाबाबु देशव्यापी दौडमा जाँदा ‘कम्युनिस्टहरूको यो सरकारलाई म फू गरेर ढालिदिन्छु’ भन्दै भाषण गर्न थाल्नुभयो र मनमोहनजीको जनपक्षीय सरकार ढाल्ने खेल सुरु गर्नुभयो ।

मनमोहन अधिकारीको नेतृत्वमा नेकपा एमालेको एकल सरकार बन्यो । म त्यो सरकारको अर्थमन्त्री भएँ । त्यो सरकार नौ महिना चल्यो । 

मैले दुईओटा बजेट पेस गरेँ । महेश आचार्यले पेस गर्नुभएको ०५१/०५२ को बजेटलाई परिमार्जन गरेर ०५१ पुसमा पहिलो कम्युनिस्ट बजेट पेस गरेँ ।

पछि ०५२ सालको असारमा अध्यादेशमार्फत पूर्ण बजेट पेस गरेँ । मैले पेस गरेका ती दुइटा बजेट नेपाली अर्थतन्त्रको विकासमा कोसेढुङ्गा साबित भए । आफ्नो गाउँ आफैँ बनाऔँ, वृद्ध भत्ता, सामाजिक सुरक्षा, नौ स लगायतका कार्यक्रमको सर्वत्र प्रशंसा भयो । 

नेकपा एमालेले दुइटा बजेटमार्फत देशको अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ ? भन्ने नयाँ सोच ल्यायो । यी केही यस्ता उपलब्धि छन्, जसले मलाई कम्युनिस्ट आन्दोलनमा लागेकामा सधैँ खुसी र गर्वको अनुभूति गराइरहन्छन् ।

२०५१ सालको नौ महिने सरकारमा वृद्ध भत्ता दिने व्यवस्था त मैले सुरु गरेको हुँ । तर गाउँमा जनता त ‘मनमोहन बूढाले भत्ता दिए’ भन्छन् । यसरी प्रधानमन्त्रीकै नाम लिन्छन् । यो स्वाभाविक पनि हो । 

मनमोहनजीले ६० वर्षभन्दा बढी समय राजनीति गर्नुभयो । उहाँको नाम त्यही नौ महिनाको बजेटले शिखरमा पुर्‍यायो । हृषीकेश शाहले एकपटक मलाई बीपी कोइरालाले भनेको कुरा सुनाउनु भएको थियो, ‘हृषीकेश शाहजी मैले ००७ सालको क्रान्ति सम्पन्न गरी प्रजातन्त्रको स्थापना गराएँ । यसले मुलुकमा नेपाली कांग्रेसको उच्च प्रतिष्ठा छ । पार्टीको देशभरि संगठन छ । यस्तो पार्टी नेपाली कांग्रेसलाई म तीन नेता गणेशमान सिंह, कृष्णप्रसाद भटराई र गिरिजाप्रसाद कोइरालालाई दिइरहेको छु । यो पार्टीलाई अगाडि बढाउने त नेताहरूको जिम्मेवारी र दायित्व हो ।’

नेकपा एमाले, कमरेड पुष्पलाल, तुलसीलाल, मनमोहन अधिकारी र मदन भण्डारीले निर्माण गरेको, हुर्काएको र बढाएको पार्टी हो । यो पार्टीलाई अहिलेको अवस्थासम्म ल्याई पुर्‍याउन कयौँले बलिदानी गरेका छन् । हजारौँले रगत पसिना बगाएका छन् ।

प्रतिनिधिसभाबाट सर्वसम्मत ढंगले निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि राजाकहाँ सिफारिस गर्नुभएको थियो । राजाले प्रधानमन्त्रीको सिफारिसअनुसार प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेका थिए । यो पूर्ण संवैधानिक र दुनियाँमा प्रचलित संसदीय व्यवस्थाको सिद्धान्तबमोजिम थियो ।

प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको नेतृत्वमा सर्वोच्च अदालतले निर्वाचनलाई बदर गरी प्रतिनिधिसभा पुनःस्थापना गरिदियो । त्यो कदम संविधान र संसदीय व्यवस्थाविरुद्ध थियो । त्यस घटनाबाट सर्वोच्चबाट पनि संवैधानिक मूल्य, मान्यता भत्काउने कामको सुरुवात भयो ।  संविधान त एउटा जीवित दस्तावेज हो । जसको समय परिस्थितिअनुसार लोकतान्त्रिक विधिबाट कार्यान्वयन गर्दै जानुपर्छ । यसलाई नै संवैधानिक विकास भनिन्छ । तर हामीकहाँ सवैधानिक विकास भन्ने कुरै भएन । यसकै कारण संविधानले लिक छाड्यो । 

संसदीय व्यवस्थाको असफलताको एउटा कारण संविधानले लिक छोड्नु नै थियो । एमाले अध्यक्ष मनमोहन अधिकारीले धेरै पटक सार्वजनिक रूपमै गिरिजाप्रसाद कोइरालालाई सचेत गराउनु भएको थियो, ‘यो नेपाली जनताले रगत पसिना बगाएर ल्याएको प्रजातन्त्र हो, विवेकसम्मत ढंगले हिँड्नुहोस् ।’ 

 

एमाले अध्यक्ष मनमोहन अधिकारीले धेरै पटक सार्वजनिक रूपमै गिरिजाप्रसाद कोइरालालाई सचेत गराउनु भएको थियो, ‘यो नेपाली जनताले रगत पसिना बगाएर ल्याएको प्रजातन्त्र हो, विवेकसम्मत ढंगले हिँड्नुहोस् ।’ 

संसद्मा प्रधानमन्त्री गिरिजाप्रसादको प्रस्तुतिपछि रोस्टमबाट उभिएर मनमोहन अधिकारी र मदन भण्डारीले गिरिजाबाबुलाई इगिंत गर्दै ‘ढुक्क भएर तपाईं ५ वर्ष सरकार चलाउनुहोस्, हामी रचनात्मक प्रतिपक्ष भएर सहयोग गर्छौं’ भन्नुभएकै थियो । 

गिरिजाबाबुले यो सरकार ६ महिना पुगेको भोलिपल्टै ‘फु’ गरेर ढाल्छु भन्न थाल्नुभयो । आफू पनि नगर्ने अरूलाई पनि गर्न नदिने कांग्रेसको रवैया रह्यो । गल्ती त्यो बेला हामीबाट पनि भयो । मनमोहनजीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारले छोटो समयमै जनपक्षीय काम गरेर देखाएको थियो ।

म आफैँ पनि सोच्छु, पार्टीले मलाई विश्वास गरिकन झलनाथ खनालपछि दोस्रो मर्यादामा राखेर सरकारमा पठाएको थियो । मैले पनि यो सरकारलाई प्रभावकारी बनाउन जति पहलकदमी लिनुपर्ने हो, त्यो गरिनँ । पछि मेरो मन पनि मर्दै गएर अर्थ मन्त्रालयमा खुम्चिँदै गएँ ।

वास्तवमा त्यसबखत झलनाथ, माधव, केपी र वामदेव गरी चार नेताहरूमा समझदारी बनाएर एकताबद्ध बनाउने सकेको भए धेरै काम गर्न सकिन्थ्यो । एमाले नेतृत्वको सरकारले राम्रो काम गरेको छ भनेर जनतामा प्रभाव पार्न सकिन्थ्यो । अहिलेसम्म चार पटक एमालेले सरकारको नेतृत्व गर्ने मौका पाएको छ । मनमोहन अधिकारी र केपी  ओली नेतृत्वको सरकारको पालामा मात्र पार्टी र सरकारको घनिष्ठ सम्बन्ध थियो । त्यसले राम्रो परिणाम पनि दियो । अहिले पनि यी दुई सरकारको विषयमा जनतामा हाईहाई छ । 

माधव नेपाल र झलनाथ खनालको सरकारको बखत पार्टी र सरकारको सम्बन्ध राम्रो भएन । त्यसले जनतामा राम्रो प्रभाव जमाउन पनि सकेन । यो त सबैले देखेकै कुरा हो । यसबाट शिक्षा लिनुपर्ने कुरा के हो भने पार्टी र सरकारको सम्बन्ध घनिष्ठ हुनुपर्छ । अनि मात्र हामीले सोचेको परिणाम निकाल्न सक्छौँ । जनतामा राम्रो प्रभाव पार्न सकिन्छ । वास्तवमा मेरो जुन हैसियत थियो । मैले झलनाथ, माधव, केपी र वामदेवबीचमा समझदारी बढाउने पहल गर्नुपर्थ्यो, त्यो गरिनँ ।

(भरतमोहन अधिकारीको पुस्तक ‘संसद्देखि संविधानसभासम्म’बाट ।)

मनमोहन मीमांसा-१ : शालीन र विनम्र नेता

मनमोहन मीमांसा-२ : एक्लै नारा लगाउने ती मनमोहन

- मनमाेहन मीमांसा-३ : आफ्नै मन्त्रीविरुद्ध उभिन सक्ने मनमोहन

मनमोहन मीमांसा-४ : प्रधानमन्त्री मनमोहन अधिकारीको सल्लाहकार बन्दा...

- मनमोहन मीमांसा-५ : जनप्रिय प्रधानमन्त्री मनमोहनका १० बलिया र ३ कमजोर पक्ष

- मनमोहन मीमांसा-६ : विकास रौनियारको संग्रहमा मनमोहन (फोटो फिचर )

मनमोहन मीमांसा-७ : मनमोहनले भरतमोहनलाई भने, डु यु नो हुम आर यु टकिङ टु ?

मनमोहन मीमांसा-८जनताको बहुदलीय जनवाद मदन भण्डारीको आविष्कार होइन, २००७ मै थियो



Author

थप समाचार
ad
x