मल्टिमिडिया

बागमती प्रदेशले ल्यायो एकीकृत सूचना केन्द्र

इकागज |
असोज २२, २०७८ शुक्रबार २१:५८ बजे

हेटौंडा – बागमती प्रदेशले एकीकृत सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । बागमती प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट दिने उद्देश्यले सूचना केन्द्र सञ्चालनमा ल्याएको हो । 

शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री डा।अजयक्रान्ति शाक्यले हेटौंडामा उक्त सूचना केन्द्रको उद्घाटन गरे । उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री शाक्यले प्रदेशअन्तर्गत सबै मन्त्रालय, निकाय र तहका सूचना एउटै पोर्टलबाट उपलब्ध हुने जानकारी दिए । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एग्रिगेटर सूचना बैंक सञ्चालनमा आएको हो । मन्त्री शाक्यले नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा आउनु गर्वको विषय भएको धारणा राखे । 


उनले बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी सूचना केन्द्रको विकास गरिने पनि जानकारी दिए । मन्त्री शाक्यले सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिने पनि बताए । ‘अब बागमती प्रदेशको सूचना प्राप्त गर्न एउटै सूचना बैंकबाट सम्भव हुन्छ,’ मन्त्री शाक्यले भने, ‘बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेको छ भन्ने यो एउटा सफल उदाहरण हो ।’ मन्त्री शाक्यले मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानुन एपमा राखेर चाँडै ल्याउने गृहकार्य  गरिरहेको पनि जानकारी दिए । 


Author

थप समाचार
x