संगीत

जी–बब रिहाबमा फर्कने गरी परिवारबीच तीन बुँदे सहमति

इकागज |
जेठ ३०, २०७९ सोमबार २०:४१ बजे

काठमाडौँ -बाबु आमाबाट स्वतन्त्रता चाहियो भन्दै प्रहरीमा निवेदन दिन पुगेका जी–बब र परिवारबीच प्रहरीको रोहबरमा तीन बुँदे सम्झौता भएको छ । एनटीएफको तर्फबाट जिल्ला प्रहरी परिसरमा उपस्थित रहेका सुरेन्द्र गुरुङ (हाकिम)ले परिवारबीच मोटामोटी तीन शर्तमा सहमति भएको जानकारी गराएका छन् ।

सुरेन्द्रका अनुसार छलफलमा जी–बबका बुबा आमा र कपनमा रहेको रिहाबका सञ्चालक टासी लामाले मुख्यतया जी–बबलाई एक महिना रिहाबमा राख्ने र त्यसपछि एनटीएफसँगको सम्झौताअनुसार काम गर्ने सहमति भएको बताएका छन् । 


एक महिनाको अवधिमा परिवारले जी–बबसँग भेट्न चाहेमा रिहाब सेन्टरले व्यवस्था मिलाउने पनि सहमति भएको गुरुङले बताए । दुवैबीच भएको तेस्रो सहमतिको बुँदामा भने एनटीएफले जी–बबलाई लिएर कुनै कार्यक्रम गर्दा परिवारलाई पनि जानकारी गराउनु पर्ने उल्लेख छ । 

जी–बबलाई एनटीएफले बन्दक बनाएको भन्दै जी–बबका बुबा आमाले प्रहरीमा उजुरी गरेर मिडियामा आएपछि जी–बबले पनि आमाबुबाबाट स्वतन्त्रता चाहिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । यसबीचमा जी–बबले आफ्नै आमाको चरित्रमा आँच आउने किसिमले अन्तर्वार्ता दिएपछि परिवारको विवादले उग्र रुप लिएको थियो । सोमबार प्रहरी परिसरमा मिलापत्रका लागि बोलाएको समयमा पनि जी–बबकी आमाले पुरानो कुरालाई लिएर जी–बबमाथि हात हालेको प्रत्यक्षदर्शीले बताए ।

आमाको यो व्यवहारले रुष्ट भएका जी–बबले बाबु आमा पनि फ्यान जस्तो गरी भेट्न आउन पाउने शर्तमा सहमति जनाएका थिए । जी–बबले परिवारले मायाका लागि भन्दा पनि पैसाका लागि आफूलाई नियन्त्रणमा राख्न चाहेको आरोप लगाएका थिए ।

उता परिवारले भने उसको मानसिक स्वास्थ्य ठीक नभएकाले संरक्षणका लागि आफूसँगै राख्न चाहेको र आफूले विश्वास गरेको रिहाबमा राख्न लागेको बताएका थिए । जी–बबलाई एनटीएफले दुई वर्षका लागि सम्झौता गरेको छ । त्यसमा विभिन्न कार्यक्रमसँगै एउटा एल्बम निकाल्ने सम्झौता रहेको एनटीएफका निमासाङ शेर्पाले बताएका छन् । 


Author

थप समाचार
x