संगीत

दिवंगत श्रीमतीको फोटो बोकेको मान्छे कन्सर्टमा देखेपछि रोइन् एडेल

इकागज |
माघ १९, २०७९ बिहिवार ११:२ बजे

लसएन्जल्स - आफ्ना गीतले दर्शक रुवाउन माहिर मानिन्छिन् गायिका एडेल । तर १५ पटककी ग्रामी विजेता एडेललाई हालसालै भने आफ्ना आँशु रोक्न कठिन भयो । कन्सर्टमा गीत सुन्न आएका फ्यानको समर्पणले एडेललाई द्रवित बनायो । गाउन छाडेर एडेल केही बेर रोइन् र फेरि गाउन सुरु गरिन् । 

गत हप्ता एडेल लसभेगासमा आयोजना भएको कन्सर्टमा आफ्नो चर्चित गीत ‘ह्वेन वी वेर योङ’ गाइरहेकी थिइन् । गीता गाउँदा गाउँदै उनी भिडको बीचमा गइन् । तर यहाँ उनले एउटा दृश्य देखिन् जसले उनलाई भावुक बनायो । यो दृश्य देखेर स्टेजमा फर्कँदा एडेलले गाउन सकिनन् । उनले गाउन छाडेर कन्सर्टमा एउटा व्यक्तिलाई सम्बोधन गर्दै धन्यवाद दिएपछि बल्ल उनी रुनुको कारण खुल्यो । भएको के रहेछ भने एडेलका एक जना फ्यान आफ्नो दिवंगत श्रीमतीको फोटो देखाउँदै गीत सुनिरहेका रहेछन् । एडेल यही दृश्य देखेर रुन बाध्य भएकी रहिछन् । 


‘म साँझमा थोरै मान्छेसँग मात्र कुरा गर्छु । तर कहिलेकाहीँ मान्छेको जीवनमा के भइरहेको छ भन्ने महसुस गर्छु,’एडेलले भावुक हुँदै भनिन्, ‘त्यहाँ एक जना हुनुहुन्छ जो फोनमा फोटो देखाएर बसिरहनु भएको छ । मलाई लाग्छ त्यो उहाँको श्रीमती हो र सायद उहाँ यहाँ हुनुहुन्न । यो कुराले मलाई साँच्चिकै दुःखी बनायो ।’ यसपछि उनले त्यो फ्यानलाई सम्बोधन गर्दै भनिन्, ‘म तपाईँको क्षतिप्रति दुःखी छु । म माफी चाहान्छु मैले तपाईँले देखाउन खोजिरहेको कुरा देखिन ।’ एडेल १० महिनापछि पहिलोपल्ट कन्सर्टमा देखिएकी थिइन् ।  


Author

थप समाचार
x