संगीत

के पल शाहले बल्ल म्युजिक भिडियो खेल्न थालेका हुन् ?

इकागज |
जेठ ८, २०८० सोमबार १३:१ बजे

काठमाडौँ - १ वर्षे जेल जीवन बिताएपछि पल शाह पुरानो काममा फर्किएका छन् । उनको पुरानो काम अर्थात् म्युजिक भिडियोमा अभिनय । पल शाह आजभन्दा १२ वर्षअघि म्युजिक भिडियोबाट उदाएका थिए ।

‘हनी बनी’ र ‘को होला त्यो’ जस्ता म्युजिक भिडियो हिट भएपछि म्युजिक भिडियो मोडलको रुपमा उनको ख्याती बढेको थियो । त्यसयता उनले १२ वर्षको अवधिमा ५ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको अनुमान गरिन्छ । उनको भिडियो हेरेर फ्यान भएका दर्शकका लागि भने उदेक लाग्दो कुरा भइरहेको छ । उनी १ वर्षको विश्रामपछि काममा फर्किएका छन् र उनले दुइटा भिडियो सार्वजनिक पनि गरिसकेका छन् ।


जेल जीवनपछि उनले आफ्नै निर्देशनमा ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीत सार्वजनिक गरेका थिए । यो गीतको जानकारी दिँदा उनले आफ्नो पहिलो म्युजिक भिडियो आउन लागेको बताएका थिए । उनले यसपछि सार्वजनिक भएको ‘आँशु बनी नखस’लाई आफ्नो दोस्रो गीत भन्दै सार्वजनिक गरेका छन् । आउँदो शुक्रबार उनकै भाषामा भन्दा तेस्रो गीत सार्वजनिक हुँदैछ । ‘सक्छौ र तिमी म बिना बाँच्न’ बोलको यो गीतलाई उनले तेस्रो गीत भनेका छन् । 

तर पलले ५ सयभन्दा बढी गीतमा अभिनय गरेपछि सुरु गरेको यो गिन्तीले धेरैलाई भने अचम्ममा पारेको छ । झट्ट हेर्दा उनले जेल जीवनपछिको पहिलो दोस्रो भन्न खोजेको हो कि भन्ने भान पर्छ । सत्य यही नै पनि होला । तर पहिले नै खेलिसकेका गीतको संख्या चटक्कै बिर्सेर नयाँ गिन्ती सुरु गर्ने कारण भने बुझ्न गाह्रो छ । पहिलो दोस्रो भन्या भने दर्शकले हेर्छन् भन्ने लोभ हो कि यसको अर्थ अर्कै हो ? पल नै जानुन् । तर १२ वर्षपछि रिलिज भएका गीतलाई पहिलो दोस्रो भन्दा दर्शकको मनमा स्वाभाविक प्रश्न उठिरहेको छ, ‘के पल शाहले बल्ल म्युजिक भिडियो खेल्न थालेका हुन् ?’  


Author

थप समाचार
x