संगीत

१५ वर्षमा १५ सय गीत गाएपछि दीपक लिम्बूको सुर

सामीप्यराज तिमल्सेना |
असार २५, २०७८ शुक्रबार १०:२२ बजे

दीपक लिम्बूबारे सबैले थाहा पाएको कुरा हो, लिम्बू सांगीतिक प्रतियोगिता नेपाली ताराका विजेता हुन् । तर, धेरैलाई थाहा छैन, लिम्बूले नेपाली तारा बन्‍नुअघि यस्तै प्रकृतिका दुई प्रतियोगिता पनि जितेका थिए । १५ वर्ष लामो सांगीतिक करिअरमा १५ सय हाराहारी नै गीतमा आवाज दिएको दाबी गर्ने दीपकले इकागजसँग आफ्नो सांगीतिक यात्राका मुख्य-मुख्य घुम्तीबारे चर्चा गरे ।

१७ वर्षमा ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ विजेता
२०६२ मा ‘नेपाली तारा’को विजेता बन्‍नुभन्दा पाँच वर्षअघि नै उनी ठूलो सांगीतिक प्रतियोगिताको विजेता बनेका थिए । त्यो प्रतियोगिता थियो, ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ । सुनसरीको प्रकाशपुर जन्मघर भएका दीपक उसबेला धरानमा बसेर पढ्थे । औपचारिक पढाइसँगै उसबेला उनले धरानकै ‘संगीत साधना’मा गायनको कक्षा पनि लिने गरेका थिए । यही बेला उनले ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा भाग लिए । 


‘नेपाल टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम देशका विभिन्‍न सहरमा हुन्थ्यो । पूर्वाञ्चल संस्करण गर्ने भनेर कार्यक्रम धरान आएको रैछ । यहीँ मैले भाग लिएँ,’ उनले भने, ‘धरानको सैनिक भवनमा भएको फाइनलमा विजेता बनेको थिएँ ।’ दीपकका अनुसार ‘ब्राइटर तिम्रो सुर मेरो गीत’को निर्णायकमा शान्तिराम राई, पारस मुकारुङ र बालकृष्ण कार्की थिए भने कार्यक्रम सञ्चालन गरेका थिए, नवराज लम्सालले । उनले नारायण गोपालको ‘जीवनदेखि धेरै’ बोलको गीत गाएर विजेता बन्‍ने सिलसिला सुरु गरेका थिए ।

‘हाम्रो समयको यो ठूलै प्रतियोगिता थियो । विराटनगर, झापा, सुनसरी सबैतिरका प्रतिस्पर्धी थिए । चार राउन्ड गरेर विजेता छानिन्थ्यो । तर, हाम्रो पालामा रेकर्डिङ त सबै भागको भयो तर प्रसारण चैँ पहिलो भाग मात्र भयो । मैले जितेको उही प्रतियोगी र नेपाल टेलिभिजनको मान्छेलाई मात्र थाहा भयो,’ दीपक सम्झन्छन् । दीपक पहिलो हुँदा यो प्रतियोगितामा कुशल थलङ दोस्रो भएका थिए । कुशलले पनि थुप्रै गीत गाएका छन् । 

दीपकले यो प्रतियोगितामा विजेता बनेबापत ब्राइटरको मञ्जन-ब्रस र पाँच हजार नगद पाएका थिए । यही पाँच हजारले उनले जीवनको पहिलो गीत रेकर्ड गरे । मन्जन-ब्रसले चाहिँ ? दाँत चम्काए । उसो त स्वर चम्किलो दाँतबाट निस्कने होइन तर ब्रस स्वर साधना अर्थात् रियाजको प्रतीक भने अवश्य हो ।

तिम्रो सुर मेरो गीतबाट पाएको ब्राइटर मन्जन-ब्रसले दाँत चम्काए अनि पाँच हजार रुपैयाँले चाहिँ पहिलो गीत रेकर्ड गराएर स्वर चम्काए ।

यही प्रतियोगिताकै दौरान निर्णायक रहेका पारस मुकारुङ दीपकको स्वर देखेर दंग परे । अझ विजेता नै बनेपछि त उनले दीपकलाई गीत रेकर्डिङका लागि काठमाडौँ निम्त्याए । क्षेत्रप्रताप अधिकारीको रचना लिएर मुकारुङले गीत कम्पोज गरे । ‘ज्यान वारि मन खोला पारि’ बोलको यो गीत पार्वती राई र उनले पालैसँग गाए । तर, यो गीतले दीपक लिम्बूलाई खासै फाइदा गरेन । 

यसको एक वर्षपछि दीपकले फेरि अर्को प्रतियोगिता जिते । प्रतियोगिता थियो, ‘प्रथम पूर्वाञ्चल खुला आधुनिक गीत प्रतियोगिता’ । पूर्वाञ्चलका प्रतिभा लक्षित यो प्रतियोगितामा पनि दीपक नै पहिलो भए । ज्ञानुवाकर पौडेल र वासुदेव मुनाल निर्णायक रहेको यो प्रतियोगितामा सञ्जय तुम्रुक दोस्रो भएका थिए । 

जान अन्तिम, आउन प्रथम
दीपक लिम्बूको परिचय बनेको ‘नेपाली तारा’को भने आफ्नै कथा छ । उनी यो प्रतियोगिताको अन्तिम दिन मात्र यसको अडिसन दिन पुगेका थिए । अन्तिममा पुगे पनि दीपक पहिलो भएर निस्के । साना-ठूला प्रतियोगिता जितेपछि दीपक एल्बम निकाल्ने दौडधुपमा थिए । यसका लागि धरान-काठमाडौँ गरिरहन्थे । यताउता गर्दागर्दै उनले पूर्वतिरका अडिसनबारे चालै पाएनन् । एल्बमकै गीत रेकर्ड गर्न उनले चाल पाए, नेपाली ताराको अडिसनको समय नै सकिएछ । थकथकी मानिरहँदा उनले थाहा पाए, दुई दिन थपिएको छ । उनी अन्तिम दिन कुपन्डोलमा अडिसन दिन गए । त्यहाँ पनि नारायण गोपालकै गीतको सहारा लिए । ‘आज भोलि हरेक साँझ...’ गाएर दीपक जंगमलगायतका निर्णायकलाई प्रभावित गरे । यसपछिको उनको यात्राबारे हर कोही जानकार छन् । 

दीपकलाई त्यही भएर मन पराको...
‘नेपाली तारा’ बनेपछि दीपकको सांगीतिक यात्राको एउटा कोर्स पूरा भयो तर ‘नेपाली तारा’ जितेबापत पाएको एल्बमले भने उनको करिअरलाई भने जस्तो गति दिन सकेन । चलनचल्तीका भाषामा भन्‍नुपर्दा ‘नेपाली तारा’ नामकै यो एल्बम फ्लप भएको मान्छन्, दीपक । यही बेला पाएको एउटा गीतले पाश्र्व गायनमा उनको स्वर्णीम युग सुरु भयो । त्यो गीत थियो, ‘त्यही भएर मन पराको ।’ महेश खड्काको संगीत रहेको ‘हिम्मत’ फिल्मको यो गीतले दीपकलाई नेपाली सिनेमाको व्यस्त पाश्र्वगायक बनायो । 

दीपकका अनुसार उनी यो गीतको पहिलो रोजाइ भने थिएनन् । निर्माण टिमले जति बेला यो गीत तयार भयो, त्यतिबेला इन्डियन आइडल विजेता अभीजित सावन्तलाई यो गीत गाउन लाउने निर्णय गरेको थियो । तर, त्यसको चाँजोपाँजो मिलाउने तरखर गरिरहँदा नै नेपालमा नेपाली ताराले हाइप लिन थालेको थियो । पछि दीपक विजेता बनेपछि उनले यो मौका पाए । यसका संगीतकार महेश खड्कासँगको छोटो संगतले पनि सायद निर्माण टिमलाई यो निर्णय लिन सजिलो बनायो । 
दीपकले पहिलो गीतमा ब्रेक दिने महेश खड्कालाई नेपाली ताराकै सिलसिलामा भेटेका थिए । प्रतिस्पर्धाको दौरानमा फिल्मी गीतको राउन्डमा उनले महेशको संगीत रहेको गीत छानेका थिए । यही गीत अभ्यास गर्ने क्रममा दीपक र महेशको चिनजान भएको थियो ।

‘संगीतकार आफैँ गीत पनि गाउन थाल्नुभएको छ । मेरो आवाज सुहाउने हिरो पनि रिटायर्ड हुन थाल्नुभयो नि,’ दीपकले बताए ।

‘मैले महेश दाइकै संगीत रहेको ‘माया बसेछ’ फिल्मको ‘आज मन उडेर भाग्छ’ गाउनलाई छानेको थिएँ । पछि कसरी गाउने भनेर उहाँसँग अभ्यास पनि गरेको थिएँ । यसैले सायद दाइलाई मेरो रेन्जबारे थाहा थियो । यसरी यो गीत गाउन उहाँहरूले सम्झनु भयो,’ दीपकले सम्झिए । तर, यही गीतले पाश्र्व गायनमा दीपकलाई जमायो । यसपछि उनले ‘नाइँ नभन्‍नू ल’, ‘कसले चोर्यो मेरो मन’, ‘सिम्पल सिम्पल कान्छी’, ‘मागेर पाउने भए म’ जस्ता थुप्रै चर्चित गीतमा आवाज दिए । दीपक ३ सयभन्दा बढी नेपाली चलचित्रमा आफूले गाएको र ३ सयकै हाराहारीमा यस्ता गीत रहेको बताउँछन् । तर, पछिल्लो समय भने दीपक लिम्बू विरलै हिरोका लागि गाउँदै गरेको भेटिन्छन् । उनले ट्रेन्ड चेन्ज भएको र आफ्नो पुस्ताका संगीतकार सिर्जनामा सक्रिय नभएकाले पनि आफू फिल्मी गायनबाट टाढा रहेको बताए ।

‘संगीतकार आफैँ गीत पनि गाउन थाल्नुभएको छ । भएन, मेरो आवाज सुहाउने हिरो पनि रिटायर्ड हुन थाल्नुभयो नि । अब समकालीन गीतमा फोकस छु । त्यसैमा निरन्तरता रहन्छ,’ दीपकले बताए । ‘यहाँ देशको छ चिन्ता...’ गाएका दीपक संगीतकार नै गायक-गीतकार हुने ट्रेन्ड बढेको प्रति ‘यहाँ संगीतको छ चिन्ता’ शैलीमा अलिअलि असन्तुष्टि पनि पोख्छन् ।

ब्राइटर, तिम्रो सुर, मेरो गीतको मञ्‍चमा (कालो सर्ट) दीपक लिम्बू

‘उपहार’को आश
दीपक लिम्बूका शुभचिन्तकको गुनासो छ, दीपक संगीतबाट हराए । दीपकको जवाफ छ, ‘हराएको हैन । तपाईंले खोज्न छाड्नुभएको हो ।’ दीपकले जे जवाफ दिए पनि समकालीन संगीतमा उनको उपस्थिति पातलो भएको छ । उनले पछिल्लो समय सार्वजनिक गरेका गीत स्रोताको मनमा बसेका छैनन् । दीपक यो सबै गुनासो आलोकश्रीको संगीतमा दसैँ छेक आउन लागेको ‘उपहार ४’मार्फत सम्बोधन गर्ने तयारीमा छन् । 

‘उपहार’ उदितनारायण झा ‘लिगेसी’ बोकेको फिल्म हो । बलिउडमा नामी बनेपछि उनले नेपालमा पहिलोपल्ट एकल एल्बममा आवाज दिएका थिए । यसपछिका शृंखलामा पनि नेपालका चर्चित कलाकारले यो एल्बममा आवाज दिएका छन् । यसको चौथो भाग भने दीपकको एकल स्वरमा आउन लागेको हो । ‘आलोक दाइ र मैले एकदमै मेहनत गरेका छौँ । दसैँतिर यो एल्बम सार्वजनिक गर्ने तयारी छ । यो एल्बमले मेरा तमाम शुभचिन्तकलाई  मप्रतिको चिन्ताप्रति आश्वस्त बनाउँछ भन्‍ने विश्वास छ,’ दीपकले इकागजसँगको कुराकानीको बिट मार्दै भने ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x