संगीत

ब्लग

रेलिमई गुन्गुनाउने गायकको चर्चा..

पहिलो प्रयासमै जिब्रोमा झुण्डिने गीतका गायक बनेका दिनेश

विष्णु विश्‍वकर्मा |
कात्तिक ६, २०७८ ७:१७ बजे

काठमाडौँ - दोस्रोपटकको लकडाउन खुलेपछि हामीले काठमाडौँका डाँडापाखा निकै चियायौँ । कहिले तारेभिर । कहिले शिवपुरी । कहिले स्वयम्भूको डाँडा त कहिले मुड्कुभन्ज्याङ । 

हामी भनेको पत्रकार विनेश खनाल, हरि पौडेल, ईश्वर मैनाली र म । कहिलेकाँहीको यात्रामा भाइ लोकेन्द्र पनि सँगै हुन्थ्यो । अनि कहिलेकाँही विनेश र हरिका साथीहरू । हरिलाई म मायाले ‘ह्यारी’ भनेर बोलाउँछु ।


पत्रकारै भएर होला । विनेश र हरिसँग अलि धेरै दोस्ती जम्यो । विनेशले डीसी नेपाल छाड्यो । ह्यारीले क्यापिटल नेपाल छाड्यो । उनीहरू आफैँ अहिले आफ्नै अनलाइन न्युज पोर्टल खोलेर काम गरिरहेका छन् । 

बैशाख १६ गतेदेखि सुरु भएको लकडाउन जेनतेन असारसम्मै पुग्यो । बसन्त ऋतुमा कोठामा गुम्सिएका हामी झरी परेपछि निस्कियौँ । त्योभन्दा पहिले हामीले दुई वटा रमाइला घुमघाम गर्‍यौँ ।

पहिलो घुमघाममा हामी शिवपुरी पुग्यौँ । सायद त्यो, माघ वा फागुन महिनातिर हुनुपर्छ । हप्ताभरी कामले थिग्रिएका हामी एक दिन ‘हावा खान’ डाँडाकाँडा घुम्थ्यौँ । त्यो घुमघाममा एउटा रमाइलो पक्ष के थियो भने नयाँ नयाँ साथीसँग चिनजान हुन्थ्यो ।

सबै पत्रकार थियौँ । पत्रकारले पत्रकारसँग आ–आफ्ना नयाँ साथी चिनाउँथ्यौँ । त्यही मेसोमा ह्यारीले भान्जा दिनेश ढकालसँग चिनजान गराए । घर गुल्मी । दिनेश ह्यारीका भान्जा हुन् । हाम्रा लागि नयाँ साथी थिए । हरिको घर भने बागलुङ हो ।

खासगरी मेरा लागि उनी विशुद्ध नयाँ साथी थिए । गितार बोकिराख्ने गायन उनको नशा रहेछ  । अनि कँही थकान मार्नुपरे गितार झिकेर बजाइहाल्ने उनको पागलपन । गायन र संगीतका ‘प्यासन’वाला युवकसँग हामीले भेटेका थियौँ ।

शिवपुरीमा सामान्य घुमघामपछि तल झरेर हामीले चिया खायौँ । खाजाको ठाउँमा हामीले सायद मःम नै खायौँ । एक दुई जनाले चुरोटको धुँवा उडाए । सूर्य डाडाँमाथि पुगिसकेको थियो । हामीले त्यो चियापसलको बिल तिरेर घट्टेकुलो फर्किने सुरसार कस्यौँ ।

बाइक स्टार्ट गरेर अगाडि बढ्यौँ । तर अगाडि लागेको ईश्वरले स्कुटरको ह्यान्डिल बाया गल्लीतिर मोड्यो । पीच तर साँघुरो गल्लीमा उसले स्कुटर नभनीकन मोडेको थियो । ह्यारी र मैले उसलाई पछ्यायौँ । मेरो बाइकको पछाडि भाई लोकेन्द्र थियो भने ह्यारीको बाइकको पछाडि दिनेश । 

मैले सोचेँ, कुनै छोटो बाटोबाट चक्रपथ निस्कने योजना होला । बूढानीलकण्ठबाट फर्किदा लामै जाम खेप्नुपथ्र्यो । त्यसमाथि बेलूकीको जाम दिक्कै लगाउने ।

तर मेरो र ह्यारीको अनुमान फेल खायो । हिड्दै जाँदा त्यो बाटो पुगियो, तारेभिर । बेलूकी अध्यारो भएको बेला हामी तारेभिर पुग्यौँ । तारेभिरमा पुग्दा काठमाडौँ खाल्डो झिलिमिली देखिन्थ्यो ।

हामी पाँच जना तारेभिरमा २५ मिनेट जति अडियौँ । गफगाफ गर्यौ । थोरै करियरको चिन्ता । धेरै सम्भावनाको आशा । ‘लाइफ’ यस्तै हो । हिड्दै जाऔँ । जे भोग्यो, त्यसैको नाम हो, जीन्दगी । आदर्श भनाइ मिलाएर हामी गफ हान्थ्यौँ ।

त्यतिबेला पनि दिनेशले गीत संगीतको कुरा निकाले । नयाँ रचना । नयाँ गीत । नयाँ संगीत । नयाँ प्रयास । के होला ? कस्तो होला ? उनको चिन्ता त्यतिबेलै थियो ।
‘केही फरक गर्नुपर्छ’ दिनेशलाई हामी भन्थ्यौँ । 

‘त्यसमा टिपिकल भयो भने छिट्टै नोटिस भइन्छ’, ईश्वरले भन्यो ।

हामी उभिएरै यति गफ गर्‍यौँ । अध्यारो निष्पट्ट बन्न थाल्यो । अर्को हप्ता नयाँ ठाउँमा हाइकिङ जाने योजनाका साथ हामी तारेभिरबाट ओरालो झर्‍यौँ ।

त्यतिबेला स्वयम्भुमा गुन्जिएको ‘रेलिमई’

हामी भन्छौँ नि । समय बितेको पत्तै हुँदैन । एक हप्ता बितेको पत्तै भएन । हामी अर्को शनिबार स्वयम्भुतिर लाग्यौँ । कहाँ जाने ? कहाँ जाने ? भनेर हामी स्वयम्भु पुगेका थियौँ । 

विनेश, ह्यारी, दिनेश र म । चार जना थियौँ । टेकुबाट डल्लु हुँदै हामी स्वयम्भु पुगेका थियौँ । बाइक पार्किङ गरेर हामी माथि स्वयम्भुको डाँडातिर लाग्यौँ । डाँडामा गएपछि हामीले केही फोटो खिच्यौँ ।

त्यसपछि हामी स्वयम्भुको सडकतिरको भागतिर गयौँ । जहाँ शान्त छ । नाम मलाई पनि कण्ठस्थ छैन । झोलाबाट सारंगी निकालेर दिनेशले रिदम निकाले ।

उनी नयाँ गीतको सुर कसिरहेका थिए । जुन गीत राम्रो हुन्छ वा नराम्रो ? सबैलाई मन पर्छ वा पर्दैन ? यो गीतबाट आफू गायक बन्छु या बन्दिन ? स्वयंम दिनेशलाई थाहा थिएन । तर पनि उनले गाँए । हामीले सुनिरह्यौँ ।

कालो केशमा रेलिमई बाँधेको रिबन
तिमलाई हेर्दै रेलिमई बिताउँला जीवन

उनले गीतको लय हाल्दा हामीलाई ‘टिपीकल’ लागेकै थियो । जतिबेला शब्द थिए । अलि अलि लय थियो । शान्त बतास चलिरहेका बेला गितारको रिदममा उनको स्वर खुलेको थिएन । तर पनि राम्रै सुनियो । त्यसपछि उनले टुक्का हाले ।

असनको रातो सारी चारपाङग्रे गाडी
किनिदिउँला सुनको चुरा बरु ऋणै काढी 

यति सुन्दा मलाई लागेको थियो, यो गीत पृथक छ । झनै पृथक हुन्छ । त्यसमाथि उनले अन्तरामा थपेका छन्ः

गाईलाई गोठ रेलिमई घोडालाई तबेला
जाला जोवन रेलिमई नगर अबेला 
कालो केशमा रेलिमई....

सरल शब्द । नेपाली गाउँघरकै बोलीचालीको भाषा । त्यसमाथि मौलिकता र पश्चिमेली लवज । यो गीत, गीत मात्रै थिएन, झलकमान गन्धर्वबाट प्रभावित दिनेशको मौलिक लोकगितको परिचय पनि हो । जुन उनले लामै प्रयास गरेर परिपक्व बनाए । आफ्नो स्वर, शब्द, लयदेखि भाकासम्म । 

न छुने लय र मौलिक लोकगितको आधुनिक पुस्तान्तरण मिसिएको गीत पनि हो, कालो केशमा रेलिमई । उनले त्यतिबेला नै केही फरक र मौलिक प्रस्तुति दिइरहेको ‘आर्टमाण्डु’सँग सहकार्यको प्रयास गरिरहेको बताएका थिए ।

त्यसको ठ्याक्कै ८ महिनापछि उनले गीत मात्रै ल्याएका छैनन । नेपाली गीतको मौलिकता, युवाको रोजाई र शिखरमा पुग्ने सफलताको सम्भावना पनि बोकेका छन् ।

उनले आफ्नो गायनमा मात्रै होइन, गीतको भिडियोमा पनि परिपक्वता देखाएका छन् । देखासिकी गर्ने र राम्रो गर्ने नाममा जम्मै नराम्रोगरी ‘भद्दापन’ थोपर्ने भीडमा उनी पुरै ‘ओरिजिनल’ देखिएका छन् । यसका लागि निर्देशक मानव सुवेदी धन्यवादका पात्र हुन् । अल्का सुवेदी र राजन न्यौपानेले गीतलाई न्याय गरेका छन् । 
दिनेशको गीत शेयर गर्दै चलचित्र निर्देशक निश्चल बस्नेतले फेसबुकमा लेखेका छन्, ‘आनन्द आयो गीत सुनेर.....।’

कमेन्टमा दिनेशले ‘खुशी लाग्यो’ भनेर जवाफ टक्रयाएका छन् । 

दिनेशको कमेन्टमा रिप्लाई दिँदै निश्चलले उनको गायन सम्भावना औँल्याउँदै लेखेका छन्, ‘भविष्यका लागि शुभकामना भाइ । तिम्रो आगामी गीत संगीत पनि मन छुने हुनेछ भन्नेमा म ढुक्क छु । यस्तै गरी चम्किरहनू ।’

पहिलो प्रयासमै चर्चा र सफलता हात पारेका दिनेशका लागि यो स्वर्णिम अनुभूति हो । अब उनी कसरी अगाडि बढ्छन्, निर्देशक निश्चलकै कमेन्टमा त खुलाएका छैनन ।

तर उनले अब जस्ता गीत ल्याउँछन्, त्यसले आम स्रोता र दर्शकमा पक्कै फरक पार्नेछ । 

शुक्रबार नयाँ बानेश्वर चोककै थकाली भान्छाघरमा खाना खाने बेला ‘कालो केशमा रेलिमई..’ सुनेपछि यनि नलेखी बस्न सकिन । यो गीत त्यहाँ बज्नु र युट्युबमा तेस्रो नम्बर ट्रेन्डिङमा रहेका बेला सुनेकै दिनदेखि मेरै जिब्रोमा पनि झुण्डिनु संयोग मात्र थिएन । पहिलो प्रयासमा दिनेशले पाएको याे चर्चा र सफलता साच्चै प्रेरणादायी छ । 

रातीको ११ बजे यति लेखिसकेर फेसबुकमा साथीबाट गायक बनेका दिनेशलाई च्याटमा भने, ‘बधाई, लिस्निङ यू....।’ जवाफमा लभ रियाक्ट आयो ।

यो गीतसँगै संघर्ष, सफलता र सम्भावनाबारे युवा गायक दिनेश ढकाल के भन्छन् ? त्यो फेरि ‘हाइकिङ’ जाँदा भेटेपछि लेखौँला ।  



Author

थप समाचार