संगीत

राष्ट्रका गहना

सबै आमाको गीत गाएर आफ्नै आमालाई अन्तिम बिदाइ

आमाले धर्ती छाडिन्, तर छोरा शिशिर योगीले मञ्च छाडेनन् !

विष्णु विश्‍वकर्मा |
पुस २२, २०७८ बिहीबार २३:४४ बजे

फोटो स्रोत : चिन्तामणि शर्माको फेसबुकबाट

काठमाडौँ : पुस २१ गते बुधबार । सुर्खेतमा गायक शिशिर योगीको एकल साँझ कार्यक्रम थियो । मेला महोत्सवमा गीत गाउन थुप्रैपटक सुर्खेत पुगेका गायक योगी एकल साँझका लागि पहिलोपटक सुर्खेतमा थिए । बुधबार दिउँसैको फ्लाइटमा उनी काठमाडौँबाट सुर्खेतमा पाइला टेकिसकेका थिए । 

एकल साँझ राती ७ बजेदेखि सुरु हुने कार्यक्रम तय थियो । एकल साँझको सबै कार्यक्रम उनकै साथी चिन्तामणि शर्माले व्यवस्थापन गरेका थिए । शर्मा सुर्खेतका होटल तथा पर्यटन व्यवसायी हुन् । उनले आफ्नै होटलमा ‘शिशिर योगी एकल साँझ’ कार्यक्रमको आयोजना गरेका थिए ।


कर्णाली प्रदेशको राजधानीमा चिनेजानेका सबैलाई निम्ता थियो । मन मष्तिष्कदेखि नै गायक शिशिर योगी एकल साँझका लागी तयार थिए । जब बेलूकी दिन ढल्दै गयो । एकल साँझको माहोल बन्दै गयो । सुर्खेत बजारको बुलबुले रोडको होटल अशोकामा दर्शक भरिन थाले ।

प्रवेश निःशुल्क थियो । त्यसमाथि एक सदाबहार गायकको आगमन । सुर्खेती भूमिमा कर्णालीका संगीतप्रेमीको मन शिशिर योगीलाई सुन्न आतुर थियो । होटल अशोकाको सभाहलमा शिशिर योगी गुन्जिन तम्तयार भइसकेका थिए ।

पछिल्लो समय कर्णाली प्रदेशका धेरै जिल्लामा योगीको ‘कर्णालीपारी’ गीत झन् बढी चर्चामा थियो । त्यसैले पनि उनी एकल साँझका लागि कर्णालीको राजधानी सुर्खेतमा गुञ्जिदैँ थिए ।

कार्यक्रमहलमा दर्शक भरिदैँ गए । गायक योगी र उनका व्यवसायी साथी शर्मा हौसिँदै गए । हल दर्शकले खचाखच भरियो । शिशिर योगी मञ्चमा उक्लिने तरखरमा थिए । 

मोबाइलमा फोनको घण्टी बज्यो । नम्बर घरपरिवारकै थियो । घरकै नम्बर उठाउनै पर्यो । 

शिशिरले फोन उठाएर ‘हेलो’ भन्न नपाउँदै उताबाट आवाज आयो, ‘आमा बित्नुभयो । तुरुन्तै घर आउनुपर्‍यो ।’

एकल साँझको आकाशमा उडान भर्न लागेका योगीको मुटुमा अचानक ब्रेक लाग्यो । तर व्यवसायिक गायनमा कहिल्यै सम्झौता नगरेका शिशिर योगी दुई हात जोडेर घर होइन, मञ्चमा उक्लिए ।

जुन कुरा सुनेपछि उनका साथी चिन्तामणि शर्माले एकल साँझको माया मारिसकेका थिए । तर योगी हड्बडाएनन् ।

थुप्रै गीत गाएका शिशिरका लागि मञ्चमा जीन्दगीकै कठिन परीक्षा आयो । उनले चुनौति स्वीकार गरे । दर्शकलाई निराश नबनाउने कसम खाए ।

आमा सदाका लागि गुमाएको पीडा मनमा गाँठो पारेर उनले आँखा चिम्ले । माइक मुखमा ताने । पेटभित्रैबाट स्वर निकाले । 

अनि गाए, ‘आमाले घाँस काट्दै गर्दा भिरमा जन्मेको मान्छे म...।’

उनले यस्ता दर्जनौँ गीत गाए । दर्शक झुम्मिए । रात छिप्पिदै गयो । शिशिरको स्वर झन् फुक्दै आयो । उनका आँखामा टिलपिल आँशु देखिन्थे । जसलाई लुकाउन उनले आँखा चिम्लिए । माइक मुखमै लिएर आकाशतर्फ हेँर्दै आमाको अन्तिम गीत गाए ।

गाउँदै जाँदा मध्यरात भयो । दर्शक विस्तारै बाहिरिन थाले । शिशिरले माइक बिसाए । एकल साँझमा झुम्मिन आएका दर्शकले शिशिरसँग फोटो खिच्न खोजे । दर्शकलाई भगवान सम्झिने शिशिरले आग्रह टारेनन् । तर जति प्रयास गर्दा पनि मुस्कुराउन सकेनन् ।

दर्शक विस्तारै घरतिर लागे । होटलको कोठामा पुगेर शिशिर एक्लै रोए । आमा सम्झेर रोए । आमाको माया सम्झेर रोए । आमालाई समर्पण गरेर गाएका गीत सम्झेर रोए । धेरै रोए । राती नै दाङ फर्किदा अर्को दुर्घटना हुन सक्थ्यो । केही दिनअघि मात्रै बुटवलबाट शव बोकेर पाल्पा रिडी जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो ।

यति भयानक कुरा योगी र शर्मालाई मात्रै पत्तो थियो । जुन कुरा कार्यक्रम अवधिभर दुवैले सार्वजनिक गर्न चाहेनन् । कार्यक्रम सकियो । रात बित्यो । बिहान कुखुराकै डाकोमा शिशिर र शर्मा दुवै जना दाङ लागे । जहाँ आमाको शरीर त थियो । तर सास थिएन । 

लमही गढवाको राप्ती नदी किनारमा अन्तिम पटक आमाको अनुहार हेरेपछि शिशिरले दागबत्ती दिए । आमाको चित्ता जल्यो । शिशिर किनारमा उभिए । एक कारुणिक दृश्य थियो । जुन दृश्यभित्रको पीडा स्वयंम शिशिर भोगिरहेका थिए ।

यो सबै आफ््नै आँखाले देखेका शर्माले आमालाई दागबत्ती दिँदै गरेका शिशिरको फोटो फेसबुकमा राखेर लेखे, ‘सुर्खेतको वीरेन्द्रनगरमा भएको ‘शिशिर योगी एकल साँझ’ सुरु हुनु एक घण्टा अगावै असामयिक स्वर्गवास हुनुभएको गायक शिशिर योगीकी ममतामयी आमाको लमही स्थित गढवा राप्ती नदीमा भएको अन्तेष्टीमा सहभागी भएर सुर्खेत फर्केको छु। आमाको मृत्युको खवर मनभित्र दबाएर करिब ३ घण्टा एकल प्रस्तुति दिने वीर छोराकी आमाप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’

शेक्सपियरले भनेका छन्, ‘संसार एउटा रंगमञ्च हो । अनि मानिस एउटा रंगकर्मी ।’

तर पीडामा पनि आफ्नो कलाकर्म देखाउने कलाकार निकै कम हुन्छन् । मानिसको मनमा बसेका कलाकारले हत्तपत्त मञ्च छाड्दैनन् । जोसँग रुनलाई पनि आफ्नो व्यक्तिगत समय हुँदैन । 

राप्ती नदीमा आमाको अस्तु बगाएर घर फर्केका गायक योगीले बिहीबार बेलूकी मात्रै फेसबुकमा मातृशोक अभिव्यक्त गरे । ‘आमा’ क्याप्सन दिएर उनी आफैले गाएको गीतको लिंक क्लिक गर्दा गुञ्जिन्छ, ‘यता खोज्छु छैनौ आमा, उता खोज्छु छैनौ आमा...।’ 

फेसबुक कमेन्टमा उनका शुभचिन्तकले समवेदना प्रकट गर्दै लेखेका छन्, ‘आमाप्रति हार्दिक श्रद्धाञ्जली ।’


Author

थप समाचार
x