संगीत

‘देउरालीका ठिटी हो’ गाउने गायक कुमार सुब्बाको निधन

इकागज |
माघ २, २०७८ आइतबार ७:५३ बजे

काठमाडौँ - 

मेरो स्वरमा झोपडी र दरबारको कथा
सुनाइहिँड्छु लडाइँ र पिरतीको व्यथा
फूल रोए शीत बन्छ मैले रोए गीत
सारङ्गीको धुनमात्र गाइनेको जित ।


गरिब दुःखीका पीडा बोल्ने  गीतमा लय दिएर चर्चित बनेका गायक कुमार सुब्बाको निधन भएको छ । मुटुको रोगका कारण लामो समयदेखि उपचाररत उनको शनिबार सिलगुढीमा निधन भएको हो । दार्जिलिङको लेबोङको हर्सिङहट्टामा बसोबास गर्दै आएका सुब्बा उपचारको क्रममा सिलगुढीमा थिए । 

सन् १९६८ देखि वरिष्ठ गायकका रूपमा आकाशवाणी खर्साङमा काम गरेका सुब्बाले मनबहादुर मुखियाको चर्चित नाटक ‘अनि देउराली रुन्छ’मा दुई गीत गाउँदै नेपालमा सांगीतिक यात्रा सुरु गरेका थिए । नाटकमा रहेका दुई गीतबाहेक एक गीत थपेर रत्न रेकर्डिङ संस्थानमा रेकर्ड भएका गीत चर्चित बनेपछि उनी स्रोताको ओठमा झुण्डिन सफल भएका थिए । 

सो समयमा उनले  ‘हे फूल चुँडेर लाने हो’ र ‘देउरालीका ठिटी हो, नक्कल पार्नुपर्दैन’ नाटकका लागि गाएका थिए भने उसबेलाका संस्थानका अध्यक्ष बच्चु कैलाशले सुब्बाका गीत मन पराएपछि ‘सारंगीको तार’ समेत गरी तीन गीत रेकर्ड भएका थिए । 

‘सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुँइमा’ र ‘कति बुझाऊँ यो दुनियाँलाई, कति भिजाऊँ यी आँखालाई’कुमार सुब्बाले सर्वप्रथम रेकर्ड गरेका गीत हुन् ।  यी गीतलाई सुब्बाले कलकत्ताको एचएमभीमा गएर रेकर्ड गराएका थिए । 

‘जुनीभरि आर्जेको कमाइहरूलाई’  ‘तेरो माटोभरि म फालेर जान्छु’ आदि कालजयी गीतका गायक  सुब्बाका एक श्रीमती दुई छोरी र एक छोरा छन् ।
रेडियो नेपाल, आकाशवाणी खरसाङ, गान्तोक र गुवाहटी गरेर उनले पाँच सयभन्दा बढी गीत गाएका छन् ।  


Author

थप समाचार
x