संगीत

'कभी कभी' गाउने सानी केटी

सामीप्यराज तिमल्सेना |
पुस २४, २०७७ शुक्रवार १२:५४ बजे

‘नेपाली शाकिरा’ र ‘आइटम गायिका’ इन्दिरा जोशीको परिचयसँगै जोडिँदै आएका थप नाम हुन् । पहिलो नेपाली ताराको प्रतिस्पर्धामा टप फाइभ हुँदै गायनमा प्रवेश गरेकी इन्दिराले १५ वर्षे चानचुन सांगीतिक यात्रामा थुप्रै विधा र शैलीका गीत गाइन् । तर, उनका कुनै पनि गीतले ‘आइटम’ गायिकाको छवि बदल्न सकेनन् । यतिबेला भने इन्दिरा स्वयं त्यो छवि बदल्न कम्मर कसेर लागेकी छिन् । केही दिनअघि युट्युबमा सार्वजनिक भएको गीत ‘बेग हानी गाको त्यो डाँफे चरी’लाई उनले आफ्नो नयाँ यात्राको प्रस्थानबिन्‍दु भएको बताइन् । इकागजसँगको अन्तरंग कुराकानीमा उनले भनिन्, ‘अब म अर्थपूर्ण गीतका साथ बाँकीको सांगीतिक यात्रा अगाडि बढाउन चाहन्‍छु । सायद आइटम गीतमा अब मेरो आवाज नसुन्‍न पनि सक्‍नुहुन्‍छ ।’

रियालिटी सोमा प्रतिस्पर्धीदेखि निर्णायकसम्म
इन्दिरा जोशी ‘नेपाली तारा’को पहिलो सिजनकी प्रतिस्पर्धी हुन् । दीपक लिम्बू विजेता बनेको सो प्रतियोगितामा इन्दिराको यात्रा अन्तिम पाँचभित्र रहेर टुंगिएको थियो । तर, त्यसमा पनि उनको उपलब्धि के थियो भने यसरी  पाँचसम्म पुग्‍ने उनी एक मात्र महिला प्रतिस्पर्धी थिइन् । नेपाली तारामा भाग लिँदा इन्दिरा जम्मा १७ वर्षकी थिइन् । एसएलसी सकेर क्याम्पस पढ्न काठमाडौं आएकी थिइन् । बीचको खाली समय डोरेमी संगीत पाठशालामा  गायन कक्षा गर्न थालेकी थिइन् ।


यसरी पढ्न थालेको धेरै दिन पनि भएको थिएन, नेपाली ताराको अडिसन चलिरहेको खबर पाइन् । त्यहीँका संगीत गुरुको सुझावमा उनले अडिसन दिइन् । एकपछि अर्को खुड्किलो पार गर्दै अन्तिम पाँचसम्म पुगेर बाहिरिइन् । तर, प्रतिस्पर्धाबाट बाहिरिएको दिन इन्दिरा दुःखी थिइनन् । ‘दुःखी हुनुपर्ने कुरा नै के थियो र ?’ उनले १५ वर्षअघिको दिन सम्झँदै भनिन्, ‘न मलाई नेपाली तारा भयो भने के हुन्‍छ भन्‍ने थाहा थियो, न नहुँदा । त्यो बेलाको उमेर नै इनोसेन्स थियो । आफू नहारे साथीले कसरी जित्छ र भन्‍ने लाग्थ्यो ।’

तर, समयको चक्र इन्दिराको जीवनमा फास्ट फरवार्ड भयो । यसको एक दशकपछि नै इन्दिरा उस्तै खालको सांगीतिक प्रतिस्पर्धा ‘नेपाल आइडल’को जज बनिन् । ‘अमेरिकन आइडल’को नेपाली संस्करण ‘नेपाल आइडल’मा न्ह्यू बज्राचार्य र कालीप्रसाद बाँस्कोटासँगै इन्दिरा पनि जजको कुर्सीमा थिइन् । यसमा रमाइलो संयोग के पनि छ भने इन्दिराले जजको कुर्सीमा समानान्तर बस्ने न्ह्यू बज्राचार्यकै संगीत स्कुल डोरेमीमा संगीत सिकेकी थिइन् । न्ह्यू उनका गुरु थिए ।

पहिलो सिजनबाट सोको हिस्सा बनेकी इन्दिराले बाँकी दुई सिजन पनि सो जिम्मेवारी निर्वाह गरिन् । यो भूमिकाको मज्जा के छ भने जजको कुर्सीमा रहँदा पनि इन्दिरा आफू प्रतिस्पर्धी हुँदाको समयमा पुग्छिन् त्यो आँखाबाट प्रतिस्पर्धीलाई परख गर्छिन् ।

‘प्रतिस्पर्धीका रुपमा त्यो ठाउँमा बसेर आफूलाई प्रस्तुत गर्न कति गाह्रो छ मलाई राम्ररी थाहा छ । त्यसैले म खासमा जजभन्दा पनि उनीहरूको ‘बिग सिस्टर’को भूमिकामा ज्यादा देखिन्‍छु,’ इन्दिरा भन्‍छिन्, ‘टाइटल कोही एकले लैजान्‍छ तर यस्ता प्रतियोगिताबाट हामी सबैले केही न केही सिक्छौं । म आफैं विजेता थिइनँ तर मलाई संगीतमा अघि बढ्न टाइटलले रोकेन ।’

जेनेटिक ड्रिफ्ट अर्थात् पुस्तान्तर संगीत
इन्दिरा सात जना दिदी भाइमध्ये पाँचौँ सन्तान हुन् । उनीपछि एक बहिनी र भाइ छन् । तर, संगीतमा लाग्‍ने इन्दिरा एक मात्र सन्तान हुन् । परिवारमा यदाकदा गुनगुनाउनेबाहेक ढुक्कैसँग संगीतमा लाग्‍ने इन्दिरा मात्र हुन् । उनको परिवारमा बुबा र आमा कोही पनि यसमा रत्तिने गरेका थिएनन् । तर, इन्दिराका जमिनदार हजुरबा भने संगीतको पारखी ।

इन्दिराले सुनेअनुसार हजुरबाको बनारसका संगीतज्ञसँग खुब हिमचिम थियो । उनले आफूमा हजुरबाकै गुण सरेको हुनसक्ने अनुमान गर्छिन् । 'बुबा पनि सुन्‍न त खुब गीत सुन्‍नुहुन्‍छ तर आफैंले गाएको चैं सुनिनँ । तर, हजुरबा संगीतको पारखी । हार्मोनियम घरमा राखेर बनारसका संगीतज्ञ बोलाएर महफिल्म जमाउनुहुन्थ्यो रे,’ इन्दिराले बताइन्, ‘सायद हजुरबाबाटै ममा संगीतको गुण सर्‍यो ।’

तराईको नवलपरासीको परासी बजारमा हुर्किएकी इन्दिरा सानोमा हिन्दी गीत मात्र गाउँथिन् । ‘कभी कभी’ उनको सबैभन्दा मन पर्ने गीत । आफू वरपरका कार्यक्रममा सधैं यो गीत गाउने । त्यसैले उनलाई सबैले ‘कभी कभी’गाउने केटीका रुपमा चिन्थे । काठमाडौं आएर मात्र हो, उनले नेपाली गायक गायिकाको गीत सुन्‍ने गरेको । इन्दिरा भन्‍छिन्, ‘खासमा नेपाली तारामा भाग लिएपछि मात्र हो मैले तारादेवी, अरुणा लामाको गीत सुनेको । सुरुसुरुमा त गुरुले पनि यसलाई श्रीमान् गम्भीरबाहेक अरु केही आउँदैन भन्‍नुहुन्थ्यो । हो, मैले धेरै गीत सुनेको पनि थिइनँ ।’

आइटममा एक नम्बर
नेपाली ताराको प्रतिस्पर्धीमध्ये सबैभन्दा ढिलो एल्बम निकाल्ने गायिकामा पर्छिन् इन्दिरा । टपटेनमा रहेका गायक गायिकाले एल्बम निकालेर बजारमा छ्याप्पछ्याप्ती भइसक्दा इन्दिराको भने एल्बमको सुरसार नै थिएन । अरु आफ्‍नै एल्बम बनाउन लागिरहँदा इन्दिरा भने रिमिक्स गीतमा आवाज दिन व्यस्त थिइन् । सन् २००५ तिर नेपाली संगीतमा रिमिक्स गर्ने लहर उचाइमा थियो । पुराना गीतहरू धमाधम नयाँ गायक गायिकाको आवाजमा रेकर्ड भइरहेका थिए ।

यही समयमा ‘माछी मार न हो दाइ हो’, ‘सिरीमा सिरी नि’ ‘तिमी मेरो म तिम्रो’, ‘को हो त्यो’ जस्ता रिमिक्स गीतमा इन्दिराले आवाज दिने मौका पाइन् । तर् सन् २०१२ मा रिलिज भएको ‘लुट’ चलचित्रको गीत ‘उध्रेको चोली’ले उनलाई रातारात आइटम गायिकाको शिखर चढायो । यो गीतपछि फिल्मको पार्श्‍व गायनमा इन्दिराको माग यत्ति बढ्यो कि हरेक फिल्ममा आइटम गीत अनिवार्य मानिन थालियो भने ती गीतमा इन्दिराको स्वर । केही गीतमा त इन्दिरा स्वंय नाचिन् पनि ।

फिल्म ‘फन्को’को ‘लोकल ब्युटी’ र फिल्म ‘कथा काठमाडौं’को ‘रातको कथा’मा इन्दिरा स्वयं फिचर्ड छन् । तर, आफूले गाएका गीत जति पर्दामा हेर्दै गयो उति उनलाई विरक्त लाग्दै गयो । एक डेढ वर्षअघि उनले मनमनै निर्णय गरिन् ‘भो पुग्यो, म यस्ता गीत गाउँदिनँ ।’ उनी यो कुरालाई ठूलो इस्यु बनाउने पक्षमा छैनन् तर सकभर उनलाई यस्ता गाउन नपरे हुन्थ्यो भन्‍ने लाग्दै जान थालेको छ ।

‘भ्वाइसको थ्रो, स्टाइल, रेन्ज यस्ता गीत गाउन धेरै मेहनत पर्छ । तर, यस्ता गीतको छायांकनमा मेहनत नै हुन छाड्यो । ग्ल्यामर हुनुपर्ने गीत हेर्नै नसक्‍ने गरी भल्गर देखिन थाले । त्यसैले मोहभंग हुँदै गयो,’ इन्दिराले गुह्य कुरा खोल्दै भनिन् ।

नायिका बन्‍न आँट आएन
स्टेज सोका लागि पहिलो रोजाइकी गायिका हुन् इन्दिरा । गीतसँगै कम्मर पनि मर्काउन सक्ने खुबी छ उनको । ‘नेपाली शाकिरा’ भन्‍ने उपनाम यही खुबीका कारण पाएकी हुन् । सौन्दर्यको परम्परागत परिभाषामा रहेर उनलाई मूल्यांकन गर्ने हो भने उनले पासमार्क हैन डिस्टिङस्न नै ल्याउँछिन् । सधैं नयाँ अनुहारको खोजीमा रहने फिल्म उद्योगले उनलाई बारम्बार हिरोइन बन्‍न कर गर्‍यो । तर, इन्दिराले हिरोइन बन्‍ने हिम्मत गर्न गरिन्‍न । ‘के उनलाई हिरोइन बनूँ भन्‍ने लागेन ?’ इकागजको प्रश्नमा इन्दिराले कताकति रहर भए पनि आत्मविश्वास नभएको बताइन् ।

उनले भनिन्, ‘धेरैले प्रस्ताव ल्याउनु भएको हो तर मलाई हिम्मतै भएन । अभिनेत्री बन्‍न जति मेहनत पथ्र्यो त्यो गर्ने धैर्य पनि थिएन भनूँ ।’ तर, मन परेका म्युजिक भिडियोमा अभिनय गरेर त्यो रहर पूरा गरेको इन्दिरा बताउँछिन् ।

बेहुली बन्‍ने तर कहिले ? 
जसरी पार्श्‍व संगीतमा ‘उध्रेको चोली’ले इन्दिरा चिनाउँछ, त्यसैगरी पप तथा आधुनिक दर्शक-स्रोताबीच उनले गाएको ‘बेहुली’ लोकप्रिय छ । ‘बेहुली’ गाउने गायिका आफैं चैं बेहुली कहिले बन्‍ने ?’ इन्दिरा आफू विवाहको पक्षमा रहेको भए पनि विवाहका लागि चाहिने केटा नभएकाले यो कुरा भविष्यको गर्भमै रहेको बताउँछिन् ।

‘मेरो घरमा ढिलाढिलै विवाह गर्ने चलन छ । मभन्दा जेठी दिदीको भर्खरै विवाह भएको छ । मसँग अझै एक दुई वर्ष छ । त्यो बीचमा कोही मान्‍छे पनि भेटिएला नि,’ इन्दिराले जिस्कँदै भनिन् ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x