संगीत

संस्कृति, संगीत र सेवाको त्रिवेणी ‘इन्द्रेणी’को लोकप्रियता र मेरो डर

यम घिमिरे |
माघ १, २०७७ ८:५७ बजे

इन्द्रेणी टेलिभिजन कार्यक्रम हो, दोहोरी गीत गाएर मनोरञ्जन पस्किने । त्यसका सञ्चालक एवं कार्यकारी निर्देशक कृष्ण कँडेल खोइ कुन कुन बार, कुन-कुन टेलिभिजनमा यो आउँछ भन्‍छन् दोहोर्‍याई दोहोर्‍याई म त्यो सम्झिन सक्दिनँ । मेरा लागि यो सर्वसुलभ युट्युबमा आउँछ । इन्द्रेणी कार्यक्रमले उल्कैसँगले लोकप्रियता कमाएको निक्कै नै भइसक्यो ।

म हेर्दै हेर्दिनथें, यस्ता लोकदोहोरी गीतका कार्यक्रम । मलाई दोहोरी गीतमा अलिकति केही भन्‍न पाएको छैन, त्यही भाकाको मुखडा दोहोर्याएको दोहोर्याई गर्ने कुरा साँच्ची नै झ्याउ लाग्छ । ‘बल्ल पर्यो नीरमाया माकुरी जालैमा, पर्योपर्यो नीरमाया माकुरी जालैमा’ भनेको भन्यै गरेर कहिलेसम्म सक्ने, कहाँ पुगेर यो टुंगिने भनेजस्तो दिक्दार लाग्छ, मलाई दोहोरी गीतको पारा । 


ADVERTISEMENT

तर कृष्ण कँडेलले प्रस्तुत गर्ने दोहोरी गीतको कार्यक्रम ‘इन्द्रेणी’ बिस्तारै हेर्न थालेको छु । दोहोरी गीतको भाकाको स्थायी गेडाको आवृत्तिले दिक्क लाउने कुरा मेरो व्यक्तिगत अनुभूति हो । तर, इन्द्रेणी त व्यापक अर्थमा समाजलाई हितकारी भएर निस्किए जस्तो लाग्छ मलाई । माध्यम त्यही दोहोरी लोकगीत नै हो ।

इन्द्रेणीको आफ्नै व्यापक समाजशास्त्र छ । करोडौंकरोड बजेट चलाउने आफ्नै व्यापक अर्थतन्त्र छ, ‘इन्द्रेणी अर्थतन्त्र’ । प्रत्येक दिन युट्युब र टेलिभिजनमा आउने यो कार्यक्रममा देखिने टिम नै एउटा सानो नेपालको नमुना जस्तो छ । अनेक जातजाति, क्षेत्र र संस्कृतिका पहिरन, नृत्य, शब्द, गीत र भाका लिएर त्यहाँ चार वर्ण छत्तीस जातका मान्‍छे उपस्थित हुन्‍छन् । बालकदेखि, किशोरवय, युवा, प्रौढ र ज्येष्ठ नागरिक सबैलाई मोहित पारेको छ यसले ।  भन्दा पनि तराई मधेसको कला, भाषा, भाका, मान्‍छे र पहिरन देखेको छैन मैले इन्द्रेणीमा । आशा छ, समयक्रममा त्यो पनि आउनेछ ।   

समाजमा रोग, शोक र भोकले गलेका मान्‍छेहरू पत्ता लाउने, देशका कुनाकाप्चा धाएर तिनकामा पुग्ने वा तिनलाई बोलाएर सुम्सुम्याउने, महलम लगाउने र सय थरी सहानुभूतिका चेपारो भन्दा सयको नोट पाए ठूलो हुने दुःखी गरिबलाई केही न केही नगद हातमा राखिदिएर सारा संसारलाई गरेर देखाउने । त्यसमाथि लोकभाका र लोकसंस्कृतिको जगेर्ना गर्ने, त्यसलाई युवापुस्तामाझ लोकप्रिय बनाउने, अनेक प्रतिभाहरूलाई पहिचान गरेर ल्याई तिनको प्रवध्र्दन गरिदिने । अनि दान, दातव्य गर्ने परोपकारी भावना भएका मान्‍छेहरूको खोजीमार्फत समाजमा एकता, प्रेम, सदाशयता र भाइचाराको मूल्य पनि बढाउने ।  अनि धनको अभावमा शिक्षाबाट वञ्चित भएका बालबालिकालाई सहरमा पढाउने चाँजोपाँजो पनि मिलाउने ।

कसैलाई एकै रातमा देउता र अर्को रातमा दानव बनाउने नेपाली समाजको भावुक चरित्रले कँडेललाई पनि छोड्‌ने छैन नै ।

इन्द्रेणीमार्फत समाजका धेरै मान्‍छेको परोपकारी भावना जागेर उठेको देख्दै छु । मान्‍छेले देखेका छन् कँडेल कसैले परोपकार गर्न पठाएको पैसा क्यामराको अगाडि उभिएर तोकिएकै रकम तोकिएकै व्यक्ति वा संस्थालाई तमसुक पढेझैँ पढेर हाताहाती दिन्‍छन् । आफ्नै नाममा तोकेर पठाएको छ कुनै रकम कसैले भने दिनदहाडै सोझै आफ्नै गोजीमा पनि हाल्छन् । यो तरिकालाई जनताले मानेका छन् । ‘यो हो नि तरिका’ भनेका छन् । र, कँडेललाई भेटेर सकेको दिन आफ्नो पालो नपाइने हो कि भनेर बरु चिन्तामा पो छन् मान्‍छे ।

कँडेलले ३२ जनाको जम्बो टोलीलाई रोजगार पनि दिएका छन् इन्द्रेणीमा । बालबालिकादेखि वयस्क, अधबैंसे सबै छन् उनको टिममा । 

लोकदोहोरी सर्वाधिक रुचाइएको गीतसंगीत विधा हो, नेपालमा । यही सांस्कृतिक खुराक पस्किएर गाउँगाउँमा बस्तीबस्तीमा लोकप्रिय भएका कँडेललाई अहिले पैसाको बिटो बुझाउन आतुुर भएर पालो पर्खिने मेचीकालीका र संसारभर छरिएका नेपाली र नेपाली मूलका अन्य मान्‍छेको ताँती छ ।

समाजमा धर्मकर्म गर्न सप्ताह लाउने, चारधाम जाने चलन हो, हाम्रो । पशुपतिमा गएर दीनदुःखीलाई खाना खुवाउने वा लाखबत्ती बालेर पुण्य कमाउने समाज हो, हाम्रो । तर इन्द्रेणीले समाजको परम्परा फेर्दै गरेको देख्छु म । अहिले आफ्ना पितृका नाममा, जन्मदिन र विवाह वर्षगाँठमा, हजुरबा हजुरआमाको चौरासी पूजाका अवसरमा वा अन्य कुनै प्रसंग निकालेर होस् हजार हजार, लाख लाखका बिटा बोकेर मान्‍छे कृष्ण कँडेललाई मेरो घरद्वारमा आइदिनुपर्‍यो भनेर बिन्ती गर्दै छन् । व्यासमा पण्डित राखेर भगवान्‌का लीला सुनेर पुण्य कमाउने जनमानस टीभीमा पैसाको मुठो बाँडेर, कृष्ण कँडेलको दर्शन गरेर, कल्पना दाहाल र रमेश प्रसाईंका घोचपेचपूर्ण प्रेमालापका दोहोरी श्रवण गरेर परोपकार गर्न र पुण्य कमाउन तयार भइसक्यो यो दुई तीन वर्षभित्रमा ।

टीभीमा देखाएर परोपकार गर्न लालायित हुँदै छ समाज । अरूको उपकार गर्न दान-दातव्य दिने चलन सबै मानव समाजको गुण हो । दिनेले दिन तयार हुन्जेल दान लिनेदिने चलन एकदमै राम्रो सामाजिक कार्य हो । कुनै लागु पदार्थको दुर्व्यसनीले जस्तो दान दिन चाहनेले पैसा छैन भनेर चोर्न, कसैको घर फोर्न जाने होइन । भएको र गच्‍छेले भ्याएको मात्र दिने हो ।

इन्द्रेणीमा परोपकारी मनका हर्षका आँसु छन् । दीनदुःखीका भक्कानो फुटेर निस्किएका पीडाका नुनिला ढिक्का फुट्‌छन्, इन्द्रेणीमा । कृष्ण कँडेल भावविभोर भएर मान्‍छेका पीर व्यथा खोतल्छन् र दाताले दिएको पैसाबाट सहयोगको रकम तिनलाई थमाउँछन् । अनि यो सबै दृश्य आम नेपालीले टीभीमा हेर्छन्, रुन्‍छन्, कँडेलको काम गर्ने शैलीबाट साँच्ची नै प्रभावित हुन्‍छ र आफू पनि केही न केही थैली कृष्ण कँडेललाई बुझाई छोड्ने प्रण गरेर बस्छन् ।

किन यति धेरै जनताको माया र विश्वास पाए त कृष्ण कँडेलले ?  यो प्रश्नको उत्तर खोजिनुपर्ने हो । दीनदुःखीको सेवा गर्नुपर्ने, तिनलाई पर्र्या बेला हेर्नुपर्ने सरकार र दलका नेताहरू कुर्सीको भाग तान्‍न लुछाचुँडीमा मग्न रहेको बेला कृष्ण कँडेल पैसा बाँडेको बाँड्यै छन्, दिनेले देको देइछन् । 

पैसाको मुख कालो हुन्‍छ भनेर विश्वास गर्ने हाम्रो समाजमा हिसाबकिताब हिनामिना हुनु सबैभन्दा ठूलो विश्वासको संकट हो । अझ जनताले पैसाको मामिलामा राज्यलाई त पटक्कै विश्वास गर्न नसक्ने वातावरण छ, हाम्रोमा सधैं । सायद क्यामराले खिचेर उठेको पैसा र खर्च गरेको पैसाको हिसाब जनतालाई देखाउने भएर जनताले विश्वास गरेका होलान्, कँडेलले भ्रष्टाचार गर्दैन भनेर ।

इन्द्रेणीलाई पनि जोखिम छ
कँडेल यति व्यस्त र लोकप्रिय छन्, नेपाली बाआमा, दिदीबहिनी, दाजुभाइ, हजुरबा, हजुरआमा माझमा कि यिनलाई शत्रु नलाग्लान् भन्‍न पनि सकिन्‍न । मान्‍छे उर्लेर गयो शिखरको बाटो मात्रै भने त्यसमा समयले नै पनि परिवर्तन चाहन्‍छ कि जस्तो पनि लाग्छ मलाई । कसैका पनि दिन सधैं एकनास नरहने त नियमै पनि हो हुन त ।

मदन भण्डारीको तेज र प्रभाव झिलिक्क उर्लेको र सेलाएको देखेको म यस्ता चामत्कारिक मान्‍छेको काम र प्रभावको स्थायित्वमाथि सधैं शंकालु हुन्‍छु । त्यसमाथि ‘देशभक्त भीमसेन थापाहरू दण्डित हुने प्रथा भएको देशमा’ जनताले चाहेको र जनताको भलो गरिरहेको मान्‍छेलाई अठार अंकुश लगाएर गिराउनेहरू सधैँ नै आफ्नो (कु)कर्ममा तल्लीन नै हुन्‍छन् । नपत्याए कुलमान घिसिङ नामका बिजुलीका हाकिमलाई म्याद नथप्‍नु किन ? कसैले काम गरेर देखाएर जस लिँदा पनि त्यसलाई पचाउन नसक्ने हाम्रै आफ्नै नेपाली ‘ब्रान्ड’को आनीबानी र व्यहोरा छँदै छ, विदेशी चलखेललाई दोष लाउनै पर्दैन ।     

कृष्ण कँडेलले बालश्रम शोषण गर्यो, सहकर्मीसँग राम्रो व्यवहार गरेन भन्‍ने जस्ता हल्ला चलाइसकेका छन् । यो उनको सत्कर्म गरेर आर्जन गरेको लोकप्रियता र सफलतालाई नसहनेहरूले लाएको तीलको पहाडवाला फत्तुर होला भन्‍ने ठानेको छु मैले । अथवा, अरू सबैथोक भाँडमा जाओस् तर हाम्रो ‘भ्युज भोल्युम’ चैं अन्त नजाओस् भन्‍ने कुख्यात युट्युबेहरूको झिल्कोलाई डढेलो बनाउने मसलादार कुरा नि होला ।

त्यसमाथि दाताहरूले दिने करोडौँ करोड पैसाको मामिला पनि भएको ठाउँ हो, इन्द्रेणी । सायद इन्द्रेणी समूहको सञ्चालन खर्च र पारिश्रमिक खर्च पनि दाताको रकमबाट नै चल्ने होला । यस्तो राम्रो काम गर्नेहरूले पारिश्रमिक पनि राम्रै पाउनु त पर्यो नै । जब ठूलोठूलो पैसा संलग्न हुन्‍छ कुनै पनि मामिलामा त्यहाँ मान्‍छेको जातले आफ्नो व्रतलाई धेरै दिन टिकाइराख्‍न सक्दैन । त्यसमाथि त्यत्रो ठूलो टिमका मान्‍छेको व्यक्तिगत महत्वाकांक्षा, एक अर्काबीचको तुलना, अधिकार र निर्णय क्षमताको उचित वितरण, सबैलाई समदूरीमा राखेर व्यवहार गर्ने र अवसर दिने कुरा नै पनि चानचुने व्यवस्थापन कौशलको कुरा होइन ।

कँडेलले इन्द्रेणीमा देखाएको हेर्दा लाग्छ, त्यहाँ पैसा बोरामा भरेर ट्रकमै आउँछ । त्यो विधि पैसाको प्रयोगमा कँडेलले कतिको पारदर्शितापूर्ण र व्यावसायिक खातापाता राखेका छन् त्यो उनले जानून् । कानुनी राजमा र सभ्य समाजमा पैसा जुनसुकै स्रोतबाट आएको भए पनि हिसाब देखाएर मात्रै चलाउन पाइन्‍छ र आफ्नो हकले भेट्‌ने जति मात्रै  पाइन्‍छ ।

फगत कामना छ, यो जोगी चैं त्यो निराशाको ‘जुन जोगी’मा परिणत नहोस् । दाताले स्वतःस्फूर्त यसरी पैसा खन्याउन्जेल यो चलिरहोस्, कर्ताकै कारणले यो छिन्‍नभिन्‍न नहोस् । दाता नै सकिए भने बेग्लै कुरा । किनभने यसले ‘सेवा, सन्देश र मनोरञ्जन’ साँच्ची नै प्रभावकारी रूपले सञ्चार गरेको छ, नेपाली समाजमा । 

जनताले अहिलेसम्म मानेका छन्, कँडेल बदमासी गर्दैन । ‘अति नै आवश्यक भएका गरिबदुःखीलाई ५० हजार’ भनेर दान दिएको पैसा कँडेलले आफ्नै तजबिजले अनेक मान्‍छेलाई पाँच, दस, बीस, पच्चीस हजारका दरले बाँड्दा कुनै व्यक्ति विशेषले दिएको त्यो ५० हजार नै बाँडियो कि अलिकति उबारियो ? भन्‍ने कुराको लेखा उनले राखेर दातालाई हिसाब देखाउँछन् कि देखाउँदैनन् त्यो उनलाई थाहा होला । यस्ता फलानालाई नै भनेर रकम नतोकिकन कँडेलले स्वविवेकले गरीबदुःखीलाई बाँडिदिनू है भनेर आउने पैसा पनि अथाह नै हुने देखिन्‍छ त्यहाँ । सुन्दा, कँडेलमाथि यस्तो ‘तुच्छ’ सोच राख्ने ? भन्‍ने ठान्ला उनको फ्यान जमातले तर पैसाको मामिलामा बेलैदेखि होसियारी गरेर चलिएन भने कसैलाई एकैरातमा देउता र अर्को रातमा दानव बनाउने नेपाली समाजको भावुक चरित्रले कँडेललाई पनि छोड्ने छैन नै ।

कँडेललाई केही सुझाव
आजको दिनमा कँडेल देवदूत मानिएका छन् समाजमा । उनले गरेको कामका लागि उनलाई जनताको यो हदको माया र विश्वास पाउन सुहाउँछ पनि । कँडेल आज जसरी घरघरमा पूज्य छन् त्यो उनले गरेको कर्मको फल हो । अघिपछि बद्री केदार पुर्याइदेओ, सप्ताह लाइदेओ भन्‍ने आमा, हजुरआमाहरू अहिले बरु कृष्ण कँडेलका कार्यक्रममा पुर्याइदेओ उता लाग्ने खर्च यसैलाई दिन्‍छु, बाँड्दिन्‍छ भोकानांगालाई, पुण्य पाइन्‍छ, स्वर्ग जाइन्‍छ भन्‍न थालेका छन् । कँडेललाई पछाडि फर्केर हेर्ने फुर्सद छैन ।

इन्द्रेणीको नियमितजस्तो दर्शक भएर क्यानाडाबाट सपरिवारले कँडेलको कार्यक्रम हेर्दा केही कुरा त्यसो चैं नगरे हुनेथियो जस्तो लाग्छ । पहिलो कुरा उनले कार्यक्रम सञ्चालनका दौरान बोल्दा कसै व्यक्ति वा समूहलाई लक्षित गरेर नकारात्मक कुरा नगरे हुने हो । जस्तै, ‘गाउँका गरिब दुःखीलाई कसले हेर्छ ? एउटा महोत्सवमा गाउन बोलाउँदा एकैदिनमा एउटा चलेको कलाकारलाई एक लाख दिनुपर्छ, ओझेल परेका दूरदराजका प्रतिभालाई कसले हेर्छ ?’ उनले यो कुरा तीनचार कार्यक्रममा लगातार भने दोहोर्याई दोहोर्याई ।

यति लोकप्रिय ‘सेलिब्रेटी’ हैसियत बनाएको मान्‍छेले बोलेको, खाएको, लाएको कुराले समाजलाई छिटो प्रभाव पार्छ । उनको यस्तो भनाइले महोत्सवमा गाएर आफ्नो पारिश्रमिक लिने कलाकारको सम्मान गर्दैन । बरु वैरीभाव बढाउँछ ।

अर्को कुरा सरकार, राजनीतिक दल र तिनका नेताले जनतालाई, दुःखी गरिबलाई हेरेनन् भनेर नि गुनासो गरिरहन्‍छन् उनी मान्‍छेका कथा, व्यथा खोतल्ने क्रममा । उनले यो नि भन्‍न जरुरत छैन । ‘सेवा, सन्देश र मनोरञ्जन’को नारा भएको इन्द्रेणीले जे गरिरहेको छ, त्यही काममा बढी जोड दिने हो । नेता र तिनका सरकार र पार्टीको आलोचना गर्दा अनावश्यक विवादमा तानिनेछन् उनी एकदिन वा अर्को दिन । कुनै कार्यकर्ताले आफ्नो र कुनै अरूले पराइ ठानिदिने डर हुन्‍छ यसले गर्दा ।

कँडेलको अर्को एउटा मलाई खड्केको कुरा हो, उनी कसैलाई अतिरञ्जनापूर्ण प्रशंसा गर्छन् दोहोर्याई दोहोर्याई । इलामको घुमघाममा बनाएका कार्यक्रममा उनले गोपाल कर्माचार्य र उनका भाइ स्थानीय कलाकार रोशन कर्माचार्यको तीन दिन तीन रात फुक्लो प्रशंसा गरेको गर्यै गरे । उनीहरू प्रशंसाका लायक त हुन् तर सुन्‍नेलाई दिक्क लाग्‍नेगरी आफू बत्तिएको उनले थाहा पाउनुपर्छ सबैथरीका दर्शकको मान मर्यादा राख्न पनि । यस्ता अरू नि प्रशस्तै उदाहरण टिप्न सकिन्‍छ उनको बोलीबाट । मञ्चमा भएका केश पाकेका ज्येष्ठ बाहरूलाई ताकेर तुक्का भट्याउँदा पनि ‘राम्राराम्रा तरुनी देखेर बाहरू आज हौसिएर जोसमा आउनुभएको छ’ भन्दिए कतिपल्ट । यो त्यति गत्तिलो र कलावाला सुनिएन हेर्ने सुन्‍नेलाई ।

अहिले आफ्‍ना पितृका नाममा, जन्मदिन र विवाह वर्षगाँठमा, हजुरबा-हजुरआमाको चौरासी पूजाका अवसरमा वा अन्य कुनै प्रसंग निकालेर होस् हजार-हजार, लाख-लाखका बिटा बोकेर कृष्ण कँडेललाई मेरो घरद्वारमा आइदिनुपर्‍यो भनेर बिन्ती गर्दै छन् ।

दोहोरीमा बोलाएका दूधेबालकजस्ता प्रतिभाहरूसँग गाउने वयस्कहरूले तुक्का हाल्दा उनीहरूको उमेर र बालमनोविज्ञानसम्मत शब्द र अर्थलाई अनि ध्यान पुर्याउनुपर्ने हो । बिहे गर्ने, म्वाइँ खाने, लभ पार्ने, मुटुभित्र राख्‍ने, आँखा जुधाउने, भागेर जानेजस्ता कुरा बालबालिकालाई सुहाउने भाषा र अर्थका कुरा होइनन् । पढाइको महत्व, नपढ्‌दाका दुःख, खेल्ने, खाने, रमाउने, बाआमालाई काम सघाउने, बहादुरी काम गर्ने, असल मान्‍छेका गुणजस्ता कुरामा बालबालिकालाई सोझ्याएर गीत गाए हुने हो ।

अर्को कुरा कँडेलको इन्द्रेणीलाई संसारभरिका नेपालीले हेर्छन् । भिन्‍न संस्कृति, जीवनपध्दति र मूल्य-मान्यता भएका देश र समाजमा बस्‍ने नेपाली उनका फ्यान छन् । क्यानाडामा हुर्किंदै गरेकी हाम्री १३ वर्षे छोरी पनि कँडेलले ल्याउने दोहोरीकी फ्यान भएकी छे अचेल । तर उसलाई कँडेलले मान्‍छेसँग अलिकति व्यक्तिगत दूरी (personal space and privacy) नराखी ढेप्पिएको, बोल्दाबोल्दै बा, हजुरबा, हजुरआमा, पुरुष, महिला, बालबालिकाका हात समाएको समाई गरेको, सुम्सुमाएको, पटकपटक धाप मारेको एकदम भद्दा लाग्छ । मायाले, स्‍नेहले, प्रशंसाले व्यक्तिलाई ढंग पुर्याएर धाप मार्ने, अँगालो हाल्ने त विश्वव्यापी मानवीय व्यवहार हो । तर, बोल्दाबोल्दै मान्‍छेका हात मुसार्ने, छोइरहने, ढाड र काँधमा थपथ्प्याइरहने गर्दा व्यक्तिव्यक्ति बीचको ख्याल गर्नुपर्ने, सम्मान गर्नुपर्ने र कायम गर्नुपर्ने वैयक्तिक दूरी र निजत्वको मूल्यबाट उनी बेखबर जस्तो देखिन्‍छ ।

छत्र शाही र रबिना बसेलले गाएको एउटा कार्यक्रममा अन्तिममा उनले रबिना र उनकी साथीलाई आफू छेउमा बोलाउँछन् र उनीहरूको कला र प्रतिभाको कदर गर्ने क्रममा यति भावुक भएर नानीहरूलाई अँगालो मार्छन्, सुम्सुम्याउँछन् कि झ्याउ नै लाग्छ त्यो दृश्यले । इलामको कार्यक्रममा पनि पुराना गायक कलाकार कोमल निरौलालाई धाप मारेको मारेई मारेई, हात पक्डेको पक्डेई, सुम्सुम्याको सुम्सुम्याई गर्छन्, कँडेल ।

अलिकति वैयक्तिक दूरी कायम गरेर बसिदिए हुने नि कँडेलले, एक दुई पल्ट माया स्नेह प्रकट गर्न मान्‍छेलाई धाप मारे नि, अँगालो हाले नि मान्‍छेलाई छुसुकछुसुक छोको छोई, मुसारेको मुसारेकै नगरे हुने नि कँडेलले भन्‍ने लाग्छ हामी उनका फ्यान परिवारलाई यहाँ क्यानाडामा । तर कँडेलले अरूले गाएका बेला नाचेर, हात फालेर, तुक्कामा स्वर खापेर र घत लाग्‍ने सवालजवाफ आउँदा रौसिएको हौसिएको भने खुब गज्जब लाग्छ । निक्कै ठूलो समाजसेवा गरिरहेका कृष्ण कँडेलको इन्द्रेणीमा घुनपुतली नलागोस् । (घिमिरे क्यानाडामा nepaltouch.com इ-पत्रिकामा आबद्ध छन् ।)



Author

थप समाचार