संगीत

लोककवि अलि मियाँ जयन्ती

राजाकै विरोधमा गीत सुनाए, पुरस्कार लत्याइदिए

अनिष भट्टराई |
फागुन १५, २०७७ १८:३७ बजे

पोखरा : लमजुङ करपुटारमा ४५ वर्षीया महिलाले ५ जना पुरुषलाई एक्लैले दोहोरीमा हराइन् । जित स्वरुप उनले ती पाँचैजनालाई गोठालो बनाइन् । ती पुरुषका बाउआमा छोराहरूलाई छुटाउन चाहन्थे । तर उपाय के ? ती महिलालाई फेरि दोहोरीमा हराउने मान्छे खोज्‍नुपर्ने भयो । 

तिनताका पोखरामा दोहोरीमा कहलिएको एउटा युवा करपुटार जाने हल्ला ती बाउआमाका कानमा पनि पर्‍यो । तर दोहोरीमा खप्पिस अलि मियाँ करपुटार गएनन्, उनका जेठा छोरा हनिफ त्यहाँ पुगे । हनिफ पनि गीत गाउन उत्तिकै माहिर थिए । 


ADVERTISEMENT

हनिफमा बाबुका गुणहरू थिए, बाबुजस्तै दोहोरी गाउने, कविता कोर्ने, अनि रत्यौली पनि गाउने । गाउँलेले उनैलाई तानेर ती महिला कहाँ दोहोरी खेल्न लगे । जनै पूर्णिमाको बेला दोहोरी बसे । अन्तिममा हनिफले ‘म त जनै बाँध्‍न आएको हुँ’ भनेपछि जनै लगाइदिए । ती महिलाले हनिफलाई ‘प्रसाद के लिन्छौ’ भनी सोधिन् । प्रसादमा हनिफले ती ५ पुरुष मागे र गोठालो बस्‍नबाट छुटाए । 

पोखराको कुँडहरमा मुसलमान समुदायको बाक्लै बस्ती छ । उनीहरूकै बस्तीका कारण ठाउँको नामै छ, मियाँपाटन । हनिफ त्यहींका रैथाने हुन् । पोखरा-१३ मियाँपाटनको ३८ नम्बर घर उनकै हो । दुई तले घरमा २१ जना बस्छन् । घर छिरेपछि दायाँपट्टिको सुरुको कोठामा हनिफ भेटिए । सानो कोठामा दुई कुर्ची, एक टेबुल, टेबुलमाथि टिभी थियो । टेबलमा छरपस्ट औषधि अनि केही टुक्रा बिस्कुट छरिएका थिए । पलाङमा हनिफ तातो गरी कम्मल ओढेर बसेका थिए ।
 
हनिफ आफ्ना बुबा अलि मियाँको स्मृतिमा डुबेका छन् । बुबाले गाएका, कोरेका गीत, कविताका हरफ-हरफ दुरुस्तै सुनाउँछन् ।  । ७४ वर्षीय उनको मानसपटलमा बुबाका यादहरूले दह्रो गरी डेरा जमाएका छन् । अनि उनको लवज पनि बुबाकै शैलीमा बहिरहेछ, बुबाकै शब्दहरू पछ्याइरहेछन् । 

‘जहाँ पनि जस्तो सुकै शैलीमा पनि गाइदिने, बुटवल गयो त्यहीँको शैलीमा, काठमाडौं गयो, बागलुङ गयो त्यहीँको भाकामा गाइदिने,’ बुबाको बखान गर्छन्, ‘दमौलीसम्म हिँडेरै गएर गाइदिने, मैले सुनेको सबैभन्दा मिठो स्वर थियो त्यो ।’
००० 
अलि मियाँ पोखराको मियाँपाटनमा १९७५ फागुन १५ मा जन्मिए । अलि मियाँका १३ दिदीभाइ थिए । तर अलि मियाँ र उनका दाइमात्र बाँचे । अरु १९९० को हैजाले स्वर्गारोहण भए । त्यसो त अलि मियाँलाई हनिफ ‘भाग्यले ठगेको व्यक्ति’ पनि भन्‍न रुचाउँछन् । १८ महिनामै अलि मियाँ मातृवात्सल्यबाट बञ्‍चित भए । २ वर्षको उमेरमै उनको जीवनमा अर्को बज्रापात आयो । उनका बाबु पनि बिते, अलिलाई टुहुरो बनाएर । 

अलि मियाँ

दाइ भाउजुसँग हुर्केका अलि मियाँ जोशिला थिए । अलिले २१ वर्ष पुगेपछि मात्र पढ्न लेख्‍न सक्ने भएका थिए । परिवारको अवस्था दयनीय थियो । तब त उनले अरु साथीभाइ नमान्दा पनि विदेशिने निधो गरे । ब्रिटिस आर्मीमा १८ वर्षमै भर्ती भए । त्यस बेला उनले लेखेको कविता छोरा हनिफले यसरी वाचन गरे । 
रुन्छ मुसा केही छैन आँटीमा 
बित्यो जीवन अँध्यारो ठाँटीमा
म त रुँदै नौतुने रेलैमा
आमा रुँदै जानुभो मेलैमा 
भर्ती हुन हिँडेको म त बेलैमा 

५ वर्ष लडाइँ लडेपछि अलि मियाँ स्वदेश फर्किए । उनलाई पोखराका केही नेताहरूले राजतन्त्र फाल्नुपर्छ, लड्नुपर्छ भनेपछि उनी विदेश नगई देशमै बसेर कविता, गीतमार्फत राजाविरुद्ध बोलिरहे । पल्टनबाट अलिलाई लगातार चिठी आइरहे । तर अलि जान मानेनन् । हनिफलाई त्यति बेला अलिले लेखेको चिठीका श्लोक पनि कण्ठस्थ छन् । अलिले चिठीमा फर्काएका थिएः 
जिन्दगीभर विदेशीको ढोका कुर्‍यौ भने
मरे पनि नरक बास मलको थुप्रो हुने
चाहिएन दाइ तिम्रो छाता
भइगो मलाई चोयाको स्याखुले 

अलि मियाँ लाहुरबाट फर्कँदा केही पनि ल्याएनन् । यहाँ ल्याए मासिन्छ भनेर उनले पैसै नलिई आएको हनिफ विश्‍वास गर्छन् । ‘टुहुरो, खान नपाएको, पढ्न नपाएको मान्छेले त्यो गर्नु आफैंमा आश्‍चर्य थियो, तर उनी कहिल्यै मैमत्त भएनन्, देशकै लागि सोचे,’ हनिफ भन्छन् । राजतन्त्र फाल्ने अभियानमा पोखरामा पहिलोपटक लड्ने पनि अलि मियाँ नै रहेको हनिफ दाबी गर्छन् । ‘नेपाली, मच्चाइदेउन कोदाली, कत्तिको लाग्‍नेछ,’ भन्दै अलि मियाँले कविता सुनाएको उनी स्मरण गर्छन् । 

अलि मियाँ हिन्दु धर्मलाई पनि उत्तिकै माया गर्थे । उनलाई रामायण, गीताका श्लोक कण्ठ थिए । उनीकहाँ बाहिरका मान्छे दसैंमा टीका लगाउन जान्थे । मुसलमान समुदायकै मान्छे पनि अलिलाई देखेर छक्क पर्थे । धर्मले मुसलमान भए पनि उनी हिन्दु, क्रिस्चियन, बौद्ध सबैलाई एकै नजरले हेर्नुपर्छ भन्‍ने भावमा गीत गाउँथे । अलि मियाँले रामायण, गीता लय हालेर पढ्ने गरेको हनिफलाई याद छ । 

४ श्रीमती भएका अलि मियाँले जिन्दगीको धेरै समय एक्लै बिताउनुपर्‍यो । 

हनिफले पनि संस्कृत भाषा पढेका छन् । अलि मियाँले नबुझेका श्लोकहरू हनिफलाई सोध्थे । एकदिन हनिफलाई अलि मियाँले सोधेछन्, ‘ओए, यो अमृत रस कादलम लेख्या रछ, यसको माने के हो ?’ हनिफले त्यसको अर्थ बुझाइदिए । 
ठूलो र सानो खै कसलाई भनूँ ? 
सब रगत रातो छ 
सत्य बोलौं गरी खाउँ
सबको एउटै बाटो छ ।
 

त्यति बेलाको समाज अहिले जस्तो खुला थिएन । रुढिवादी परम्परा अझै झ्यांगिएको थियो । हसिन सम्झन्छन्, ‘बुटवलबाट नुन, तेल घिउ ल्यायो, अनि सार्कीले नै खच्चडमा ल्याउँथे, यहाँ त सार्कीले छुन्छ कि भनेर पहिला अरुअरुले नै लान्थे ।’ त्यो समयमा पनि अलि मियाँ धार्मिक समुदायले बनाएको घेरा नाघेर धार्मिक एकताका लागि गीतहरू गाइरहे । 

२०१७ मा पृथ्वीनारायण क्याम्पसको स्थापना गर्ने कार्यक्रममा राजा महेन्द्र पोखरा आए । क्याम्पस प्रमुख बनाउन भारतको केरलाबाट डाकिएका जर्ज जोन त्यहाँका रहेकाले उनको अगाडि अंग्रेजीमा भाषण गर्नुपर्ने थियो । अलि मियाँलाई स्वागत भाषण गर्न लगाइयो । भाषणको सुरुमा उनले कविता सुनाए । 
धर्मात्मा महेन्द्र राजा
भेदभाव मेटेर जाउ आज 
हजार मुरी धान हुनेमा एउटा घोडा चर्नी
सुकुम्बासी दर्ता गर्दा सञ्जयसर्पण पर्ने
कहिँ हेकड जमिनहरू एक पाथीमा रह्यो
कहाँसम्म अत्याचार गरिब उपर भयो
न्यायले हेरिदेऊ राजा 
देशको गरिबको पिरबाधा 
दसैं आयो तिहार आयो सबको घरमा मासु
गरिबको घरमा मोती जस्ता आँसु

अलि मियाँलाई त्यसअघि नै जनताले लोककविको उपमा दिएका थिए । राजपरिवारले भने त्यो स्वीकारेको थिएन । अलिले सुनाएको यो कवितापछि महेन्द्र आफैं खुसी बने र त्यो उपमा राज्यलाई नै मान्य हुने घोषणा गरिदिए । साथमा अलि मियाँलाई १० हजार रुपैयाँ र २५ हेक्टर जमिन उपहार राजा महेन्द्रले दिने चाह गरे । तर अलिले त्यो पुरस्कार लिन चाहेनन् । गरिबलाई जग्गा, अन्‍न, बिउ मागेर अलि मियाँले त्यो उपहार लत्याए । 

अलि मियाँको निधन हुँदा उनको नाममा एक टुक्रा जमिन पनि नभएको हनिफ सुनाउँछन् । धर्मराज थापाले आफ्नो छोराहरूलाई पढाउने खर्च सरकारसँग माग्दा पनि अलि मियाँले नलिएको हनिफले सम्झना गरे । ‘धेरै जग्गा जमिन किन चाइयो, यी ४ भाइ झगडा गर्छन्, चाइएन सरकार तिम्रो सम्पत्ति भनेर छाडिदिए,’ हनिफले भने । अलि मियाँका ४ श्रीमती थिए । तर अलि मियाँले जिन्दगीको धेरै समय एक्लै बिताउनुपर्‍यो । 

पहिलोपटक बिहे गरेकी भनिएकी श्रीमतीलाई अलि मियाँले भिरकोटमा दोहोरीमा जितेर प्रसादका रूपमा लिएका थिए । दोस्रोपटक बिहे गरेकी श्रीमति नुरन निशाबाट हनिफ जन्मिए । निशााको १८ सालमा मृत्यु भयो । १९ सालमा निशाकी बहिनीसँग अलि मियाँले बिहे गरे । उनको पनि २९ सालमा मृत्यु भयो । चौंथी श्रीमती चाहिँ बागलुङमा दोहोरीमा जितेका थिए । जीवनको अन्तिम समय उनले वियोगमै बिताउनु पर्‍यो । 

छोरा हनिफ मियाँ

अलि मियाँ सिकिस्त बिरामी थिए । बेडमा भएका बेला उनलाई भेट्न मन्त्रीहरू, कमलमणि दीक्षितलगायत व्यक्ति गए । उनलाई ती व्यक्तिले सोधे, ‘तपाईं के चाहनुहुन्छ ?’ अलि मियाँले भने, ‘म पुरस्कार चाहन्छु ।’ उसो त अलि मियाँले त्यो बेलासम्म जगदम्बा पुरस्कारसमेत पाइसकेका थिए । अलि मियाँ आफैंले अघि भने, ‘मैले आजसम्म कुनै पुरस्कार नमागी, अरुले नै दिए । आज म माग्छु, बाटोमा हिँड्ने बटुवालाई आरामले सुत्‍ने ठाउँ मिलोस्, घुसखोरी घट्ने गरी काम गर्नुस् ।’

अलि मियाँ २०६३ साउन १८ गते परलोक लागे । उनको स्मृतिमा छोरा हनिफले ‘अलि मियाँ बागमय प्रतिष्ठान’ बनाएका छन् । आफूलाई त्यस प्रतिष्ठानले सबैभन्दा बढी खुसी, धनी मान्छे भएको अनुभव दिने गरेको हनिफ सुनाउँछन् । ‘धनी हुनु भनेको पैसा हुनुमात्र होइन, मन हुनु हो । मैले ६४ वटा जिल्लामा पुगेर सम्मान गरें । विदेशै गएर प्रतिभाको सम्मान गरेँ जुन प्रज्ञा प्रतिष्ठानले गर्दैन,’ उनी भन्छन् ।

छोरा हनिफ मियाँ पनि बुबाकै बाटो पच्छ्याइरहेका छन् । उनले अरबी, फारसी भाषा पढेका छन् । ३ किताबका ड्राफ्ट उनकै सिरानीमा सुरक्षित छन् । निकाल्ने तर्खर गरिरहेका छन् । तर शारीरिक अस्वस्थताले उनको त्यो धोको पूरा हुन सकेको छैन । केही दिन अगाडिमात्र पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए । ढल्कँदो उमेरसँगै उनमा सुगर, प्रेसरका समस्या बढ्दो छ ।
 
हनिफमा पनि बाबु अलि मियाँमा झैं धार्मिक समानताको भाव प्रष्ट छ । आफू जनप्रतिनिधि हुँदा २०३८ सालमा रामकृष्ण मन्दिर बनाए । आफ्ना सबै भत्ता मन्दिरमा खर्च गरे । यसले उनलाई आफ्नै समुदायका मान्छेले नराम्रो बोली पनि लगाए । तर उनलाई त्यसको कुनै प्रवाह थिएन । भानुभक्त आचार्यको द्विशतवार्षिकीमा पोखराको फूलबारीमा आदिकवि आचार्यको सालिक ठड्याइयो, जसको संयोजक पनि उनै हनिफ थिए । 

२०६३ मा मियाँपाटनमा हनिफकै नेतृत्वमा जामे मस्जिद पनि बन्यो । ‘पहिला त गाउँलेले त कराए मलाई, तर मन्दिर रुचाउनेले मलाई नि रुचाए,’ हनिफ भन्छन्, ‘पछि मस्जिद पनि बनायौं । धर्मको नाममा एकअर्कालाई घृणा गर्नेहरू राक्षस हुन्, म दसैं पनि मनाउँछु, इद पनि मनाउँछु ।’ 



Author

अनिष भट्टराई

भट्टराई इकागजका गण्डकी प्रतिनिधि हुन्


थप समाचार