नारायणगोपाल

स्वरसम्राट् स्मृति

नारायणगोपाल–पेमालाले नजन्माएको छोरो

‘गिनिट्वाङ, अइला छरकी चा’

सामीप्यराज तिमल्सेना |
मंसिर १९, २०७७ ११:८ बजे

जाडो याममा काशीराम भलजूलाई दुइटा कुराको खुब सम्झना हुन्छ । एउटा, उनी नारायणगोपालकहाँ गएको अनि दोस्रो नारायणगोपालले सबैलाई छाडेर गएको । 
काशीराम आजभन्दा ४० वर्षअघि नारायणगोपालको घर पुग्दा यस्तै जाडो थियो । तुवाँलोले ढाकेको बिहानीमा सिउसिउ गर्दै काशीराम नारायणगोपालको महाराजगन्जस्थित घर पुगेका थिए । अघिल्लो दिन सांस्कृतिक संस्थानमा बास बसेका काशीरामलाई उनको ठूला बुबा पर्ने गंगारामले नारायणस्थानसम्म चल्ने मिनिबस चढाएर स्वरसम्राट्को घर पुर्याएका थिए । त्यसयता नारायणगोपालको घरमा अविच्छिन्न समय बिताएका काशीरामले गत साल मात्र सो घर छाडे । छोड्न छ छोडे, तर भौतिक रूपमा मात्र । ‘तलब’ पाइरहेका छन्, मानसिक रूपमा उनी महाराजगन्जमै छन् ।  

नारायणगोपालको घर हेरचाह गर्न गएका काशीराम गत सालबाट आफ्नै हेरचाह गर्न नसक्ने भएपछि सिपाडोल फर्किए ।  उनलाई मुटुको रोगले च्याप्न थाल्यो । अनि उनी ४० वर्षपछि आफ्नै घर फर्किए । तर, जीवनको महत्वपूर्ण कालखण्ड महाराजगन्जमा बिताएका उनी जब ‘नोस्टाल्जिक’ हुन्छन्, उनलाई त्यही घर, त्यहीँको बाटोघाटो र त्यहीँ हुर्केबढेको याद आउँछ । उनले इकागजसँग दार्शनिक पारामा भने, ‘बालापन त्यहीँ बित्यो र जवानी पनि । हुँदाहुँदा बुढ्यौलीको एक भाग पनि त्यतै बिताएँ । यो त अब पाहुनाघर जस्तो मात्र लाग्छ । केही दिनको चौतारी ।’


ADVERTISEMENT

काशीराम नारायणगोपाल र पेमाला गुरुवाचार्यको जीवनरूपी महाभारत देख्ने एक्ला सञ्जय हुन् । संगातीहरूमध्ये उनले जति नजिकबाट नारायणगोपाललाई कस्ले देख्यो होला र ? हामी चाहन्थ्यौँ, काशीरामको आँखाबाट स्वरसम्राट् फेरि एक पटक गुञ्जिऊन् । सुरु–सुरुमा धकाएका काशीराम कुराकानीसँगै बिस्तारै खुल्दै गए ।

०००
२०३६/०३७ सालतिर हुनुपर्छ, नारायणगोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक थिए । पेमाला गुरुवाचार्य ओरिएन्टल इन्स्योरेन्समा जागिरे । घरमा बूढाबूढी मात्रै टिङरिङ्ग । सांस्कृतिक संस्थानमा काम गर्ने गंगारामलाई नारायणगोपालले एक दिन भनेछन्, ‘यसो कोही पेमालालाई साथी भए हुन्थ्यो गंगाराम । हामी पढाई पनि दिन्थ्यौँ ।’

गंगारामको नजरमा परे काशीराम । तीनजना दाजुभाइमध्ये काशीराम माहिला थिए । पढ्नमा बोधो बोधो । उनले सोचे, ठूला मान्छेको घरमा बस्यो भने चलाख हुन्छ । त्यस्तै परे जिन्दगी बन्छ । गंगारामले नाताले भाइ पर्ने काशीरामको बुबासँग कुरा गरे । उनले नाइँनास्ती गरेनन् । त्यसको एक–दुई दिनमै काशीराम जमलस्थित सांस्कृतिक संस्थान पुगे र त्यहाँ एकरात बिताएर महाराजगन्ज । त्यहाँ पुगेको धेरै दिनपछि मात्र काशीरामले थाहा पाए, उनी त देशकै महान् गायक नारायणगोपालको घर आइपुगेका रहेछन् ।

 

‘मैले त गीतै पनि सुनेको रैनछु,’ नेवार मिश्रित स्वरमा काशीराम ४० वर्षअघिको समयमा फर्किए, ‘बिहान–बिहान रियाज गरेको र गीतकार/संगीतकार उहाँलाई गीत गवाउन धाएको देखेपछि मात्र नारायणगोपाल हुनुहुँदो रैछ भन्ने थाहा पाएँ । नत्र त ठूलो मान्छे भनेको कोही पैसावाल होला भन्ठानेको थिएँ ।’

काशीराम सम्झन्छन्, ‘गीत चित्त नबुझे उहाँ मरिगए गाउन नमान्ने । कतिलाई त मैले घरमा हुँदाहुँदै पनि हुनुहुन्न भनेर ढाँट्नुपथ्र्यो । उहाँजस्तो गायक आज–भोलि को होला र ?’
 

४० वर्षपछि पनि काशीराम भलजूलाई राम्रैसँग सम्झना छ, नारायणगोपालले पहिलो पल्ट हेरेर, ‘यही फुच्चे हो तिमीले भनेको ?’ भनेर गंगारामलाई सोधेको । गंगारामले ‘हो’ भनेर उनलाई नारायणगोपालको घरमा छाडेका थिए जुन घरसँग काशीरामको नाता ४० वर्षपछि टुटेको छैन । भलै उनलाई आश्रय दिने ‘साहब–साहबनी’ अब यो दुनियाँमा छैनन् । 

०००
स्वरसम्राट्को घर पुगेको पहिलो वर्ष काशीरामको ड्युटी थियो, घर कुरेर बस्ने । उतिबेला घर भर्खर बनिरहेको थियो । घरमा मकै थिए, फूलबारी थियो । मकै गोड्ने, फूलबारीको स्याहार गर्ने । उसबेला शैक्षिक सत्र घर्किसकेकाले अर्को साल स्कुल जाने काशीरामको तयारी थियो । तर, बीचैमा काशीराम घर फर्कनुपर्ने दिन आयो । 
त्यहाँ बस्न थालेको एक वर्षमै काशीराम नराम्ररी बिरामी परे । वीर अस्पतालमा चेक भयो । मुटुमा समस्या देखियो । नारायणगोपाल दम्पतीले नै उपचार गरे ।

रुलाई स्याहार गर्न आएको मान्छे आफैँ स्याहारिएर बस्न मन लागेन । उनले सिपाडोल नै फर्कने योजना सुनाए । दम्पतीले सम्झाए, ‘गाउँ नजाऊ । गाउँमा तिमीलाई झन् गाह्रो हुन्छ । यहीँ बस ।’ काशीराम दम्पतीको प्रेमले पग्लिए । तर, काशीरामलाई आज लाग्छ, त्यही प्रेमले उनलाई जीवनदान दियो । नत्र त बेलैमा उपचार नपाएको भए, जीवन कति बेला सकिन्थ्यो, के थाहा ? तर, यो त दम्पतीले उनको जीवनमा लगाएको गुनको कास्टिङ मात्र थियो । त्यसयता काशीरामको पूरा फिलिम यस्तै गुनले भरिएको छ । 

फुच्चे काशीरामको मुख्य काम थियो, घर रुङ्ने । त्योबाहेक सिजनमा मकै रोप्ने र फूलबारी गोड्ने काम पनि गर्थे काशीराम । अनि बिहान–बेलुका घरायसी काममा पेमालालाई सहयोग गर्ने त छँदै थियो । मान्छे आएका बखत भने काशीराम पाहुनाका फर्माइसका सामान लिन घर–दोकान गरिरहन्थे । यसरी नारायणगोपालको घर बाक्लै आउनेमा विश्वम्भर प्याकुरेल, दीप श्रेष्ठ, शम्भुजित बाँस्कोटा, लोचन भट्टराई, बसुन्धरा भुषाल, मिथिला शर्माको नाम मात्र याद छ काशीरामलाई । ‘शम्भुजित बाँस्कोटा चैँ साहबसँग कहिलेकाहीँ जिस्कने पनि । पर्खाल नाघेर आऊँ भनेर जिस्कनुहुन्थ्यो,’ साथी संगातीका कुरा गरिरहँदा काशीरामले अचानक सम्झिए । 

काशीरामका अनुसार सधैँ ३/४ बजेको बीचमा उठ्ने नारायणगोपालको दैनिकी थियो । सखारै उठेर नारायणगोपाल हार्मोनियम समातेर रियाज गर्थे जुन सिलसिला ६ बजेसम्म चल्थ्यो । ६ बजेसम्म रियाज गरेर नारायणगोपाल आफैँ चिया पकाएर खाने अनि घुम्न निस्कने । योबीचमा पेमाला पनि उठेर घुम्न जाने । ‘म चैँ उहाँहरू मर्निङ वाकबाट फर्केपछि ढिलो मात्र उठ्थेँ । म आफूलाई उहाँहरूको पुत्र नै ठान्थेँ । उहाँहरू पनि मलाई छोराजस्तै व्यवहार गर्नुहुन्थ्यो ।

मलाई बिहान उठ्न मात्र होइन अरु कामधन्दामा पनि कुनै चटारो थिएन । खप्की खाएको त यादै छैन । उहाँहरू वाकबाट फर्केपछि हामी तीनै जना सँगै बसेर चिया खान्थ्यौँ । खाना खाएर दुवै जना अफिस जानुहुन्थ्यो अनि म घरमा एक्लै,’ काशीरामले दैनिकी सम्झिए, ‘यसरी बेग्लाबेग्लै घुम्न जाँदा एक दिन भने साहेब साहबनी दुवैले खसीको मासु लिएर आउनु भएछ । एकछिन झगडा पर्यो । तर, त्यो दिनबाट मासु ल्याउने जिम्मा मेरो भागमा पर्यो ।’

नारायणगोपालको चर्चा हुँदा गीतसँगै नछुट्ने प्रसंग हुन्, उनको रक्सी र मासु प्रेम । काशीराम रक्सीको कुरा अतिरञ्जित गरे पनि नारायणगोपाल मासुको भने शौकिन रहेको बताउँछन् । 

‘मासु साहबलाई असाध्यै मन पर्ने । अनि पकाउन पनि आफैँ अघि सर्ने । खसीको मासु कहिले दही हालेर पकाउने त कहिले वाइन हालेर । यसरी पकाएको मासु अरुलाई खुवाउन पनि रमाइलो मान्ने उहाँको बानी थियो ,’ काशीरामले भने । मासुकै चर्चा हुँदा उनले आफ्नो हुस्सुपनाको एउटा किस्सा पनि सुनाए । 

एक दिन नारायणगोपालले कतैबाट लोकल कुखुरा लिएर आएका छन् । त्यसबेला काठमाडौँमा भुसेचुलीको प्रचलन थिएछ । दम दिने स्टोभ काठमाडौँमा भित्रिइसकेको थियो तर काशीरामले चलाउन नजान्ने भएकाले त्यसले त्यो घरमा भित्रिने सौभाग्य पाइसकेको थिएन । मासु पकाइरहँदा नारायणगोपालले काशीरामलाई सम्झाएर जानुभएछ, ‘मासु हेर्दै गर है । म नुहाएर आउँछु । अनि खाउँला ।’ काशीरामले तलबाट आगो झोसेर हेरिरहे । नारायणगोपाल नुहाएर फर्कन्छन् त मासु डढेर पतपती भइरहेको । 

‘हुस्सु म ! हेर्नु भनेको हेरेर मात्रै बसेछु । मासु त खानै नहुने गरी डढेछ । पछि साहबनीले हेर्नु भनेको टुलुटुलु हेर्नु मात्र होइन भनेर सम्झायो । अलि पछिबाट त मैले आफैँ पकाउन पनि सिकेँ’ काशीरामले हाँस्दै सुनाए । मासुबाहेक नारायणगोपाललाई नेवारी परिकार पनि बनाउने आउने । उनले नारायणगोपालसँगै टखा, सन्याखोना जस्ता नेवारी परिकार बनाउन सिकेका हुन् । 

मासुपछि फुटबल पनि नारायणगोपालको तलतलवाला लत थियो । कतिसम्म भने जीवनका अन्तिम क्षणतिर नारायणगोपाल उपचारका लागि वीर अस्पताल भर्ना भएका थिए । तर, फुटबलप्रेम यति थियो कि अस्पतालमा डाक्टर छलेर घर आउने अनि फुटबल सकिएपछि ट्याक्सी लिएर फर्कने । उसबेला काशीराम ‘निको भएर आउनु न अनि ढुक्कले फुटबल हेर्नुहोला’ भनेर सम्झाउँथे । तर, भावीले त्यो मौकै दिएन । ५१ वर्षको अल्पायुमै उनको निधन भयो । महाकवि देवकोटा ५० अनि स्वरसम्राट् ५१ वर्षमा गैगए । किन जिनियसहरूकै आयु यति छोटो हुनुपर्ने ?

मासुबाहेक नारायणगोपाललाई नेवारी परिकार पनि बनाउने आउने । उनले नारायणगोपालसँगै टखा, सन्याखोना जस्ता नेवारी परिकार बनाउन सिकेका हुन् । 

नारायणगोपाल पियक्कड भएको मिथक अझै तोडिएको छैन । कतिसम्म भने मानिस उनको यही बानीकै कारण निधन भएको तर्क गर्थे र गर्छन् । सुरु सुरुमा काशीरामलाई यस्तो सुन्दा झनक्क रिस उठ्थ्यो । तर, उनलाई राम्ररी सम्झना छ, बिहेबटुलो र पार्टीबाहेक स्वरसम्राट् शुक्रबार र शनिबार मात्र पिउने रुचाउने । तर, बिरामी भएपछि पेमालाले त्यसमा पनि पाबन्दी लगाएकी थिइन् । तर, पेमाला नभएको बेला नारायणगोपाल काशीरामलाई भन्थे, ‘गिनिट्वाङ, अइला छरकी चा’ (गिनिट्वाङ, अलिकति देऊ न) । काशीरामलाई मायाले बोलाउँदा स्वरसम्राट् ‘गिनीट्वाङ’ भन्थे । सुरुमा यसको अर्थ थाहा नपाएका काशीरामले धेरैपछि मात्र यो इन्द्रजात्रामा लठ्ठीजुधाइ नृत्यबाट निस्किने आवाज हो भन्ने थाहा पाएका थिए । तर, यतिले पनि काशीराम नपग्लेको देखेपछि स्वर सम्राट् भन्थे रे, ‘पछि हामी नभएपछि पनि पत्रकार तँलाई हाम्रोबारे सोध्न आउँछ । त्योबेला सुनाउन हुन्छ नि ।’ काशीरामले उदास हुँदै सुनाए ‘तपाईंहरू जस्तो आउँछ । त्योबला उहाँले भनेको हो रैछ भन्ने लाग्छ । अरु त खै के भन्नु र ! टुक्राटुक्रा गरेर बोल्ने काशीरामले यो प्रसंग पनि अपूरै छाड्दै भने । 

काशीरामले नारायणगोपाललाई करिअरको उत्कर्षमा हुँदा भेटेका थिए । काशीरामले भेट्दा नारायणगोपाल सांस्कृतिक संस्थानमा महाप्रबन्धक थिए भने त्यहाँको कार्यकाल सकिएपछि सञ्चारमन्त्रालयको सल्लाहकार । तर, घरमा कहिलै पुग्दो पैसा थिएन । उनले चढ्ने गरेको मोटरसाइकल उनले १ लाख ५५ हजार रुपैयाँमा ऋणमा किनेका थिए भने फुटबल हेर्ने गरेको टिभी दीपक खरेलको सहयोगमा किनेका थिए । काशीरामको अनुभवमा नारायणगोपालले आफ्नो जीवनकालमा जे जति भौतिक सम्पत्ति जोडेका थिए, त्यसमा नारायणगोपालको भन्दा पेमालाको योगदान ज्यादा थियो ।  धेरै कलाकारले जस्तो चलेको बेला जे आयो त्यही गाएका भए सायद नारायणगोपाललाई पैसाको खाँचो पर्थेन । तर, उनले आफूलाई मन नखाने गीत पैसाकै लागि गाएनन् । काशीराम आफैँ धेरैपटक यस्तो कुराको साक्षी बसेका छन् । 

नारायणगोपाल नभएको मौका पारी कोही गीतकार घर आइपुगे । ती गीतकार नारायणगोपाललाई आफ्नो गीत गवाउन यति आतुर थिए कि उनी दिनभर हलचल नगरी घरमै कुरिरहे । उनले गीतसँगै खाममा पैसा पनि राखेका थिए । बेलुकी नारायणगोपाल आइपुगे । गीतकारले  पैसासहितको खाम टक्र्याए । नारायणगोपालले मोटरसाइकलमा बसी बसी खामबाट गीत निकाले र खर्रर पढे । अनि नम्र भएर भने, ‘मेरो स्वर ठीक छैन । रेडियो नेपालतिर जानु ल ।’

काशीराम सम्झन्छन्, ‘गीत चित्त नबुझे उहाँ मरिगए गाउन नमान्ने । कतिलाई त मैले घरमा हुँदाहुँदै पनि हुनुहुन्न भनेर ढाँट्नुपथ्र्यो । उहाँजस्तो गायक आज–भोलि को होला र ?’

७५ रुपैयाँ प्रतिमहिना पाउने गरी काशीराम नारायणगोपालको घर पुगेका थिए । पछि त्यो पैसा बढेर सय पुग्यो अनि केही वर्षपछि १ हजार रुपैयाँ । अहिले पनि काशीरामले नारायणगोपाल संगीत कोषबाट महिनाको तीन हजार बुझ्ने गरेका छन् ।   

स्वरसम्राट्को घर आएको अर्को वर्ष नै काशीरामलाई मुटुमा समस्या भयो । माथि नै भनियो नारायणगोपाल दम्पतीले प्रेमपूर्वक उनको उपचार गरे । स्वरसम्राट् बितेको केही वर्षपछि काशीरामको मुटुको रोग फेरि बल्झियो । साहब्नीले डेढ लाख खर्च गरेर फेरि बचाइन् । कुराकानीको बिट मार्दै गर्दा हामीले उनलाई नारायणगोपालको मन पर्ने गीत गाउन आग्रह गर्यौं । मुटुका कारण जीवनभर दुःख पाएका उनले आफ्ना प्रिय साहबको मुटुकै गीत गाएर सुनाए, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाऊँ...’

 




थप समाचार