छिमेक

भृकुटीको दाइजो बुद्ध मूर्ति राखिएको रामोचे मन्दिर

अजय अलौकिक |
असार ८, २०७८ ८:१७ बजे

ल्हासा : हिमाल र नदीहरूद्वारा जोडिएको नेपाल चीनबीच प्रागैतिहासिक कालदेखि नै सम्बन्ध रहिआएको छ । सामाजिक तथा सांस्कृतिक सम्पर्कबीच दुई देशबीचको सम्बन्धको विकासमा बुद्ध धर्म र नेपाली वास्तु तथा मूर्तिकलाले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । विगतमा, चिनियाँ भिक्षु फा स्यान, सुआनच्वाङ (हु यानसाङ) नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले दुई देशको सम्बन्धलाई थप समृद्ध बनाएका थिए । 

नेपाली विद्वान बुद्धभद्रले चीनमा बुद्ध धर्म फैलाउँदै सम्बन्धमा थप आयाम थपेको मानिन्छ । यसै गरी, राजकुमारी भृकुटीले तिब्बती राजा स्रङचन गम्पोसँग विवाह गरी दुई देशबीचको सम्बन्धका साथै बुद्ध धर्म प्रचारप्रसारमा ठूलो योगदान गरेको इतिहासमा उल्लेख छ ।


राष्ट्रिय विभूतिको रूपमा सम्मानित नेपाली राजकुमारी भृकुटी बौद्ध धर्ममा हरित ताराको रूपमा समेत पूजिन्छ । साथै तिब्बतीहरूले उनलाई विभिन्न नामले पनि पुकार्दछन् । उनले तिब्बती राजा स्रङचन गम्पोसँगको विवाहमा दाइजोको रूपमा आफूसँगै बुद्धका मूर्तिहरू तथा नेपाली कालिगढहरू तिब्बतमा ल्याएकी थिइन् । उनले तिब्बतमा बुद्ध धर्मको प्रचार, गुम्बा तथा मन्दिरको निर्माण गर्न लगाएकी थिइन् । हालको भव्य पोताला दरबारको रातो दरबार पनि उनैले निर्माण गराएकी हुन् । साथै, उनले दाइजोमा ल्याएको शाक्यमुनि बुद्धको आठ वर्ष उमेरको मूर्ति विशेष मानिन्छ । 

यस मूर्तिलाई सातौँ शताब्दीमा निर्मित ल्हासाको पवित्र जोखाङ मन्दिरमा स्थापना गरिएको थियो । तर, यस मूर्तिलाई आठौँ शताब्दीमा जोखाङ मन्दिरबाट अन्यत्र सारेको धेरै नेपालीलाई जानकारी छैन । धेरै विद्वानले समेत उक्त मूर्ति हाल पनि जोखाङ मन्दिरमै रहेको मान्दछन् । उक्त बुद्ध मूर्तिलाई रामोचे मन्दिरमा प्रतिस्थापित गरिएको छ । 

यो मन्दिर पोताला दरबारको पूर्व र जोखाङ मन्दिरको उत्तरमा अवस्थित छ । जोखाङ मन्दिरको भगिनी मन्दिरको रूपमा रहेको यो मन्दिरको निर्माण र सम्पन्न जोखाङ मन्दिर सँगसँगै भएको थियो । नेपालतिर फर्केको जोखाङ मन्दिर नेपाली राजकुमारी भृकुटीका लागि नेपाली शैलीमा निर्माण गरिएको थियो भने रामोचे मन्दिर तिब्बती राजा गम्पोकी थाङ वंशीय राजकुमारी वनछनका लागि पूर्व चीनतिर फर्काइ चिनियाँ शैलीमा निर्माण गरिएको थियो । चिनियाँमा स्याउचाओस भनिने यो मन्दिर जोखाङपछिकै सबैभन्दा महत्त्वपूर्ण मन्दिर मानिन्छ । 

यसै रामोचे मन्दिरमा पहिला राजकुमारी वनछङले ल्याएको बाह्र वर्ष उमेरको शाक्यमुनि बुद्धको मूर्ति राखिएको थियो । तर पछि बौद्ध धर्ममाथि आक्रमणको डर भएपछि राजकुमारी वनछङले आफूले दाइजोमा ल्याएको मूर्ति जोखाङ मन्दिरमा लुकाएकी थिइन् । 

आठौँ शताब्दीमा आएर राजकुमारी चिनछङले जोखाङ मन्दिरमा रहेको भृकुटीको दाइजो उक्त बुद्ध मूर्तिको ठाउँमा वनछङ कुमारीको दाइजो बुद्ध मूर्ति प्रतिस्थापित गरेकी थिइन् । यसरी आठौँ शताब्दीदेखि नै भृकुटीको दाइजोरूपी बुद्ध मूर्ति यस रामोचे मन्दिरमा स्थापित थियो । तर कतिपय नेपाली विद्वानहरूले जोखाङ मन्दिरमा रहेको दावी गर्दैआएका छन् । 

यद्यपि, सांस्कृतिक क्रान्तिको बेला उक्त मूर्तिलाई दुई टुक्रा पारिएको थियो । सन् १९८६ मा उक्त मूर्तिलाई पुनः जोडेर फेरि पनि सोही मन्दिरमा प्रतिस्थापित गरिएको हो । सन् २००१ मा चीनको राज्य परिषद्ले यस मन्दिरलाई महत्त्वपूर्ण संरक्षित सांस्कृतिक अवशेषको रूपमा सूचिकृत गरेको छ । 

हाल तिब्बती शैलीमा देखिने यो मन्दिर धेरै पटकको आगलागीपछि यस रूपमा निर्माण गरिएको हो । बताए अनुसार, यो मन्दिर पन्ध्रौँ शताब्दीमा आएर तान्त्रिक विद्यालयको रूपमा विकसित भएको थियो । ४ हजार वर्गमिटर क्षेत्रफल ओगटेको र हजारभन्दा बढी मूर्तिहरू रहेका तिब्बती गेलुग सम्प्रदायको यो मन्दिर/गुम्बा तीन तल्लाको छ र पहिलो तल्लामा सुत्र बाचन कक्षसहित भृकुटीले ल्याएको मूर्ति जसलाई तिब्बतीमा जोवो मिक्यो दोर्जे वा रामोचे जोवा भनिन्छ प्रतिस्थापित छ । 

यो मूर्ति भएको कक्षमा विशेष अवसरमा मात्र प्रवेश दिने गरिन्छ । साथै बुद्ध मूर्ति कक्ष बाहिरबाटै सिक्रीले छोपेर राख्नुका साथै फोटो खिच्न पनि प्रतिबन्धित छ । तापनि, चाइना मिडिया ग्रुपको पत्रकार टोलीलाई यस्तो विशेष अवसर प्रदान गरी बुद्धको दर्शनसँगै तस्वीर खिच्ने मौका दिइएको थियो । 

आज पनि उक्त मन्दिर परिसर र मन्दिर बाहिरको सडकले एउटा छुट्टै आकर्षण बोकेको छ । मन्दिर प्रवेश गर्नुअघि बाहिरैबाट घ्यू र धूपबत्तीको बासनाले मनलाई तरङ्गित बनाउँछ । कोरा गरिरहेका भक्तजन्सँगै अरू भक्तजन्को भिड पनि बाक्लै देखिन्छ ।



Author

थप समाचार