छिमेक

भारतमा पत्‍नीले अर्को दल रोजेपछि सांसद पतिले गरे डिभोर्सको घोषणा

इकागज |
पुस १२, २०७७ आइतबार ८:६ बजे

पत्‍नीले अर्कै पार्टी रोजेपछि भारतको पश्चिम बङ्गाल राज्यमा दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको छ । सुजाता मण्डल खानले बीजेपी छोडेर त्रिनामोल कङ्ग्रेस पार्टी टीएमसी रोजेपछि उनका पति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीका सांसद सौमित्र खानले सम्बन्धविच्छेद गर्न चाहेको सूचना पठाएका छन् ।

पश्चिम बङ्गालमा केही महिनामा प्रान्तीय निर्वाचन हुँदैछ जसमा बीजेपी र टीएमसीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । सोमवार श्रीमती खानले बीजेपी छोडेर टीएमसी आएको घोषणा गरेकी थिइन् । उनले आफूले यथोचित सम्मान नपाएको र बीजेपीले अन्य दलका भ्रष्ट नेताहरूलाई स्थान दिएको आरोप लगाएकी थिइन् । त्यसको केही घण्टापछि हतारमा बोलाइएको प्रेस सम्मेलनमा ४० वर्षीय श्रीमान् खानले आँखाभरि आँसु पार्दै श्रीमतीसँग १० वर्षे यात्रालाई पूर्णविराम दिने घोषणा गरे ।


उनले श्रीमतीलाई आफ्नो थर प्रयोग नगर्न भने । 'कृपया आइन्दा खान थर प्रयोग नगर्नु र सौमित्र खानको श्रीमती पनि नभन्नू । म तपाईँलाई आफ्नो राजनीतिक भाग्य कोर्न सम्पूर्ण स्वतन्त्रता दिन्छु ।' 'टीएमसीले मेरो श्रीमती चोर्‍यो, मेरो माया लग्यो,' उनलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ ।

यो घटनापछि विभिन्न पत्रपत्रिकाले यी दुईको अन्तर्वार्ता छापेका छन् । 'उनी मेरो माया थिइन् । उनी साह्रै राम्रो श्रीमती थिइन् । उनी मेरो एकमात्र कमजोरी थिइन्,' श्रीमान् खानले एक पत्रकारलाई भनेका छन् ।

उनले आफ्नो निर्वाचनमा श्रीमतीको भूमिका रहेको स्वीकारेका छन् । एक मुद्दाका कारण आफ्नै निर्वाचन क्षेत्रमा जान प्रतिबन्ध लागेका खानका लागि श्रीमतीले चुनावी अभियान नेतृत्व गरेकी थिइन् । अन्य एक पत्रकारलाई श्रीमतीलाई यथोचित सम्मान नभएको कुरा गलत भएको दाबी गर्दै उनले भने: 'मोदीले उनलाई बहिनी भन्छन् । योभन्दा बढी के चाहियो ?'

श्रीमती खानले आफूलाई श्रीमानले वास्ता नगरेको बताइन् । 'उनी राजनीतिमा व्यस्त भए । मेरो लागि समय दिएनन् । उनले महिनौँदेखि मैले खाएँ कि खाइनँ भनेर पनि सोधेका छैनन् ।' बीबीसी


Author

थप समाचार
x