छिमेक

चिनियाँ विदेशमन्त्री र भारतीय विदेशमन्त्रीबीच के-के भयो कुराकानी ?

अजय अलौकिक |
फागुन १४, २०७७ शुक्रवार ९:५५ बजे

बेइजिङ : चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच फेब्रुअरी २५ तारिख टेलिफोन संवाद भएको छ । वार्ता क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले गत वर्षको चीन भारत सीमा क्षेत्रको घटनास्थिति एकदम स्पष्ट थियो भन्दै विगतका पाठहरू सिक्न लायक भएको बताएका छन् ।

साथै उनले चीन सम्बन्धमा भारतको नीतिमा उतारचढाव देखिएको भन्दै दुई देशबीचको व्यवहारिक सहयोग प्रभावित तथा भंगसमेत भएको बताएका छन् । उनले यस्तो गतिविधि दुवै पक्षको हितमा नभएको र विगतका अनुभवहरूबाट पनि मतभेदलाई उजागर गरेर समस्या समाधान गर्न सहयोग नमिल्ने उल्टै यसले आपसी विश्वासको आधारलाई भत्काउने पनि बताए । चिनियाँ विदेशमन्त्री यीले चीन र भारत दुवै पुरानो सभ्यता र प्रमुख उदीयमान अर्थतन्त्र भएको र विकास तथा कायाकल्पको महत्त्वपूर्ण चरणमा रहेको भन्दै दुई देशबीचको सम्बन्धमा आउने गिरावटले दुवै पक्षलाई नोक्सानी गर्ने पनि औंल्याए ।


दुई उदाउँदो अर्थव्यवस्थाले संयुक्त विकासको सामान्य दिशा पछ्याउनु आवश्यक छ, एक अर्कालाई रोक्नुको सट्टा एक अर्कोको साथमा अगाडि बढ्नुपर्छ, एक अर्काविरूद्ध पर्खाल निर्माण गर्नुको साटो सहयोगात्मक विकास गर्नु आवश्यक छ, उनले भने । दुई देशका नेताहरूले हासिल गरेको रणनीतिक सहमतिलाई समर्थन गर्न आवश्यक रहेको र छिमेकी शक्तिहरूबीच पारस्परिक विश्वास र सहकार्यको सही मार्गको अनुसरण गर्न जोड पनि दिए । 

चिनियाँ विदेशमन्त्रीले पाङकोङ छो तालमा फ्रन्टलाइन चिनियाँ तथा भारतीय सैनिकको हालैको ‘डिसइन्गेजमेन्ट’ फिर्ता हुने कामले स्थितिलाई स्पष्ट रूपमा सहज बनाएको पनि बताए । 'दुवै पक्षले यो कठिन परिस्थितिको सम्मान गर्नुपर्छ । आपसी विश्वास बढाउन तथा सीमा क्षेत्रमा शान्ति स्थापना गर्न परामर्शको गतिलाई कायम राख्नुपर्छ, परिस्थितिलाई अझ सहज बनाउनुपर्छ, सीमा नियन्त्रणको प्रक्रियामा सुधार गर्नुपर्छ, सीमा वार्ता प्रक्रिया अगाडि बढाउनुपर्ने छ,' उनले भने ।

यसै गरी भारतीय विदेशमन्त्री जयशंकरले पाङकोङ छो तालबाट दुई देशका सेनाको ‘डिसइन्गेजमेन्ट’ कार्य दुवै पक्षलाई मस्को सहमतिलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण उपलब्धि भएको बताए । सीमा क्षेत्रमा शान्ति कायम राख्‍न परामर्श तथा वार्तालाई बढाउने पक्षमा रहेको पनि उनले बताए । साथै भारत द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकास र समग्र स्थितिलाई अगाडि बढाउन इच्छुक रहेको र दुई देशका नेताहरूको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न तथा द्विपक्षीय सम्बन्धहरूलाई सक्दो छिटो पुनः ट्रयाकमा ल्याउन इच्छुक रहेको बताएका छन् ।

हालै मात्र भारत र चीनबीच विवादित क्षेत्रको सीमाबाट फ्रन्टलाइनमा रहेका सैनिकहरूलाई फिर्ता गर्ने कार्य भएको हो । दश चरणको वार्तापछि यो उपलब्धि हासिल भएको हो । गत वर्षको जुन महिनामा उक्त क्षेत्रमा दुई देशका सैनिकहरूबीच हिंसात्मक भिडन्त भएको थियो । स्थिति सामान्यीकरणका लागि दश चरणसम्मको वार्ता भएको थियो ।


Author

थप समाचार
x