प्रमुख समाचार

स्वास्थ्य मन्त्रालयको बजेट घट्ने

इकागज |
जेठ ९, २०७९ सोमबार १९:२२ बजे

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि आर्थिक वर्षका २०७८/०७९ लागि ७४ अर्ब रुपैयाँ बजेट विनियोजन हुने भएको छ । राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयलाई ७४ अर्ब रुपैयाँको सिलिङ बजेटको प्रस्ताव गरेको छ । महामारीको समयमा अत्यावश्यक खर्च आवश्यकताले स्वास्थ्यको बजेट बढेको भएपनि पुन: घटाउन लागिएको हो । यद्यपि आकस्मिक जनस्वास्थ्य संकटलाई विचार गरेर केही कन्टीन्जेन्सी बजेट राखिने बताइएको छ । 

मन्त्रालयले यसपटक आवश्यकता भन्दा कम बजेट सिलिङ प्रस्ताव  भएको उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालयले प्रस्ताव गरेको बजेट भन्दा २२ अर्ब रुपैया कम रहेको छ ।


गत वर्ष सरकारले स्वास्थ्यको लागि सवा खर्ब रुपैयाँ बजेट छुट्टयाएको थियो । कोभिड-१९ महामारीको समयमा १ खर्ब १९ अर्ब रुपैयाँ बजेट तय भएको थियो । जसअन्तर्गत महामारीमा कोभिड खोप तथा नियन्त्रणमा रकम खर्च भएको थियो ।

अर्थ मन्त्रालयले १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । कोभिड-१९ को संख्या कम हुँदै गएकाले गत आव भन्दा कम बजेट प्रस्तुत गर्ने तयारी गरेको हो ।

मन्त्रालयको आवश्यकता अनुसार पुनः ८-९ प्रतिशत रकम माग गर्न सक्ने वैकल्पिक व्यवस्थासहितको सिलिङ रकमको प्रस्ताव गरिएको छ ।

यसपटकको बजेटले स्वास्थ्यको अतिआवश्यक स्थानमा खर्च गर्ने मन्त्रालयले जनाएको छ । आधारभूत अस्पतालमा विशेष प्राथमिकता राखेर बजेट खर्च गरिने  नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्ण पौडेलले बताए ।

कोभिड-१९ महामारी व्यवस्थापनको लागि २० अर्ब रुपैयाँ बजेट छुट्टै विनियोजन गरिएको उनले जानकारी दिए ।


Author

थप समाचार
x