प्रमुख समाचार

मेयर बालेनकी श्रीमती सबिना भन्‍छिन्- तिमीलाई, मलाई र हामी सबैलाई बधाइ

इकागज |
जेठ १३, २०७९ शुक्रबार १३:५ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई श्रीमती सबिना काफ्लेले बधाइ दिएकी छिन् । काठमाडौँ महानगरपालिकाको मेयरमा शाह निर्वाचितलगत्तै काफ्‍लेले शाहलाई बधाइ दिएकी हुन् ।

उनले भनेकी छिन्,' अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् ।'


उनले तिमी मेरो बालेनबाट हाम्रो बालेन भएको बताएकी छिन् । 'आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ' काफ्लेले लेखेकी छिन् 'यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।'

'घरीघरी डर पनि लाग्छ, अगाडि विशाल भवसागर छ, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमीप्रतिको विश्वास सम्झन्छु, ' उनले भनेकी छन्,' उहाँहरूको माया सम्झन्छु, उहाँहरूको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरू धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गाह्रो होला तर असम्भव छैन ।'

'घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाइ । मलाई हार्दिक बधाइ । हामी सबैलाई हार्दिक बधाइ' उनले लेखेकी छन् ।


Author

थप समाचार
x