प्रमुख समाचार

लाहान मालपोत विस्फोटका दुई आरोपित पक्राउ

सुभाष कर्ण |
चैत १७, २०७७ मंगलबार १७:४९ बजे

जनकपुरधाम : लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाका संलग्‍न दुई आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश-२ प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले सोमबार सिरहाको सुखीपुरबाट दुई अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको सुखीपुर नगरपालिका-५ का  २५ वर्षीय रामरिझन यादव र  लक्ष्मीपुर पतारी गाउँपालिका-३ का २६ वर्षीय अभिमन्यु गिरी रहेको प्रहरी नायब उपरीक्षक नवरत्‍न पौडेलले जानकारी दिए । 
प्रहरी नायब उपरीक्षक पौडेलले पक्राउ परेका यादवको साथबाट १ थान कटुवा पेस्तोल २ राउण्ड गोली बरामद भएको र गिरीको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्‍ने दुई राउण्ड गोली बरामद गरिएको जानकारी दिएका छन् । 


यादव यसअघि पनि विभिन्‍न ठाउँमा भएका बम विस्फोटका घटनामा संलग्‍न रहेको प्रहरीको दाबी छ । प्रदेश प्रहरीका अनुसार २०७४ साल चैत १२ गते लहानमा विकास ज्वेलर्समा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका उनी १ लाख धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि ०७५ सालमा समेत उनी विराटनगर उपमहानगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको आरोपमा पनि पक्राउ परेका थिए । जिल्ला अदालत मोरङमा ३५ हजार रुपैँया बुझाएर धरौटीमा छुटेका थिए । 

अभिमन्यु भने विगत ५ वर्षदेखि तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोईत समुह)मा आवद्ध रहेको र बल प्रयोग गरी चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका दुवै जनाले बम विस्फोटको घटनामा आफुहरूको संलग्‍नता रहेको प्रहरी समक्ष स्वीकार गरिसकेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा जयकृष्ण गोइतको निर्देशनमा भगवान गाउँपालिका ठाडी निवासी रामकुमार यादवले गएको फागुन २६ गते नै दिएको बम आफू मालपोत कार्यालयमा विस्फोट गराएको स्वीकारेको उल्लेख  छ । घटनामा संलग्‍न भनिएका रामकुमार भने अहिले फरार छन् ।

गत चैत १ गतेसिरहाको लहानस्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट हुँदा ८ जना घाइते भएका थिए । भने कार्यालयमा रहेका कागजात जलेका थिए । घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको थियो । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x