प्रमुख समाचार

पानी परेपछि राहत : मौसम केही खुल्ने, वायु प्रदूषण घट्ने

इकागज |
चैत १८, २०७७ बुधबार २१:१० बजे

काठमाडौँ : लामो समयपछि पानी परेपछि काठमाडौँ उपत्यकाबासीलाई राहत भएको छ । पछिल्लो एक हप्तायता वायु प्रदूषणका कारण उकुसमुकुस भएका काठमाडौँ उपत्यकाबासीले पानी परेपछि केही राहत महसुस गरेका हुन् ।

बंगालको खाडीबाट आएको न्युनचापीय प्रणाली, पश्चिमी वायुका कारण उपत्यकासहित पहाडी क्षेत्रमा पानी परेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।


उनका अनुसार काठमाडौँ उपत्यकामा हल्का वर्षा मात्रै भएको हो । वर्षाका कारण बिहीबारदेखि मौसम केही खुल्ने भएको छ । साथै वायु प्रदूषण पनि केही घट्ने भएको छ । तर पूर्ण रुपमा प्रदूषण घट्नलाई ठूलो पानी पर्नुपर्ने उनको भनाइ छ ।

बिहीबार पनि काठमाडौँ उपत्यकासहित केही ठाउमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन् । मौसमी प्रणाली बिहीबारसम्म सक्रिय रहने भएकाले पानी पर्ने सम्भावना रहेको उनले बताइन् । 

शुक्रबारदेखि भने फेरि प्रदूषणको चाप बढ्न सक्ने सम्भावना छ । पहाडी क्षेत्रमा मात्रै पानी परेकाले तराईका जिल्लामा लागेको डढेलोका कारण वायु प्रदूषण फेरि बढ्न सक्ने सम्भावना रहेको हो । वायु प्रदूषण बढेपछि उपत्यकासहित विभिन्न जिल्लामा मानिसहरुलाई आँखा पोल्ने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बढेको थियो ।

तर हल्का पानी परेपछि मानिसहरुले तत्कालका लागि राहतको श्वास फेरेका छन् । 


Author

थप समाचार
x