प्रमुख समाचार

अमेरिकी सेनाका एसिया- प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुगे

इकागज |
जेठ २६, २०७९ बिहीबार १६:२ बजे

काठमाडौँ- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । नेपाली सेनाका रथी बालकृष्ण कार्कीले उनलाई त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल फ्लिनको सद्भावना भ्रमण रहेको बताए । उनले सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।


सैनिक मुख्यालयमा जनरल फ्लिनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ । त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फ्लिनले भेटवार्ता गर्नेछन् । बेलुकी प्रधानसेनापति शर्माले जनरल फ्लिनको सम्मानमा रात्रिभोज गर्ने बताइएको छ ।

जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनी सगरमाथा आधार शिविर जाने र त्यस क्षेत्रमा रहेको एभरेस्ट भ्यु होटलमा बिहानको खाना खाने तयारी छ । त्यसमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले जनरल फ्लिनलाई साथ दिनेछन् । जनरल फ्लिनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्नेछन् ।

त्यहाँ बिहानको खाना खाएर शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने र सम्भवतः विद्यार्थीलाई सम्बोधन गर्ने सैनिक मुख्यालयले जनाएको छ । त्यसपछि बेलुकी उनी फर्कनेछन् ।

यसबीचमा जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ । त्यस विषयमा परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको प्रवक्ता सिलवालले जानकारी दिए ।

 


Author

थप समाचार
x