प्रमुख समाचार

पत्रकार महासंघको चुनावमय बन्यो सामाजिक सञ्‍जाल

विष्णु विश्‍वकर्मा |
चैत २३, २०७७ सोमवार ९:१४ बजे

काठमाडौँ : नेपाल पत्रकार महासंघको चुनाव बुधबार* हुँदैछ । महासंघको २६ ओँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिँदै गर्दा सामाजिक सञ्‍जाल पत्रकारहरूकै आकर्षक तस्बिर र नाराले रंगिएका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राममा यतिबेला महासंघको नेतृत्वका लागि उम्मेद्‍वार बनेकाहरूले भोट मागिरहेका छन् । पत्रकार उम्मेद्‍वारहरूका भोट माग्‍ने नयाँ-नयाँ सिर्जनात्मक डिजिटल पर्चा, पम्पलेटले सामाजिक सञ्‍जाल भरिएको छ ।

यसपालि प्रत्यक्ष निर्वाचन प्रक्रियाले गर्दा पनि पत्रकार महासंघमा उम्मेद्‍वार र मतदाताको आकर्षण बढेको देखिन्छ । आफूले चाहेको उम्मेद्‍वारलाई सहजै मत दिन सकिने व्यवस्था महासंघको निर्वाचन व्यवस्था छ । यसले सक्रिय र व्यवसायिक पत्रकार पनि क्षमतावान पत्रकारलाई महासंघको नेतृत्वमा पुर्‍याउनुपर्ने ध्येयका साथ भोट माग्‍ने र सहयोग गर्ने वचनबद्धता गरिरहेका छन् । उम्मेद्‍वार चयन प्रक्रियामा चाहिँ दलीय नेताहरूकै संलग्‍नता मात्र रहेन कि गठबन्धन बनेको देखिन्छ ।


भोट माग्‍ने नयाँ तरिका 
सामाजिक सञ्‍जाल फेसबुक र ट्वीटरमा यतिबेला महासंघमा उम्मेद्‍वार बनेकाहरूको फोटो, भिडियो र न्युज पोर्टलका समाचार भाइरल छन् । यसअघि महासंघको चुनावका लागि प्रत्यक्ष भोट माग्ने, भेला गर्ने, छलफल तथा अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम हुन्थे । यसपालिको चुनाव डिजिटल युगमा प्रवेश गरेको देखिन्छ ।

प्रत्यक्ष भेला, छलफल र भोट माग्‍ने भइरहेपनि चुनाव जित्‍ने पहिलो हतियार भने उम्मेद्‍वारहरूले सामाजिक सञ्‍जाललाई बनाएका छन् । सामाजिक सञ्‍जालमा उम्मेद्‍वारका राम्रा पक्ष, बलिया तर्क, व्यावसायिक यात्रा र आबद्धता, महासंघमा आफूले जितेपछि गर्ने काम र अरु उम्मेद्‍वारभन्दा आफू योग्य हुनुका कारण लगायतका थुप्रै विषयमा आफ्ना धारणा राखेर उम्मेद्‍वारले भोट मागिहेका छन् ।

नेपालमा सामाजिक सञ्‍जालमै यसरी भोट माग्‍ने र जिताउन आग्रह गर्ने सबैभन्दा प्रभावकारी माध्यमका रुपमा फेसबुक प्रयोग गरेको देखिएको छ । यसअघि राजनीतिक दलका नेताहरूले पनि यसरी भोट मागेको कम देखिन्थ्यो । अरु संघ संस्थाको चुनावमा पनि यसरी सामाजिक सञ्‍जाल रंगिने काम कमै हुन्थ्यो । सामाजिक सञ्‍जालमा पत्रकारहरू सबैभन्दा बढी सक्रिय रहने भएकाले पनि यतिबेला फेसबुक, ट्वीटर पत्रकार महासंघको चुनावमय छन् ।

कस्तो छ नेतृत्वको लडाईं ? 
नेपाल पत्रकार महासंघ व्यवसायिक पत्रकारहरूको छाता संगठन भए पनि यसमा दलीय पत्रकार संगठनमा आबद्ध पत्रकारहरूको हालिमुहाली छ । नेपाली कांग्रेस निकट प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस संगठन पत्रकार महासंघमा सधै हावी रहने संस्था हुन् ।

यस वर्षको चुनावमा पनि दुई वटा प्यानलबाट महासंघको नेतृत्वका लागि प्रतिष्पर्धा भइरहेको छ । केही स्वतन्त्र उम्मेद्‍वार पनि छन् । प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (खनाल-नेपाल समूह)को गठबन्धन छ । जसको नेतृत्व विपुल पोखरेलले गरेका छन् । उनी महासंघका वर्तमान उपाध्यक्ष पनि हुन् ।

यसपटकको चुनावमा सबैभन्दा ठूलो गठबन्धन तयार पारेको पोखरेल नेतृत्वको टिमबाट महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवालको उम्मेद्‍वारी छ । लोकतान्त्रिक-प्रगतिशिल-समावेशी प्यानल नाम दिएको यो गठबन्धन बलियो देखिन्छ ।

यस्तै प्रेस चौतारी (ओली समूह)ले पनि महासंघको नेतृत्वका लागि आफ्नो प्यानल घोषणा गरेको छ । निर्मला शर्मा अध्यक्ष रहेको यो प्यानलमा बालकृष्ण बस्नेत महासचिव र कृष्ण गिरीलाई कोषाध्यक्षको उम्मेद्‍वार बनाएको छ । यस्तै स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीले अध्यक्षमा उम्मेद्‍वारी दिएका छन् । बुढाथोकीप्रति व्यवसायिक पत्रकारको समर्थन देखिन्छ । 

के भन्छन् अध्यक्षका उम्मेद्‍वार ?
लोकतान्त्रिक प्यानलबाट उम्मेद्‍वार बनेका अध्यक्ष विपुल पोखरेल आफ्नो जित सुनिश्चत रहेको दाबी गर्छन् । इकागजसँग कुरा गर्दै पोखरेल आफ्नो गठबन्धनबाट आफूले जित्ने निश्चित भएको बताएका हुन् । ‘सबै पत्रकारको साथ सहयोगले मैले जित्ने निश्चित हो’ उनले भने, ‘जितेपछि श्रमजिवी पत्रका र उनीहरूको व्यवसायिक हितका लागि लड्नेछु ।’

यस्तै प्रगतिशील-समावेशी प्यानलबाट अध्यक्षका उम्मेद्‍वार बनेकी निर्मला शर्मा पनि आफूले जित्ने बताउँछिन् । नेपाली पत्रकारितामा महिला सहभागिता बढाउन र उनीहरूको क्षमता वृद्धि गर्न लामो समयदेखि काम गरेकाले आफूले जित्‍ने उनको दाबी छ ।

यस्तै अध्यक्षका स्वतन्त्र उम्मेद्‍वार गजेन्द्र बुढाथोकी महासंघलाई स्वतन्त्र बनाउन आफ्नो उम्मेद्‍वारी रहेको बताउँछन् । पत्रकार महासंघलाई स्वतन्त्र, व्यवसायिक र पत्रकारहरूकै नेतृत्व स्थापित गर्नका लागि आफूले उम्मेद्‍वारी दिएको उनको भनाइ छ ।


Author

थप समाचार
x