प्रमुख समाचार

कोभिडको बहानामा मुलुकले फेरि लकडाउन धान्‍न सक्दैन : कांग्रेस

इकागज |
चैत ३१, २०७७ मगलवार १६:३३ बजे

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहर रोक्न ८ काम तत्काल सुरु गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेसको कोभिड-१९ अनुगमन समितिले अब फेरि मुलुकले लकडाउन धान्‍न नसक्ने भन्दै स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । 

‘देशले फेरि लकडाउनको अवस्था धान्‍न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ,’ कांग्रेसको कोभिड अनुगमन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्‍चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।’  


विश्‍वका अन्य देशहरूमा देखिएका कोभिड-१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकार उदासिन भएका कारण अहिले फेरि संक्रमण फैलदो अवस्थामा पुगेको समितिले बताएको छ । 
गम्भीर विरामीहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्‍चत गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरूर सिमा नाकाबाट आउनेहरूलाई व्यवस्थित चेक जाँच र क्‍वारेन्टाइनको व्यवस्था गर्न, कन्ट्रयाक्ट ट्रेसिङ र सम्भावित संक्रमितहरूलाई लक्षित गरी पीसीआरको परिक्षण दायरालाई व्यापक गराउन, कोभिडविरुद्ध जनतालाई खोप पुर्‍याउन र खोप आपूर्ति सुनिश्‍चित गर्न उच्च कुटनैतिक पहल गर्न माग गरेको छ ।

स्वास्थ्यकमीलाई दिने घोषणा गरेको जोखिम भत्ता उपलब्ध गराउन, तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न र कोभिडको रोकथाम र उपचारसम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारलाई आग्रह गरेको छ । 


 


Author

थप समाचार
x