प्रमुख समाचार

साउदी अरबको पूर्वी क्षेत्रमा नेपाली दूतावासले थप कर्मचारी खटाउने

इकागज |
भदौ १७, २०७९ शुक्रबार १२:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न नेपाली दूतावासले थप एक जना कर्मचारी खटाउने भएको छ । साउदीको पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ र अलहासा क्षेत्रमा ठूलो सङ्ख्यामा कार्यरत रहेका नेपाली कामदारका समस्या धेरै भएका कारण थप एक जना कर्मचारी खटाउनुपर्ने भएको दूतावासले जनाएको छ ।

दूतावासले कार्तिक १ गतेबाट उक्त क्षेत्रमा एक जना कर्मचारी खटाउने भएको हो । अबदेखि  पूर्वी क्षेत्रमा राजदूतावासका २ जना कर्मचारीहरू रहनेछन् ।  यी क्षेत्रमा रहेका श्रमिकहरू समस्यामा पर्ने क्रम पनि बढेकाले समस्या समाधानका लागि थप एक जना कर्मचारी खटाइने दूतावासले प्रस्ट पारेको छ । 


यसअघि यो क्षेत्रमा समस्यामा परेका श्रमिकको समस्या समाधानका लागि एक जना कर्मचारीले काम गरिरहेका छन् । दूतावासले जारी गरेको सूचनामा उल्लेख छ,' पूर्वी क्षेत्रमा अर्को एकजना कर्मचारी व्यवस्था गर्नका लागि राजदूतावासले धेरै अघिदेखि प्रयास गरिरहेको थियो । परिणामस्वरुप वैदेशिक रोजगार बोर्डको सचिवालयबाट यस राजदूतावासको लागि थप एकजना कर्मचारीको व्यवस्था भएको छ ।'

पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानमा थप बल पुग्ने दूतावासले विश्वास गरेको छ । 

पूर्वी क्षेत्रमा रहेका श्रमिकका समस्या सुन्न र समाधानका लागि छुट्टै दुई जना कर्मचारी हुँदा सहज हुने दूतावासले जनाएको छ । अहिले साउदीको रियादमा नेपाली दूतावासको कार्यालय रहेको छ भने साउदीकै जेद्दामा महावाणिज्य दूतावास रहेको छ । 

 


Author

थप समाचार
x