नेपाल, पाकिस्तान र अफगानिस्तानलाई समेटेर 'क्वाड' बनाउने चीनको तयारी
काठमाडौँ : अमेरिकी इन्डो प्यासिफिक रणनीति अन्तर्गत ‘क्वाड’को बहस विश्वभर चलिरहँदा चीनले पनि आफ्ना छिमेकलाई समेटेर छुट्टै ‘क्वाड’को संरचना अघि बढाएको खबर सार्वजनिक भएको छ । चीनले यस क्षेत्रमा अमेरिकीलाई रोक्न वा चुनौती दिन त्यस्तो गठबन्धको तयारी गरेको चीनको हङकङबाट प्रकाशित हुने पत्रिकाले जानाएको छ ।
‘हिमालयन क्वाड’ नामकरण गरिएको गठबन्धनमा चीनसँग नेपाल, पाकिस्तान र अफगानिस्तान रहने उल्लेख छ । हुनत, चीनले यस प्रकारको गठबन्धनबारे पहिलेदेखि पहल गर्दै आएको छ । कोभिड-१९ को भ्याक्सिन र अन्य सहकार्यमा पनि त्यो देखिएको हो । यस विषयमा नेपालले न कुनै औपचारिक पत्र पाएको छ न त पत्रिकामा आएको आधारमा प्रतिक्रिया दिन आवश्यक ठानेको छ । नेपाल कुनै पनि ध्रुवमा अफू नजाने विषय स्पष्ट पारिसकेकाले त्यसमा सहकार्य गर्ने देखिदैन, परराष्ट्रका एक अधिकारीले भने ।
भारतलाई दबाबमा राख्न चीनले यस प्रकारको अभ्यास गर्ने संकेत दिँदै आएको थियो । अमेरिकी भन्दा पनि भारतलाई सन्तुलनमा राख्ने एउटा रणनीति भएको यसमा उल्लेख छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा प्लस वानको भूमिका खाजिरहेको चीनले त्यसमा आफ्नो स्थान कमजोर पाएपछि त्यही भित्रका सदस्य मुलुकमार्फत सक्रिय हुन खोजेको हो ।
यो क्षेत्रमा चीनले आफ्नो प्रभुत्व विस्तार गर्न क्वाड संवादलाई जोड दिएको र यसले छिट्टै औपचारिकता पाउने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । पोस्टका अनुसार गठबन्धन निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । बेलारुसका एक कूटनीतिज्ञ युरी यार्मोलिन्स्कीले अब्जर्भर रिसर्च फाउन्डेसन, भारतद्वारा प्रकाशित एक आलेखमा त्यस्तो विषय उठाएका थिए । उनी भारतका लागि बेलारुसका पूर्वराजदूत हुन ।
अमेरिकी क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) लाई काउन्टर दिन चीनले तीन छिमेकीलाई जोडेर हिमाली राष्ट्रलाई समेटेर ‘हिमालयन क्वाड’ गठबन्धन थालेको उल्लेख छ । ‘साउथ चाइन सी’मा हुनसक्ने अमेरिका र उसका साझेदार मुलुकहरूको सम्भावित सैन्य हस्तक्षेप, ताइवानको स्वतन्त्रता दिलाउन हुनसक्ने सैन्य सहयोगहरू लगायतमा सचेत हुँदै छिमेकलाई बाधेर निकट राख्ने प्रयास चीनले गरेको हुनसक्ने अधिकारीहरू बताउँछन् । अमेरिकी नेतृत्वको क्वाड विकासका लागि सहकार्यमा आधारित रहेको भन्दै त्यस्तो विषय नराखेको बताएका छन् ।
नेपालसँग सैन्य अभ्यास, सीमा क्षेत्रमा सहयोग, नियन्त्रित नाका राख्ने, सीमा क्षेत्रमा आफ्नो अर्ध सैन्य बललाई राख्ने जस्ता कार्य चीनले गरेको छ । त्यसअलवा चीनले नेपाली सेनासँग सैन्य अभ्यास गर्ने जस्तका कार्यहरु गर्दै विस्तारै औपचारिक सहकार्य उन्मुख भएको हो ।
उसले पाकिस्तानसँग आर्थिक करिडोर (सीपेक)मा मद्दत गर्ने र अफगानिस्तानसँग आफ्नो भूभाग शान्त राख्न सहकार्य गर्ने जस्ता विषय छन् । त्यस्तै अफगानिस्तानलाई चीनले आर्थिक सहयोग पनि अधिक गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया