प्रमुख समाचार

आम नागरिकको स्वागतले भावुक बने पूर्वराजा

इकागज |
बैशाख ५, २०७८ आइतवार १८:४६ बजे

काठमाडौँ : छिमेकी भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । भारतको उत्तर प्रदेश सरकारले उनलाई मेलामा वहालवाला राजालाई झै स्वागत गरेको थियो । त्यहाँ उनले नेपालको पछिल्लो राजनीतिक अवस्था झल्कने वक्तब्य समेत दिएका थिए । 

कुम्भमेलामा उनले नेपालमा हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त पनि गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रले हिन्दु धर्म बचाउन हामी सबै लाग्नु पर्ने धारणा व्यक्त गर्दै हाम्रो संस्कृति रक्षा गर्नु पर्ने बताएका थिए । 


उनी दिल्लीमा केही दिन भेटघाटपछि धार्मिक मेलामा सहभागी हुन हरिद्वार पुगेका थिए । मेलामा सहभागट्ठ भएर उनी केही समय पुनः दिल्लीमा नै बसेर आइतबार अपरान्ह स्वदेश फिरेका हुन । मेलामा सहभागीलाई कोभिड-१९ भएपछि उनले कोभिड-१९ परीक्षण गरेर नेगेटिभ आएपछि उनी स्वदेश फर्केका हुन । 

पछिल्लो समय राजनीतिक नेतृत्वको कारण निरस बन्‍न पुगेका नेपालीहरूमा राजसंस्थाप्रति फरक आस्था र भाव पलाउन थालेको झै देखिन्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलअगाडि देखिएको भीडले त्यो संकेत गर्दछ । पूर्वराजालाई भव्य रूपमा विमानस्थलमा स्वागत गरिएको थियो । त्यो ठूलो भीडलाई पन्छाउन प्रहरीलाई  हम्मे-हम्मे परेको थियो । 

विमानस्थलको बाहिरदेखि भित्री गेटसम्म पुगेका समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’ भन्दै ‘हाम्रो राजा, हाम्रो देश’ समेत भन्‍न भ्याएका थिए । त्यो भीडलाई नियाल्ने हो भने मुलुकका नेतृत्वप्रति जनतामा एक प्रकारको नैराश्यता देखिन थालेको प्रष्ट हुन्छ ।

जनताले नेतालाई रजाइँ गर्न र सत्तामा लुछाचुडी गर्न गणतन्त्रका लागि लडेका थिएनन् । त्याे भीडले राजालाई भावुक मात्र बनाएन आँट पनि थपेको छ । भारतमा पनि उनको स्वागतपछि उत्साहित बनेका राजा काठमाडौँ ओर्ले पछि थप उत्साहित र भावुक बनेको उनी निकटस्थले सुनाए ।  

गणतान्त्रिक मुलुकमा पूर्व राजालाई गरेको स्वागतको दृष्य नियाल्ने हो भने मुलुकमा गणतन्त्र छ त भन्‍नेझैं देखिन्छ । आइतबार अपरान्हको दृष्यले यस्तो थियो पूर्वराजा बाहिरि‌दै गर्दा पञ्‍चकन्याले सयपत्री फूलको माला लगाएर स्वागत गरिएको थियो भने विमानस्थल परिसरभित्रै पञ्चेवाजा घन्केको थियो । राष्ट्रिय झण्डासहितको ठूलो भीड विमानस्थलमा थियो । 


Author

थप समाचार
x