प्रमुख समाचार

वातावरण विभागले उपत्यकामा प्रदूषण गराउने सवारीसाधनलाई कारबाही गर्ने

इकागज |
मंसिर २२, २०७९ बिहिवार ९:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनले वातावरण प्रदूषण गराएमा वातावरण विभागले कारबाही गर्ने भएको छ । पौष १ गतेबाट वातावरण प्रदूषण गराउने तथा मापदण्डविपरीत सञ्चालित सवारीसाधनलाई कारबाही गर्ने वातावरण विभागले जनाएको छ ।

वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाखसम्म जरिवाना हुने विभागले जानकारी दिएको छ । सवारीसाधनको मर्मत गरी सञ्चालनमा ल्याउन विभागले सबैलाई अनुरोध गरेको छ ।


विभागले पछिल्लो समय गरेको छड्के चेकमा काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमा बढी धुँवा निस्कने गरेको पाएको जनाएको छ । विभागले जारी गरेको सूचनामा उल्लेख छ,’ आगामी दिनमा सघन रुपमा परीक्षण गरिनेछ । हालको गरिएको छड्के चेकमा प्रदूषण गराउने साधन भेटिएको र मर्मत गर्ने सर्तमा अवसर दिएको छ ।‘  

वातावरण विभागले सवारीसाधन प्रदूषण जाँचपास गरिएको हरियो वा अन्य स्टिकरको समय अवधि बाँकी रहेका र प्रदूषण जाँचपास नहुने सवारीसाधनलाई कारबाही गरिने बताएको छ ।

‘आफ्नो टोल छिमेकमा खुला रुपमा कोही कसैले फोहोर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी वातावरण विभागमा अनुरोध छ । यस्तो जानकारी दिनेको परिचय गोप्य राखी दोषीमाथि नियमानुसारको कारबाही हुने व्यहोरासमेत जानकारी गराइएको छ,’ विभागले जारी गरिएको सूचनामा लेखिएको छ ।


Author

थप समाचार
x