जहाँ विपन्न महिलाले जागिर पाउँछन्
ढाका उद्योगमा कपडा तयार गर्दै विपन्न महिलाहरू । तस्बिर : इकागज
सर्खेत : वीरेन्द्रनगर-१२ की सरला रावत गत वर्षदेखि ढाकाका कपडाहरू बुन्नमा व्यस्त छन् । साँझ/बिहानको घरधन्दा सकेपछि ढाकाका विभिन्न सामाग्री तयार पार्छिन् । ‘बिहान छोराछोरीलाई स्कुल पठाएर यहाँ उद्योगको काममा आउँछु अनि बेलुका छोराछोरी घर पुग्ने बेलामा कामबाट फर्किन्छु’ सरलाले भनिन्, ‘घरको काम पनि भ्याएकै छु रोजगार पनि पाएकै छु ।’
सरला दिउँसोमा वीरेन्द्रनगर-८ स्थित ढाका उद्योगमा आउँछिन् । उनले उद्योगमा काम गरेवापत मासिक सात हजार पाउँछिन् । दिनभरी बुनेको ज्याला अलग पाउँछिन् । उनले ढाकाको साडी बुनेवापत दुई हजार, ठूलो पछ्यौरा, साना पछ्यौरा, टोपी, चोलो, रुमाललगायतका सामानको प्रति पीस ५० देखि तीन सयसम्म पाउँछिन् । यस हिसाबले उनको मासिक तलब भनेको १० हजारदेखि १२ हजारसम्म बस्न जान्छ ।
उद्योगमा रोजगार पाएपछि अहिले उनी खुसी छन् । अहिले उनलाई घरखर्च चलाउन सजिलो भएको छ् । ‘मलाई रोजगारी दिनुभयो धेरै धन्यवाद छ’उनी भन्छिन्, ‘म जस्ता गरिबले काम पाएर धेरै सिक्न पाएको छु ।’ सुरुवातमा तीन महिनासम्म निशुल्क तालिम दिइएको र पछि नगरपालिकाले नै रोजगार दिएको उनले बताइन् ।
सरलाजस्तै उक्त उद्योगमा वडा नम्वर १३ की ३५ वर्षीया मनसरा खड्का पनि आउँछिन् । उनका श्रीमानले मजदुरी गर्छन् । मजदुरी गरेको कमाईले घरखर्च चलाउन धौ धौ हुन्थ्यो । मनसराले पनि रोजगार पाएपछि उनको छोराछोरी पढाउनदेखि घरव्यवहार चलाउन सजिलो भएको छ । ‘साँझबिहानको घरको काम सकेपछि दिउँसोमा फुर्सदको समयमा घरमै बस्थे’ उनी भन्छिन्, ‘अहिले सीप सिक्न र रोजगारी पाउँदा खुसी लागेको छ ।’
वीरेन्द्रनगर-५ की सरस्वती सारु दिउँसो उद्योगको रोजगारी मात्र होइन घरमा अलिकति फुर्सदको समय मिल्यो भने घरमा पनि विभिन्न कपडा तयार गर्छिन । उद्योगमा काम गरेवापत रोजगारसँगै घरमा बुनेको कपडाबाट पनि छुट्टै आम्दानी गर्छिन् ।
‘आफुले सिकेको सीपको प्रयोग गरेर आम्दानी गर्न सकेमा राम्रो हुन्छ’ उनले भनिन्, ‘फुर्सदमा घरमै बस्न भन्दा रोजगारी गर्दा हामीलाई नै सजिलो हुने रहेछ ।’ उनीहरूलाई प्रशिक्षण दिएकी छन् वीरेन्द्रनगरकी निरमाया रानाले ।
दुई वर्षयता निरन्तर रुपमा उनीहरूलाई सिकाईरहेको उनले बताइन् । ‘सुरुवातमा विपन्न महिलालाई तालिम दिइएको थियो र अहिले पनि उनीहरूलाई बेला बेलामा उनीहरूले नबुझेको ठाउँम स्पष्ट पारिदिनुपर्छ’ उनले भनिन्, ‘तालिम पछि अहिे महिलाहरूले साडी, सल, कुर्ता, टोपी, रुमाल तथा विभिन्न थानका कपडाहरू उत्पादन गर्दै आएका छन् ।’
वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रम संचालन गरेपछि सरल, मनसरा र सरस्वती जस्ता नगरपालिकाका ६० जना विपन्न महिलाले रोजगार पाएका छन् । उनीहरूलाई ढाकाका सामाग्री तयार पार्नको लागि तीन महिनाको तालिम संचालन गरेपछि रोजगार पनि नगरपालिकाले नै दिएको हो ।
नगरका विपन्न महिलालाई तालिम सञ्चालदेखि नै खाजावापत नगरपालिकाले मासिक सात हजार रुपियाँ दिदै आएको छ । यो सँगै उनीहरूले उत्पादन गरेको ज्याला पनि उपलब्ध गराउँदै आएको छ । त्यतिमात्र होइन उत्पादन भएका सामाग्रीको बजारीकरणको जिम्मा नगरपालिकाले नै लगेको छ ।
महिला स्वरोजगार कार्यक्रमले नगरका विपन्न महिलाहरूले रोजगारी पाएको विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल बताउँछिन् । ‘विपन्न महिलालाई तालिम मात्र दिएर हुँदैन र उनीहरूलाई रोजगारको ग्यारेन्टी गर्नुपर्छ भनेर उनीहरूलाई रोजगारीको व्यवस्था गरेका हौ’ ढकालले भनिन्, ‘अहिले तालिमपछि उद्योगमा सबै महिलाहरू आउने र ढाकाका कपडा तयार गदै आएका छन् ।’
उनीहरूले तयार गरेका सामाग्रीको ज्याला दिएर ती सामाग्रीको बजारीकरणको व्यवस्था पनि नगरपालिकाले नै गरेकाले कार्यक्रम प्रभावकारी बनेको उनको भनाई छ । महिला स्वरोजगार अन्र्तगत नगरपालिकाले अटोरिक्सा तालिम, ढाका बुनाई र सिलाइकटाई लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया