प्रमुख समाचार

पार्टीको चिन्हबाट सांसद भएर स्वतन्त्र जिते झैँ व्यवहार अब जसपामा चल्दैन : मोहम्मद इख्तियाक राई

इकागज |
बैशाख १९, २०७८ आइतबार १०:२८ बजे

काठमाडौँ  : जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा चार सांसदलाई पार्टी र प्रदेशसभा सदस्यबाट निस्काशन गरेपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष बलियो बनेको छ । हुनत यो दल फुटको संघारमा यसअघि नै पुगेको भए पनि महन्त ठाकुर र राजेन्द्र महतो पक्षको ४० प्रतिशत नपुग्दा फुटबाट जोगिएको जसपा सांसद्हरूले बताउँदै आएका छन् । 

सुरुका दिनमा ४० प्रतिशत भन्दा पनि बढी भएका भन्दै ठाकुर र महतोले आफ्नो तरिकाले वार्ता गर्दै हिडेको आरोप पनि दल भित्र छ । तर, अहिले अवस्था बदलिएर यादव र भट्टराई  पक्ष बलियो बनेपछि फुटको सम्भावना टरेको उनीहरू बताइरहेका छन् । अनुशासन नमानेको भन्दै चार जनालाई पदमुक्त गर्ने निर्णयपछि जसपाका अर्का अध्यक्ष ठाकुर र नेता महतोको टोली निर्वाचन आयोगको ढोकासम्म पुग्यो । निलम्बनमा परेका सांसदहरू आफुहरूमाथी गरिएको कारबाही नियमसंगत नभएको भन्दै सर्वोच्च अदालतसम्म पुगे ।


तर, जसपामा समीकरण बदलिएको  र पार्टी  नियमसंगत अघि बढेको केही नेताहरूले बताए । नेताहरू मोहम्मद इस्तियाक राई, प्रदीप यादव र रेणु यादवले यसमा भूमिका निर्वाह गरेको बताइन्छ । यसमा पनि राई पटक-पटक कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दै कांगेस, माओवादी र जसपाको सहकार्यमा जोड दिइरहका छन् । उनको भूमिकाले पार्टीमा सहकार्य बलियो बनेको यादव स्वयंले बताएका छन् । 

पहिले यादवसँग असन्तुष्ट भएर ठाकुरसंग सहकार्य गरिरहेका उनीहरू एकाएक यादव र भट्टराईसँग सहकार्य गर्न थालेपछि ठाकुर समस्यामा परेका हुन् । ‘सर्वोच्च अदालतको फैसलापछि पार्टीको निर्णयविपरीत गएर ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न थालेकाले पार्टीमा विवाद चुलिए पनि फुटमा नै नपुगेको छैन,' मोहम्मद इस्तियाक राई भन्छन् । 

ठाकुर र महतो पार्टी निर्०य लत्याएर हिड्दा समस्या भएको राई बताउँछन् ।  ‘पार्टी भित्रको बैठक छलेर वा भएका निर्णय लत्याएर उहाँहरू आफ्नो ढंगले हिड्दा समस्या देखिएको हो । पार्टी आफ्नै लाइनमा स्पष्ट छ । जुन पक्षसँग कुरा गर्ने भए पनि त्यसको आधिकारीकता त पार्टीको निर्णयले तय गर्ने हो नि,’  राईले भने ।  

कसलाई कसले भेटेर कोठामा बसेर निर्णय लिएर हुन्छ र भन्दै राई भन्छन,‘त्यही विषयमा मात्र विरोधाभास देखिएको हो । दलभित्रको कुरा नै छिनोफानो नगरी आफ्नो व्यक्तिगत गोजीबाट मुद्दा निकालेर उहाँहरू ओलीकोमा पुगेर कुराकानी गर्न थाल्नु भयो । त्यसैको विरोधाभास देखिएको हो । यसमा थप समस्या छैन । ठूलो विवाद पनि होइन ।’ 

'पार्टीको आफ्नै पद्धति हुन्छ र प्रणाली हुन्छ । जसले जे मन लाग्यो त्यही गर्न पाइदैन,’ राईले भने, ‘पार्टीको निर्णयलाई नमानेर जो जहाँ पनि गएर सपथ खाने, जसले जसलाई पनि समर्थन गरिदिने पनि हुन्छ र ?’ सांसदहरू स्वतन्त्र उठेर  आएका हुन र भन्दै राइले थपे, ‘ जसपा विभाजन हुदैन । पार्टीको ह्विप नै नमान्‍ने,पार्टीको नीति र सिद्धान्तमा नै नबस्‍ने र उल्लंघन गर्ने कारबाहीमा पर्छन् । पार्टीको सांसद हुने, पार्टीको चिन्ह्बाट जित्‍ने अनि पार्टीको निर्णयविपरीत सपथ खाईदिनेलाई लुम्बिनीमा लिइएको निणर्य एउटा गतिलो पाठ हो ।’ 


Author

थप समाचार
x