प्रमुख समाचार

माथिल्लो तामाकोसीको परीक्षण धमाधम

इकागज |
बैशाख २१, २०७८ मंगलबार ९:१९ बजे

काठमाडौँ : कोभिड-१९ ले सारा देशबासीलाई गाँजिरहेको बेला राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी (४५६ मेगावाट) को धमाधम परीक्षण भइरहेको छ ।

अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार यो वैशाखको अन्तिमसम्म भूमिगत संरचनाहरुमा पानी हुलेर परीक्षण हुनेछ । ‘पानी हालेर गरिएको परीक्षण (वेट टेस्ट) अलि सुस्तरी नै हुन्छ,’ श्रेष्ठले इकागजसँग भने, ‘कहीँ कतै पानी चुहिएको देख्‍नेबित्तिकै पानी खाली गराएर त्यसलाई ठीक पार्नुपर्ने हुन्छ ।


माथिल्लो तामाकोसी ८२२ मिटर उचाइबाट पानी झर्ने भएकाले पानीको वेग अत्यन्त तीव्र हुन्छ । गत असारमा मेलम्चीको सुरुङमा पानी हुल्दा सुरुङको ढोकै फुटाएको थियो, जसले दुई व्यक्तिको मृत्यु भएको थियो । मेलम्चीको पानी जम्मा ५० मिटर उचाइबाट सुन्दरीजल ल्याइएको हो ।

‘हाइ हेड (धेरै उचाइ) को संरचना भएकाले स्टेप बाइ स्टेप (एक एक गरी) परीक्षण गर्नुपर्छ,’ आयोजनास्थल दोलखाको लामाबगरमा परीक्षण कार्यमा खटिरहेका श्रेष्ठले टेलिफोनमा इकागजसँग भने । 

पानी हाल्दै, परीक्षण गर्दै, नोट बोल्ट कस्दै क्रमशः गर्नुपर्ने हुँदा यो अत्यन्त संवेदनशील छ । श्रेष्ठका अनुसार आगामी बुधबारसम्ममा पेनस्टक पाइपमा पानी पुग्‍ने सम्भावना छ ।

‘बाँधबाट पेनस्टक पाइपसम्म पानी आउन चार घण्टा लाग्छ,’ उनले भने, ‘कतै लिकेज (चुहावट) देखिए फेरि पानी फाल्नुपर्छ ।’

भूमिगत संरचनाअन्तर्गत ठूला ६ वटा भल्ब छन् । ती सबै भल्ब भर्दै, पानी रसाएको/नरसाएको सबै परीक्षण गरिन्छ । सोमबार मुख्य भल्बमा पानी राखेर परीक्षण भइरहेको श्रेष्ठको कथन थियो । 

बाँधस्थलदेखि टर्बाइन पुग्‍ने ठाउँभन्दा अघि (पेन स्टक पाइपसम्म) साढे आठ दशमलब चार किलोमिटर सुरुङमा पानी खसाउने मुख्य कार्य पनि क्रमिक रुपमा हुने उनले जानकारी दिए । गत वैशाख १५ गतेदेखि सुरुङमा पानी हाल्न सुरु गरिएको थियो । 

सबै परीक्षण सकेर आगामी जेठ पहिलो साता विद्युत् उत्पादन परीक्षण गरिने कार्यसूची छ । तर भारतबाट १२ जना विशेषज्ञहरु आएपछि मात्र विद्युत् उत्पादन परीक्षण हुने श्रेष्ठले बताए ।

सरकारले कोभिड १९ को बढ्दो संक्रमणका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको छ । यसले गर्दा विशेषज्ञहरुको टोली निर्धारित समयमै आयोजना स्थलमा आइनपुग्‍ने हो कि भन्‍ने शंका छ ।

आयोजनाको सम्पूर्ण निर्माण कार्य पूरा भई यसै आर्थिक वर्षभित्र ६ वटै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । सानातिना काम बाँकी रहेकाले यसको पूर्व निर्धारित सूचि भने केही संशोधन हुने देखिन्छ । 

विद्युत् प्राधिकरण र अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडबीच भएको विद्युत् खरिद सम्झौता (पीपीए) को संशोधित प्रावधानअनुसार आयोजनाको पहिलो युनिटबाट यही वैशाख १५ गते, दोस्रो युनिट वैशाख ३१ गते, तेस्रो युनिटबाट जेठ १५ गते, चौथो युनिटबाट जेठ ३१ गते, पाँचौं युनिटबाट असार १५ गते र अन्तिम तथा छैटौं युनिटबाट असार ३१ गते बिजुली उत्पादन गर्ने उल्लेख छ । यी सबै युनिटहरुबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी २०७३ सालमा पूरा हुनुपर्ने थियो । तर भूकम्प, नाकाबन्दी, डिजाइन परिवर्तन र इलेक्ट्रो-मेकानिकल लटको ठेकेदारको लापर्वाहीले ढिला भएको हो ।

निर्धारित समयभन्दा निर्माण कार्य पूरा नभएकाले यसको लागत पनि वृद्धि भएको छ । सुरुको अनुमानित लागत करिब ४४ करोड १० लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजबाहेक) थियो । अहिले यसको लागत करिब ७५ अर्ब रुपैयाँ पुग्‍ने अनुमान गरिएको छ ।


Author

थप समाचार
x