प्रमुख समाचार

कोभिड संक्रमणबाट बच्‍न सेनाभित्रको सावधानी उदाहरणीय

इकागज |
बैशाख २२, २०७८ बुधबार ११:५७ बजे

काठमाडौँ : कोभिड-१९ सङ्क्रमणको दोस्रो लहर ‘सुनामी’झैँ फैलिँदा नेपाली सेनाभित्रको सावधानी उदाहरणीय छ । कोभिड बिरामी र मृत्यु भएकासँग प्रत्यक्ष सम्पर्कमा रहँदा पनि सावधानी अपनाए संक्रमणबाट बच्‍न सक्ने उदाहरण नेपाली सेना स्वयं हो । पहिलो चरणमा पाँच हजार बढीमा संक्रमण खेपेको नेपाली सेनामा यो संक्रमणको सुनामीमा एक सय पनि संक्रमित छैनन् । 

बेलयती भेरियन्टको संक्रमणको दोस्रो लहरले यस क्षेत्र आक्रान्त हुँदा फ्रन्टलाइनमा खटिँएका आफ्ना सेनालाई समेत यसअघि दिइएको सचेतना कार्यक्रम र उनीहरूको सजकताले संक्रमण हुन रोकेको छ । यसलाई ठूलो हाउगुजी बनाउनुभन्दा यसमा सचेतना सबै क्षेत्रबाट अपनाउने हो भने संक्रमण भाइरसबाट बच्‍न सकिने सैन्य अधिकारीहरू बताउँछन् । 


सीमा नाकामा प्रवेशमा निकै ध्यान दिने, हवाई यात्रामा पनि सावधानी अपनाउँदा यो संक्रमणबाट बच्‍न सकिने उनीहरूको बुझाई छ । सेनाले आफ्ना सबै चेनमा कोभिड-१९ बाट बच्‍न र आफू निकै सतर्क हुन सर्कूलर नै गरेको छ । त्यसमा सबैलाईलाई सचेतना कार्यक्रममा राख्‍ने सुझाउने र स्वास्थ्य प्रोटोकललाई पनि सेनाको अन्य अनुशासन सो सरह पालना गर्ने कार्यले त्यो सम्भव भएको सैन्य अधिकारीहरू बताउँछन् ।  

नेपालमा कोभिड प्रवेश भएदेखि अहिलेसम्म तीन जना नेपाली सेनाले ज्यान गुमाएका छन् । त्यसमध्ये दुई जना दिर्घ रोग (क्यान्सर र क्षय रोग) बाट ग्रस्त थिए । नेपाली सेनाभित्र यसपटक भने निकै कम संक्रमण देखिनुको मुख्य कारण हो ‘सावधानी’ । कत्ति पनि हेलचेक्राई नहुनुले पनि सेना भित्र कोभिडको ठूलो समस्या देखा परेको छैन । 

नेपाली सेनाले सावधानी अपनाउँदा संक्रमणमा कमी आएको सैन्य प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालले इकागजलाई जानकारी दिए । सेनाको खटाई स्पष्टै छ भन्दै पौड्याल भन्छन्, ‘हामी निश्चिन्त भेटघाट र अन्य कामहरू गरिरहेका छौँ । तर, सावधानी पहिलो प्राथमिकतामा राखेका छौँ ।’ 

संक्रमण भएर निको हुनेको संख्या अधिक रहेकाले पनि हामीले रोगलाई चिनिसकेपछि त्यसमा सतर्कता अपानाउने हो भन्दै उनले भने ,अहिले हामीकोमा एक सय आसपासमा संक्रमित हुनुहुन्छ । उहाँहरू पनि उपचारार्थ र आइसोलेसनमा हुनुहुन्छ ।’ 

नेपालमा हालसम्म तीन लाख ५१ हजार पाँच कोभिड-१९ बाट सङ्क्रमित भएकामा दुई लाख ८७ हजार ७९० निको भएको कोभिड संक्रमण संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्यांक छ ।  

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६० हजार कटिसकेको छ भने मृत्यु हुनेको संख्या पनि चार सय कटिसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि साढे सात हजार कोभिड संक्रमित थपिएका थिए । निको हुनेको संख्या पनि झण्डै दुई हजार छन् ।


Author

थप समाचार
x