प्रमुख समाचार

बुधबारको बुढानिलकण्ठ

बुढानिलकण्ठको अन्तर्य : ओलीले के भने अनि देउवाबाट के सुने

इकागज |
बैशाख २३, २०७८ बिहीबार १९:१८ बजे

काठमाडौँ : बालुवाटारबाट फोन आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सारथी (आगन्तुक र पुराना) हरू आफ्नो भेटघाट/काम सबै छोडेर बालुवाटार पुगेका थिए । बालुवाटार पुग्दासम्म पनि कतिपयलाई किन बोलाइएको भन्‍ने जानकारी नै थिएन ।

एक्कासी प्रधानमन्त्रीले बुढानिलकण्ठ जान पर्‍यो भनेपछि सबैले पुरानै शैलीमा मुन्टो हल्लाए । अनि प्रधानमन्त्रीको पछि लागे । प्रधानमन्त्रीले यसो गरौँ भन्दा कसैले जवाफ फर्काएको खण्डमा उसलाई प्रधानमन्त्रीले हेर्ने देष्टिकोण नै फरक हुन्छ । 


प्रधानमन्त्री ओली आफू असजिलोमा परेपछि मात्र समकालिन नेताको घर धाउने नीति अवलम्बन गर्छन् । त्यही नीति अनुरुप ओली बुधबार बुढानिलकण्ठ पुगे । अनि ओलीले सुरु गरे आफ्नो कुरा राख्‍न । ‘विश्‍वासकै मतका निम्ति २७ बैशाखमा बैठक आह्वान गरेको हुँ । तपाईंहरूले मलाई मत दिनु पर्‍यो । म त तपाईंहरूसँग मत माग्‍न आएको हुँ,’ ओलीलाई उद्धृत गर्दै एक नेताले भने ।

ती नेताका अनुसार उनले त्यसअतिरिक्त लामो रकमी गफ दिए, धेरैजसो अनेकन पटक बोलिसकेकै भनाइ दोहोर्‍याए । तर, समग्र चाहिँ विश्‍वासको मतको आग्रह थियो । उनको लामो गन्थन सुनेपछि देउवाले भने, ‘हामी त प्रमुख प्रतिपक्षी दल हौं । हामीले हाम्रो राजनीतिक धर्म र भूमिका निर्वाह गर्नुपर्छ । तपाईलाई विश्‍वासको मत दिन सक्ने अवस्था छैन । हाम्रो राजनीतिक धर्म भनेको तपाईंले लिन खोज्‍नुभएको विश्‍वासको मत असफल पार्ने हो ।’

किन भ्याक्सिन नल्याएको: देउवा 

देउवाले पनि ओलीलाई लगातार कोभिड-१९ महामारीको बारेमा सरकार किन संवेदनशील नभएको भन्दै त्यसमा लाग्‍न सुझाए । सरकार र संसद्को जोड घटाउमा कति दौडेको भन्दै अलिक रिसाएको शैलीमा भने । कोभिडले देशभरिको अवस्था बिग्रेको छ भन्दै देउवाले भने, ‘भ्याक्सिन ल्याउन किन ढिलाई गरिएको हो ? राज्य कोषको कुनै पनि स्रोतबाट भ्याक्सिन ल्याउनुस् र कोभिड बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्नुहोस् । नागरिक बचाउने काममा लाग्‍नुस् । तपाईं काम गर्न  लाग्‍नुस्, यो विषयमा तपाईँलाई पूर्ण सहयोग हुन्छ ।’

त्यहाँ उपस्थित भएका अर्का नेताका अनुसार देउवाले रिसाउँदै ओलीलाई नागरिकको हित गर्ने काम गर्नतर्फ किन नलागेको, हुल बाधेर किन हिड्नु भएको भन्दै कामको प्राथमिकता तय गर्न सुझाएका थिए । उपस्थित कांग्रेस नेताहरूले भ्याक्सिनमा बिचौलियाका खेलबारे ‘इकागज’मा लेखिएको विषय पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

‘कमिसन एजेन्टकै कारणले भ्याक्सिन नआएको तथ्यांक ‘इकागज’मा आएको छ । अनि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बिचौलियाका कारण भ्याक्सिन ल्याउन ढिलाई भएको भिडियो सार्वजनिक भएको छ । यसमा के हो ? यसका कांग्रेस गम्भीर छ,’ प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेस सहमहामन्त्री प्रकाससरण महतले सञ्चारकर्मीहरूसँग भने । 

त्यसपछि झस्किएका ओलीले तत्काल भने समाचारमा आए जस्तो अवस्था आइनसकेको बताए । ओलीले भएको तथ्य यो हो भन्‍ने जिकिर प्रस्तुत गर्दै ‘चाँडो भन्दा चाँडो भ्याक्सिनको व्यवस्था गर्ने’ बताए । उनले त्यसो भन्‍ने वित्तिकै कांग्रेसका अन्य नेताहरूले पनि खै त सरकारले देखिने गरि काम गरेको ? यो अवस्था आउँछ भन्‍ने पूर्वानुमान थियो नि होइन र भन्दै सरकारको तयारी किन पुगेन भनेपछि ओली थप झस्केका थिए । 

प्रधानमन्त्री किन लोकतन्त्रको मूल्य र मान्यताविपरीत हिँडेको भन्दै कांग्रेस नेताहरूले बैठकमा कुरा उठाएका थिए । त्यसपछि लोकतन्त्र, अध्यादेश संवैधानिक पद्धतिविरूद्ध प्रधानमन्त्रीका क्रियाकलापमा ध्यान दिएको भन्दै आफूलाई रक्षात्मक रूपमा ओली प्रस्तुत भएका थिए । ‘संसद् अधिवेशन बोलाउने अनि अध्यादेश जारी गर्ने ?’ भन्दै कांग्रेसले कुरा उठाएपछि ओलीले कुनै जवाफ नै दिएनन् ।

अनि ओलीको मुहारमा चमक हराउँदै अध्यारोपना छाउँदै गएको अर्का एक नेताले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्‍वास प्रस्ताव छल्दै, संसद् अधिवेशन अन्त्य गर्दै ‘स्वघोषित मुख्यमन्त्री’ हुन पाइन्छ ? भन्‍ने प्रश्‍न पनि देउवाले ओलीसँग गरेका थिए । त्यो सुनेपछि ओली झनै अलमलिदै गोलमोटल जवाफ र उदाहरणहरूमा गएका थिए ।  

अनि कांग्रेसले फेरि लुम्बिनी र गण्डकी घटनाले संविधान र संसदीय पद्धतिविरूद्ध भएको भनाइ कांग्रेसले राखेको थियो । कांग्रेस नेताहरूको प्रश्‍न थियो, ‘यस्ता काम तपाईंहरूले किन गर्नुभयो ?’ त्यो विषयमा पनि ओली अवाक भए । त्यसमा ओलीले झनै गोलमटोल जवाफ दिए ।

त्यसमा ओलीको भनाइ उद्धृत कांग्रेसका एक नेताले भने, ‘मुख्यमन्त्री संख्या पुर्‍याएर प्रदेश प्रमुख कहाँ गएका थिए, तर बीचैमा सांसदहरू यताउता भए । म विश्‍वासको मत माग्‍न आएको हुँदा त्यो विषयमा अहिले छलफल नगरौं ।’

ओलीले कांग्रेस नेताहरूले पेल्दै गएको थाहा पाएपछि उनले अब विश्‍वासको मतका विषयमा फर्कौ भन्दै फकाउने शैलीमा कुरा गर्न थालेका थिए । तर, कांग्रेसले प्रतिपक्ष भूमिका निर्वाह गर्ने भनेपछि अन्यसँग पनि छलफल गर्छु भन्दै ओली आफ्ना सारथीहरूसहित फर्केका थिए । 


Author

थप समाचार
x