प्रमुख समाचार

राष्ट्रपतिले जोगाउलिन् त ओलीको प्रधानमन्त्री पद ?

नेपाल समूहको निष्कर्ष : यसपालि 'ओली जाल'मा परिँदैन

इकागज |
बैशाख २५, २०७८ शनिबार १३:५४ बजे

काठमाडौँ : कोभिड-१९ को महामारीबीच सत्तारुढ एमालेभित्रको विभाजनले उत्कर्ष रुप लिएको छ । त्यो विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारी लागेकी छन् । उनले समग्र पार्टी हितभन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको जोगाउन राष्ट्रपतिकै पद दुरुपयोग गरेको आरोप एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधरको छ ।

नेपाललाई बिहीबार साँझ भेट्न बोलाएर उनले प्रधानमन्त्रीको पक्षबाट वकालत गरेपछि अन्य नेताहरू सशंकित भएका छन् । उनले सिँधै कारबाही फिर्ता गर्ने पार्टी अध्यक्षले भनिसकेपछि नमिल्ने कुरो के छ र मिल्न सुझाएकी थिइन । उता राष्ट्रपति-नेपालबीच वार्ता भइरहँदा यता प्रधानमन्त्री ओलीसँग दोस्रो तहका नेताहरु पनि भेट वार्तामा थिए ।


नेपालले आफूहरूले विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको बताउँदै उनले भण्डारीसँग भने, ‘नमिल्ने कसले भनेको छ ? उहाँले आफ्नो सीमित स्वार्थका लागि हामीलाई पाखा लगाउनु भएको छ ।’ नेपालले वार्ता र लचकता दुवै अपनाउने उनले सामाजिक सञ्जालमा समेत लेखेका छन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौँ किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर कुनै सहमति भएको छैन,’ नेपालले लेखेका छन् ।

राष्ट्रपतिसँग भेट, त्यहाँ भएका वार्तालापबारे नेपालले निकटस्थ छलफल गरेका थिए । २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व ‘बटम-लाइन’ भएको समेत उनले राष्ट्रपपतिलाई भनेका थिए । त्यसपछिका कथित बैठक र निर्णयलाई अस्वीकार गर्ने अडान पनि व्यक्त गरेका थिए । उनको यो धारणापछि नेपाललाई राष्ट्रपतिले भनेकी थिइन्, ‘अध्यक्षको रुपमा लिइएको निर्णयलाई पूर्ण बदर कसरी गर्ने र ? त्यसमा नपरी सँगै बसेर मिलाउँदै जान आवशयक छ ।’

नेपाल निकट अर्का नेताका अनुसार, यतिबेला ओलीले जसरी भए पनि फकाएर राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापालाई जिताउने र संसद्‌मा विश्वासको मत लिने तयारी गरेका हुन् । त्यो रणनीतिमा राष्ट्रपतिले साथ दिएकी हुन् । नेकपा माओवादी केन्द्र छाड्‌दै एमाले प्रवेश गरेपछि गृहमन्त्री थापालाई प्रधानमन्त्री ओलीले पार्टीमा महत्वपूर्ण पदका अतिरिक्त बागमती प्रदेशको राष्ट्रिय सभा उम्मेद्‌वार बनाएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेद्‌वार बनाएका छन् । सँगै रामबहादुर थापा हार्ने स्थितिमा पुगेका छन् । रातारात वार्ता गर्न दौडिएका ओली पछिल्लो समय आफैँ ‘डिफेन्सिभ’ बनेका छन् । ‘ओलीलाई पार्टीको माया थियो भने त उनले आफ्नो आलोचना गर्ने सबैलाई तह लगाउने शैलीमा किन अघि बढ्थे’ भन्दै नेपालले राष्ट्रपतिलाई सुनाएका थिए ।

राष्ट्रपतिसँग लामो कुरा गरेका नेपालले आफ्नो अडानमा राष्ट्रपतिलाई सहमत गराउन सकेनन् । राष्ट्रपति भण्डारीले पनि ओलीको पक्षमा नेपाललाई सहमत गराउन सकिनन् । यो जनाकारी दिएका उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन सबैलाई आह्वान गर्दछौं ।’

यही विषयमा घनश्याम भुषालसँग जिज्ञासा राख्दा इकागजसँग उनले भने, ‘वार्ता चलिरहेका छन् । तर हाम्रो मागमा कुनै सुनुवाई भएको छैन । हामी कुनै हालतमा पनि उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरूलाई स्वीकार गर्दैनौँ ।’ भुषालले भने, ‘त्यसयता भएका सबै निर्णयहरू फिर्ता लिनुपर्छ । हाम्रो माग या अडान त्यही हो ।’

ओलीले गलत काम नसच्चाएमा नेपाल-खनाल समूह विद्रोहकै पक्षमा छ । भुषालले भने, ‘हामी सबै सांसदले राजीनामा दिने तयारी छ । हामीले राजीनामा दिँदा सहज हुन्छ कि फ्लोर क्रस भन्‍नेमा छलफल भइरहेको हो । अब, राजीनामा नै दिने सोचमा छौँ ।’ पार्टी भनेको अध्यक्षको मात्र हो र ?’ भुषालले भने, ‘उहाँले मात्र निर्वाचन जितेर आउनु भएको अरु चाहिँ उहाँले नियुक्त गरेको झैँ कुरा गरेर हुन्छ ? हामीले समानान्तर संरचना होइन एमालेलाई चलाएमान बनाएका हौँ । समानान्तर संरचना हाम्रो चाहना पनि होइन । उहाँकै गतिविधिले दल यो अवस्थामा आएको भन्दै त्यसमा सच्याइनुपर्छ ।’

पार्टीमा समानान्तर संरचना बनाएको ओली इतर समूहले विपक्षी दलको बहुमत पुर्‍याउने अवस्था आएपछि राष्ट्रपति भण्डारी र ओली नयाँ खाले दाउपेचमा हुन । २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि त्यो गठबन्धन बन्‍ने देखिन्छ । विपक्षी दलहरुको बहुमत पुग्‍ने गरी सांसदहरुको राजीनामा दिने भएपछि ओली अत्तालिएको पनि उनीहरुको बुझाई छ ।

ओली इतर समूहका नेताहरु भन्छन्, ‘संकटमा परेको बेला फकाउँदै सत्ता टिकाउने र फेरि घोक्राउने ओलीको रकमी दाउ हामीले नबुझेको होइन । हामी उनको रकमी खेलेमा पर्नेवाला छैनौँ । उनीसँग उधारोमा केही पनि हुँदैन, जे हुन्छन् लिखित रुपमा र लागू गर्ने मितिसहित सम्झौता हुनुपर्छ । ओलीले हरेक पटक असहज पर्दा फकाएका हुन् र शक्तिमा आएपछि हामीलाई निचोर्न कुनै कसर बाँकी राखेनन् ।’ उनीहरुको निस्कर्ष छ, ‘यसपल्ट ओली जालमा परिँदैन । पार्टीमा एउटा समूहका हितमा एकलौटी निर्णय लिने अनि संकट पर्दा वार्ता गर्दै हिँड्नुको कुनै तुक छैन ।’
 


Author

थप समाचार
x