प्रमुख समाचार

बागमतीमा १२३० जनाले लिए सहुलियत ऋण

सुसन लामिछाने |
बैशाख २६, २०७८ आइतबार ८:२५ बजे

हेटौंडा : बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाको लागि ब्याजदरमा सहुलियपूर्ण ऋण दिन चालु वर्षबाट सुरु गरेको छ । प्रदेश सरकारले ३ अर्बको कोष स्थापना गरेर सहुलियत दरमा ऋण दिन सुरु गरेको हो ।
 
सहुलियत ब्यादरमा ऋण प्रवाह सुरु भएपछि १२३० जनाले ऋण लिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले दुई बैंकमार्फत प्रदेशभरका नागरिकहरूलाई ब्याजदरमा सहुलियपूर्ण ऋण दिन सुरु गरेको हो । 

कृषि विकास बैंक र साना किसान विकास लघुवित्त वित्तिय संस्थाले बागमती प्रदेशका नागरिकलाई कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन व्यवसाय,  व्यापार व्यवसाय, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहोरमैला व्यवस्थपनमा ऋण प्रवाह गर्दे आएका छन् । यो कार्यक्रमअन्तर्गत पाँच वर्षको लागि अधिकतम १० लाख रुपैयाँसम्म ऋण पाउन सकिन्छ । 


कृषि विकास बैंकले हालसम्म ३ प्रतिशत ब्याजदरमा ५ सय २८ जनालाई ४३ करोड ८४ लाख १६ हजार रुपैयाँ सहुलियतपूर्ण ऋण लगानी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले कृषि विकास बैंकलाई पहिलो किस्ताबापत ४० करोड उपलब्ध गराएको मन्त्रालयका राजस्व शाखाका अधिकृत विनोद विडारीले जानकारी दिए । 

बैंकले मन्त्रालयले उपलब्ध गराएभन्दा केही बढी ऋण लगानी गरेको छ । बिडारीले छिट्टै बैंकलाई दोस्रो किस्ता ४० करोड उपलब्ध गराइने जानकारी दिए । यसैगरी मन्त्रालयले साना किसान लघुवित्तलाई पहिलो किस्ता २० करोड र दोस्रो किस्ताबापत २० करोड रुपैयाँ गरी ४० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

साना किसानले पहिलो किस्ताबापत २६५ जना र दोस्रो किस्तामा ४३७ जनालाई ऋण प्रवाह गरेको छ । साना किसानले ३ प्रतिशत ब्याजदरमा प्रदेशभरका ७ सय २ जनालाई ४० करोड ऋण लगानी गरेको बिडारीले बताए ।  ऋण प्राप्त गर्न धितो जमानी र धितो नभएकाहरूको हकमा समूह जमानीमा ऋण प्रवाह हुने प्रावधान भएको उनले जानकारी दिए । धितो नभएकाहरूको हकमा ऋण प्रवाह हुने परियोजना नै सुरक्षण गरी ऋण प्राप्त गर्न सकिने उनको भनाइ छ । 

यस्तै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेशका सम्पूर्ण नागरिक, कृषक तथा नवप्रवर्तक, लघु व्यवसायीहरूलाई ऋण लगानी कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
 


Author

थप समाचार
x