असल र अब्बल कूटनीतिज्ञ शाहको निधन
काठमाडौँ : नेपाली कूटनीतिक क्षेत्रका एक अब्बल करिअर कूटनीतिज्ञ एवं हस्ति नरेन्द्रविक्रम शाहको शनिबार राति ८५ वर्षको उमेरमा निधन भएको छ । बखुण्डोल ललितपुर निवासी उनी लामो समयदेखि स्वास्थ्य विभिन्न समस्याबाट गुज्रँदै आएका थिए । २०१८ सालमा परराष्ट्र सेवा प्रवेशसँगै परराष्ट्र मन्त्रालयमा भारत हेर्ने महाशाखामा लामो समय काम गरेका उनी पछि राष्ट्रसंघ, भारत, रसिया मामिलामा विषेश विज्ञका रुपमा परिचित थिए ।
सचिवको रुपमा झण्डै सात वर्ष र ०५९ मा लोकेन्द्रबहादुर चन्द सरकारको मन्त्रिपरिषदमा परराष्ट्रमन्त्रीसमेत बनेका उनले पञ्चायत व्यवस्था, ०४७ को अन्तरिम सरकार र गिरिजाप्रसाद कोइरालाको पहिलो प्रधानमन्त्रीत्वकालमा पनि परराष्ट्र सचिवमै रुपमा काम गरेका थिए । उनले कूटनीतिक सेवाबाट ०४९ कार्तिकमा अनिवार्य अवकाश लिएका थिए, त्यसपछि उनी संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भए ।
लामो समय परराष्ट्र सचिव र न्यूयोर्कका स्थायी प्रतिनिधि समेत रहेका पूर्व परराष्ट्र मन्त्री शाहको निधनले कूटनीतिक सेवाको तत्कालिन ओजको अवसहन भएको छ । उनलाई घरमा उपनामको रुपमा रामेश्वर भनिन्थ्यो । उनी अहिले कूटनीतिको जग राख्ने मध्येका एक हुन् । कैयनले उनलाई कूटनीति सिकाउने गुरुका रुपमा समेत परिचय दिएका हुन्छन् ।
नेपाल जटिल भूगोलमा रहेकाले सामान्य ढगको कूटनीतिले सहजता नहुने समेत बताउथे । पटक-पटककाे भेटमा भन्थे,'कूटनीति नबुझेकाहरुको हावी कूटनीतिमा हुँदै छ सञ्चार क्षेत्रले खवरदारी गरिरहनु पर्छ । तर, राष्ट्रहित ख्याल गर्नुपर्छ । अहिले कूटनीतिकाे संवेदनशिलता चुडाउने काम भइरहेकाे छ । कूटनीतिमा नयाँ आयाम दिन आवश्यक छ।' ०५९ पछि राजाको कालमा मन्त्री भएको भन्ने छाप परेपछि उनी खासै कतै देखिएनन् ।
अन्तरवार्ता पनि विरलै दिने र लेखपढमा नै समय विताउने गर्थे । कसैले केही विषयमा साेधेको खण्डमा उनले निकै राम्रोसँग प्रष्ट्याउने गर्थे । नेपालको कूटनीतिक क्षेत्रको अभिभावक जस्ता थिए । अधिकांश अध्ययन शिल कूटनीतिज्ञ उनकोमा पुगेका हुन्थे । कुनै कूटनीतिज्ञलाई असजिलो परेपछि उनलाई सम्झन्थे ।
उनी नेपालको पछिल्लो राजनीतिक अवस्थाबाट दिक्क भएका थिए । उनलाई पटक-पटक भेट्दा उनले यहाँको कूटनीतिक अवस्थाबारे आफ्नो धारणा राख्दै भन्थे , 'नयाँ आएका युवाहरु राम्रा छन् तर राजनीतिक चेपमा परेको र कूटनीतिमा राजनीतिको छायाँ लागेको देख्छु ।'
कूटनीतिक कौशलता, ज्ञान र सरलताबाट सिक्ने पर्ने धेरै कुरा भए पनि पछिल्लो पुस्ताले खासै चासो नदेखाएको भन्दै उनीपछि सेवा निवृत्त भएकाहरु सुनाउथे । नेपाललाई राष्ट्रसंघकाे सुरक्षा परिषद् अस्थायी सदस्य जिताउन उनले निर्वाह गरेको भूमिकाको प्रशंसा पुराना मध्येबाट हुँदै आएको छ । कूटनीतिमा पहिले दरबारपछि राजनीति दलका केही व्यक्तिकाे प्रभावमा परेकोले कूटननीतिज्ञले भूमिक निर्वाह गर्न सहज थिएन ।
दरबारको समयमा बैदेशिक हस्तक्षेप हुँदैन थियो तर अहिले विदेशीले मज्जाले खेलेकाे भन्दै चिन्ता व्यक्त गर्थे उनी । उनले यदुनाथ खनाल र पद्मबहादुर खत्री जस्ताले पनि सम्मान गर्ने ज्ञान बोकेका र भारतीयहरु उनी वार्ता दलमा छ भनेपछि झस्कने सम्मको हैसियत बनाएका थिए, शाहले ।
इतिहासको अध्ययन गरेका भए पनि उनको अध्ययनको दायरा यति फराकिलो थियो कि न्यूयोर्क होस या भारत या अन्य कुनै मुलुक उनी निकै फरक ढंगले डिल गर्थे । भुटानसँग उनको वार्ता विवादित बनाइयो तर उनले पहिले गरेको सहमतिलाई फरक धारबाट वार्ता गरेर प्रक्रिया अघि बढाएका थिए । त्यसले कालन्तरमा नेपाललाई हित गर्ने थियो । जुन कुरा अहिले प्रमाणित भइसकेको छ । तेस्रो मुलुकको कुराको जस अन्यले जस लिए पनि उनले नै विकल्प ल्याएका थिए ।
उनी कुनै 'कपि-पेष्ट' कूटनीतिज्ञ थिएनन् । विगतका ड्राफ्ट हेर्ने र लेख्ने उनको बानी थिएन । उनी नयाँ ढंगको प्रयोग गर्थे । नेपाली र अंग्रेजी दुवैमा राम्रो दख्खल राख्ने उनी टाइपराइटर होस या कम्प्युटर दुवै आफै पनि मस्त चलाउँथे ।
कसैले ड्राफ्ट विगारे खासा छ भनेर तिनलाई नै अघि राखेर टाइप गरिदिन्थे । ति हेर्ने अधिकृतको त शब्द पनि पर्दैन थिए । अधिक मै हुँ भन्नेहरु उनको सामु लत्र्याक लुत्रुक हुन्थे । कतिपय त उच्च ओहोदामा पुग्दा समेत उनीसँग गफिन हच्किन्थे । हसिला र शान्त स्वभावका उनी कसैले साेधे भन्थे नत्र धाएर भन्न जानुकाे के अर्थ भनेर बस्थे ।
उनलाई नेपालको परराष्ट्र र कूटनीतिक क्षेत्रमा अत्यन्त सम्मान गरेर बाेलाईनेमा उनी दरिएका थिए । राष्ट्रिय हितभन्दा एक कदम पर नजाने र कूटनीतिक प्रशासनलाई मजबुत बनाउन जोड दिने शाहको निधनबाट मुलुकले एक कुशल कूटनीतिज्ञ गुमाएको छ । उनका श्रीमती एक छोरा र एक छोरी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया