प्रमुख समाचार

विश्वकप सपना पूरा गर्न विदेशीलाई राष्ट्रिय टोलीमा समेट्दै चीन

इकागज |
बैशाख २८, २०७८ मगलवार ६:३० बजे

काठमाडौँ : चीन विश्वकप जित्न चाहन्छ । र, लक्ष्य प्राप्तिका लागि चीनले तयारी पनि गरिरहेको छ । तयारी अन्तर्गत चीनले विदेशी फुटबलहरुलाई नागरिकता बाढिरहेको छ । ब्राजिलदेखि इंगल्यान्ड सम्मका खेलाडीहरुलाई चिनियाँ फुटबल टिममा समावेश गरिएको छ । 

चीनले आउँदो जुन ३० देखि विश्वकप छनौट चरण खेल्न सुरु गर्दैछ । कुल चार विपक्षीसँग खेल्नका लागि चिनियाँ टोलीको घोषणा गरिएको छ । प्रशिक्षक लि टाइले घोषणा गरेको २६ सदस्य टोलीमा तीन ब्राजिलियन मुलका खेलाडी छन् । एल्केसन, फर्नान्डो हेनरिक र एलन कारभाल्हो फरवार्ड लाइनमा खेल्ने खेलाडी हुन् ।  


त्यस्तै टियास ब्रोनिङ र निको येन्नारिस पनि चीनको राष्ट्रिय टिममा परेका छन् । ब्रोनिङले पूर्व एभरटन रक्षक हुन् । उनले उमेर समूहका प्रतियोगितामा इंगल्यान्डको युवा टोलीबाट खेलेका थिए । त्यस्तै, येन्नारिस आर्सनल एकेडेमीका उत्पादन हुन । उनले इंगल्यान्ड अण्डर १७ र १९ टिमबाट खेलिसकेका छन् । 

विदेशी खेलाडपलाई नागरिकता दिँदै राष्ट्रिय टिममा समावेश गर्ने चीनको रणनीतिलाई मन पराइएको छैन । चिनियाँ सञ्चार माध्यम, विश्लेषक र पूर्व खेलाडीहरुले विदेशी नागरिकलाई चिनियाँ राष्ट्रिय टिमको सदस्य बनाउने निर्णयमाथि प्रश्न उठाइरहेका छन् । 

विदेशी खेलाडीहरुलाई टिममा समावेश गरे पनि चीनले विश्वकप छनौटमा अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । समूह ए मा चीन चार खेलबाट सात अंक बनाउँदै दोस्रो स्थानमा छ । तेस्रो स्थानको फिलिपिन्सको पनि सात अंक नै छ । तर गोल भिन्नताका आधारमा चीनले दोस्रो स्थानमाथि कब्जा जमाएको छ । शीर्षस्थानको सिरियाले भने पाँच खेलबाट १५ अंक बटुलेको छ । 

यद्यपि चीन वु लिइको पुनरागमनले उत्साहित छ । स्पेनी क्लब इस्पान्योलमा रहेका लिइले चिनियाँ टोलीसँग अभ्यास गर्न पाइरहेका थिएनन् ।  मार्सेलो लिप्पीले छाडेपछि चिनियाँ टोलीको प्रशिक्षकमा नियुक्त भएका लि टाइ एभरटनका पूर्व मिडफिल्डर हुन् । जसले चीनलाई विश्वकप छनौट गराउने जिम्मेवारी लिएका छन् । 


Author

थप समाचार
x